राजनीति

पाँचखाललाई घूमिरहूँ, बसिरहूँ लाग्ने बनाउन चाहन्छन् महेश

कमल धिताल |
बैशाख २१, २०७९ बुधबार २०:२१ बजे

उनको सपना छ – एउटा यस्तो नगर बनोस् कि सहर हेर्न कुनै विकसित मुलुक जानै नपरोस् ।

पूर्वाधार विकासका साथै रोजगारीले सबै व्यस्त रहून् । आफ्ना लागि सबै सक्षम ।


उनको कल्पना छ– अब यहाँका जनशक्ति रोजगार या अध्ययन निम्ति विदेश धाउने हैन कि विदेशबाट पाँचखालमा भित्रिउन् ।

उनको लक्ष्य छ– पाँचखालमा पाँच वटा स्मार्ट शहर बनाउने । स्थानीय तीन गाउँलाई समेटेर करिब २ अर्ब ५० करोड रुपैयाँको लगानीमा स्मार्ट सहर निर्माण ।

उनको योजना छ– पेपरलेस नगरपालिका बनाएर वातावरण मैत्री स्थानीय तह निर्माण । सम्भव भएसम्मका सरकारी सेवा डिजिटल तरिकाले दिएर सेवाप्रवाह चुस्त बनाउने।

यत्ति मात्रै हैन उनको चुनावी प्रतिबद्धता, एउटा ‘लिडर’ मा हुने सोच, चाहना, उत्सुकता अनि काम गर्ने अठोट ।

काम गर्न तम्तयार बनेर यी प्रतिनिधि कामसहित अन्य विकासे एजेन्डा बोकेर वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा पाँचखाल नगरपालिकाबाट प्रमुख पदमा उम्मेदवारी दिएका हुन्, महेश खरेलले । खरेल पाँचखालवासीका लागि नौला नाम भने होइनन् । न, त अनुहार नै हुन् । किनकि उनी पाँचखालका निवर्तमान प्रमुख (मेयर) हुन् । स्थानीय सरकारको एक कार्यकाल उनले जनतासँग बिताइसकेका छन् । र, फेरि यसकारण जनताको सेवामा जान चाहन्छन् कि, उनलाई सेवामा धितमरेकै छैन । त्यहीकारण उनी फेरि पाँचखाल नगरप्रमुख उम्मेदवारी चुनावी मैदानमा छन्, नेपाली कांग्रेसको उम्मेदवारका रुपमा । गठबन्धनसहित चुनावी मैदानमा छन् ।

किन दोहारिने मनसाय राखे खरेलले ?

पाँचखाल नगरपालिकाका लागि खरेल २०७४ को स्थानीय निर्वाचनबाट विजयी बने । उनी नेपाली कांग्रेसको तर्फबाट मेयर पदका लागि चुनावी मैदानमा होमिएका थिए । उनले त्यतिबेला ७ हजार ३ सय ५६ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र बानियाँले ६ हजार ८ सय मत प्राप्त गरेका थिए । खरेललाई ५ वर्षे कार्यकालमा सघाउन कांग्रेसकै उपमेयर लक्ष्मी दनुवार विजयी भएकी थिइन् ।

खरेल विजयी भएदेखि नै जनताका समस्यालाई प्राथमिकता दिएर काम सुरु गरे । खरेलले बनाएका अधिकांश योजना कार्यन्वयन भए, केही योजनाहरू यस्ता छन् जुन यस कार्यकालमा सफल भएनन् । उनको महत्वाकांक्षी योजनाको रूपमा स्मार्ट सिटी बनाउने योजना थियो । जुन कार्यकालको अन्त्यमा आएर मात्र केही गति लिएको थियो यसलाई द्रुत गतिमा अगाडि बढाउने योजनामा छन् खरेल ।

‘पी–२० भिजनअन्तर्गत पाँचखालमा पाँच वटा स्मार्ट शहर बनाउने क्रममा पहिलो कोशेढुंगाको रूपमा पहिलो सहर निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)सँग सम्झौतामा हस्ताक्षर भएपछि योजना अगाडि बढेको हो,’ खरेल भन्छन्, ‘यसलाई पूर्णतामा बदल्नु छ ।’ काफ्लेडी, लाम्डी तथा तीन पिप्ले क्षेत्रको भूभाग समेटेर २ अर्ब ५० करोडको लगानीमा ५ हजार रोपनीमा पहिलो स्मार्टसिटी बन्दै गरेको उनले बताए । हाल स्मार्टसिटीका लागि डिपिआरको काम भइरहेको छ । 

पाँचखाल उद्योग, पर्यटन, कृषिलगायतका लागि अब्बल ठाउँ हो । समथर भूभाग रहेको पाँचखालमा आर्थिक समृद्धिका लागि अनेकन ढोका छन् । स्थानीय तह सरकारको पाँच वर्षका केही ढोका नखुलेका हैनन् । तर, अझै केही बाँकी छ । ‘म हरेक जनताको सपनाको सहर बनाउन फेरि चुनावमा आएको छु,’ उनले इकागजसँग भने, ‘मेरा योजनालाई सार्थकतामा बदल्न मतदाताको साथ जरुरी छ, त्यो साथ मलाई मिल्नेमा विश्वस्त छु ।’

देशका अन्य स्थानका जस्तै पाँचखालबाट पनि युवाहरु नबिदेशिएका हैनन् । उनी यसलाई स्वीकार्छन् पनि । खाडीमा गएर पसिना चुहाउनुभन्दा गाउँमै रोजगारीको वातावरण सिर्जना गर्ने उनको अर्काे योजना हो । ‘यतिमात्रै हैन, पाँचखाल एउटा यस्तो सहर बनाउने योजनामा छु कि अब यहाँका जनशक्ति रोजगार या अध्ययनका लागि विदेश धाउने हैन । विदेशबाट काम गर्न र पढ्न पाँचखालमा भित्र्याउनेछु’ उनले सुनाए ।

पछिल्लो समय देश प्रविधि मैत्री बनेको प्रति लक्षित गर्दै निर्वतमान मेयर खरेलले भने, ‘पेपरलेस नगरपालिका बनाएर वातावरणमैत्री स्थानीयतह निर्माण गर्ने अर्काे लक्ष्य छ, जुन चाँडै सम्भव पनि हुनेछ ।’ सरकारी सेवा डिजिटल तरिकाले दिएर सेवा प्रवाह चुस्त बनाउने योजनामा रहेको उनले बताए ।
आफ्ना नगरमा रहेका नागरिकलाई कसरी स्वास्थ खानेकुरा उत्पादनका लागि आधुनिक तरिकाले कृषि शिक्षा कार्यक्रम सुरु भइसकेको छ । हरेक कुरा एकैपटक परिवर्तन गर्न सम्भव नहुने भन्दै आधुनिक र डिजिटल कार्यक्रम सुरु गर्ने योजना छ खरेलको । 

पाँचखाललाई पर्यटकीय नगर बनाउन शहरी विकास मन्त्रालयसँग समन्वय गरेर पार्कहरु तीव्र रूपमा निर्माण भएका छन् । केही बाँकीलाई आगामी कार्यकालमा सम्पन्न गर्ने योजनाका साथ आफ्नो उम्मेदवारी फेरि रहेको उनको स्पष्टोक्ति छ । ‘आफ्नो कार्यकालमा कस्तो काम गरेको छु त्यो जनताले विचार गरेका छन्,’ उनको दाबी छ, ‘यसलाई म आफ्नो परीक्षाको रूपमा लिनेछु । म सफल भएँ भने मेरो काम जनताले मन पराए भनेर आगामी ५ वर्ष अझै उत्साही भएर कार्य गर्नेछु ।’

अमेरिका त्यागेर जनताको सेवामा

खरेलले चाहेको भए उनी आफ्नो जीवन विलासी शैलीमा बिताउन सक्दथे । उनी नेपालीहरुको सपनाको देश अमेरिकामा १४ वर्ष बसे ।  तर, आफ्नै गाउँ फर्की आए । अमेरिका बस्दा उनले नेपालका खबरहरु सुन्दथे, पढ्दथे । अनि सोच्थे, ‘नेपाल धेरै तल परिसक्यो ।’ यही सोचले दिनँहु पोल्थ्यो उनलाई ।

उनी उनले प्रतिज्ञा गरे–‘नेपाल फर्किएर अब केही गर्नुपर्छ ।’ अब पनि व्यवस्थालाई दोष दिएर बस्ने हो भने असक्षम व्यक्तिको हातमा पुगेर देशमा झन् झन् विपत्ति आउन सक्ने सम्भावना नजिक देखेका महेश खरेल नेपाल फिरेका हुन् ।उनको योजना, त्यागले त्यतिबेला सार्थकता पायो– जति बेला उनले अमेरिका त्यागेर आएपछि जनताले स्थानीय सरकार सुम्पिदिए ।

पहिलो कार्यकालमा के गरे खरेलले ?

गत कार्यकालमा उनले पाँचखालका लागि महत्वपूर्ण कार्यहरुको सुरुआत गरे । काठमाडौँको अर्को विकल्पका रूपमा व्यवस्थित शहरीकरणका लागि बाटो, खानेपानी एवं कृषकको जीवनस्तर उठाउन व्यवस्थित तथा वैज्ञानिक कृषिको अवधारणाअनुरूप जीवनस्तर उठाउने कार्य उनैले गरे । 

खरेलको कार्यकालमा नगरभित्र ४२.५० किलोमिटर सडक कालोपत्रे तथा ढलान भएको छ । एक वडा एक पिचको अवधारणा लिएर काम भएको पाँचखालमा पिच हुन बाँकी भएको वडा नं १ मा नगरको अहिलेसम्मकै ठूलो ठेक्का लागेको छ । पाँच वर्षमा २१ किलोमिटर नयाँ ट्रर्याक निर्माण, १०१.५० किलोमिटर सडक चौडा, ४२.५० किलोमिटर सडक कालोपत्रे÷ढलान (केही निर्माणाधीन), ६७.६० किलोमिटर सडकमा नाली निर्माण भएको (केही निर्माणाधीन), ३१.५ किलोमिटर सडकमा ग्राभेल भएको (केही निर्माणाधीन), पाँचवटा बाँध निर्माण तथा मर्मत, ३.५ किलोमिटर सिँचाई कुलो नहर निर्माण, चार हजार तीन सय ७० घरधुरीलाई खानेपानी योजनाबाट लाभान्वित गरिएको नगरपालिकाको तथ्यांक छ । त्यस्तै भूकम्पले भत्किएका घर वा संरचना बनाउने, उज्यालो पाँचखाल योजना अन्तर्गत एक हजार बत्ती सडकमा जडान गर्ने काम सम्पन्न भएको छ ।

‘कृषि शहर पाँचखाल नगर’ भन्ने मूल नारा अन्तर्गत पाँच वर्षमा नगरपालिकाको कृषि विकास शाखाले तीन हजार कृषकको माटो परीक्षण तथा प्रदेश सरकार, ‘लभ ग्रिन नेपाल’ र पाँचखाल नगरपालिकाको सहयोगमा कृषि शाखाबाट १३ वटै वडाको माटो परीक्षण गरिएको छ भने माटोको गुणस्तर सुधार्नका लागि दुई लाख २५ हजार केजी कृषि चुन वितरण गरिएको छ । 

नगरपालिकाले प्रत्येक वडामा फलफूल बिरुवा वितरण गरेको छ । नगरपालिकाको तथ्यांक अनुसार, कागती, आँप, लिची, अनार, केरा र अन्य प्रजातिका गरी २५ हजार बोट वितरण गरिएको थियो । कफीको बोट १५ हजार पाँच सय वितरण गरिएको नगरपालिकाको तथ्यांक छ । 

त्यस्तै, १० हजार पाँच सय ५० तरकारी मिनी किट वितरण गरिएको नगरपालिकाले जनाएको छ । जसमा गोलभेडा, भेडेखुर्सानी, प्याज, तरकारी बीउ आदि छन् । गरिबसँग विश्वेश्वर कार्यक्रमसँग मिलेर तीन सय ७० मौरी घार (गोलासहित) वितरण गरिएको छ । कृषिलाई आधुनिकीकरण, यान्त्रिकिकरण, व्यवसायिकरणको लागि विभिन्न कामहरु गरिएको छ । यान्त्रिकरणलाई जोड्दै नगरभित्र ६ सय ८६ वटा हातेट्याक्टर सहुलियतमा कृषकहरुलाई वितरण गरिएको छ । 

कृषकका लागि तीन हजार ६ सय ५० किलो धान, मकै र भटमास बीउ, चार सय ८९ वटा प्लास्टिक टनेल, एक सय ४५ वटा जेनेरेटर, पम्प, कर्नसेलर र स्प्रेयर वितरण भएको खरेलले जानकारी दिए । त्यस्तै, नगरपालिकाले कृषकलाई एक सय १९ पटक कृषि तालिम दिएको छ । 

पाँचखालमा खेतियोग्य जमिन जोगाउन र खेतियोग्य जमिनमा घर बनाउन निरुत्साहित बनाउने उद्धेश्यले पालिकाभित्र धान फल्ने खेतमा घर बनाउन नपाईने नीति ल्याइएको छ । यदि अन्य ठाउँमा एक टुक्रानी जग्गा छैन भनेर मालपोतबाट प्रमाणित तथा वडाका वडा अध्यक्ष, भद्रभलाद्मी राखेर सर्जिवन गरी चार गुणा राजस्व तिरेमामात्र घर बनाउन पाइने नीति ल्याइएको खरेलको भनाई छ । पाँचखालमा उत्पादित सम्पूर्ण खेतिवालीलाई सेमी अर्गानिक बनाउन विभिन्न कार्यक्रम सञ्चालन भएका छन् । 

पाँच वर्षमा नगरपालिकाको पशुपंक्षी विकास शाखाले एक करोड ५० लाखवटा पशुपंक्षीलाई उपचार भ्याक्सिनेसन दिएको छ । २२ हजार ७ सय २० वटा गाई–भैंसीलाई कृत्रिम गर्भाधान गराइएको खरेलको भनाई छ । ‘पाँच हजार ६ सय केजी हिउँद र बर्खे घाँस, २१ वटा उन्नत नश्लको बोका, एक सय ५४ वटा पाडी र ९८ बाख्रा वितरण गरेको छ,’ खरेलले भने ‘दुई सय ८० वटा सामुदायिक कुकुर बन्ध्याकरणभएको छ । 

खरेलले पाँचखाललाई ‘एजुकेशन–हब’ बनाउने अभियानमा विभिन्न शैक्षिक संस्थाहरूसँग सहकार्य समेत सुरु गरेका छन् खरेलले । अनेकोटमा काठमाडौँ विश्वविद्यालयको कृषि संकाय सञ्चालन गर्न ५ सय रोपनी जग्गा उपलब्ध गराइएको छ भने नगरपालिकाले अस्थायी रुपमा उपलध गराएको भवनमा कृषि तथा आर्टिफिसियल इन्टेलिजेन्स संकायको पढाइ नै शुरु भएको छ । 

शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि नगरपालिकाले अंग्रेजी तथा कम्प्युटर शिक्षक १० वटा विद्यालयमा व्यवस्था गरेको छ । सेवानिवृत्त हुन चाहेका ५० वर्ष उमेर कटेका ११ शिक्षकलाई सुनौलो अवकाश योजनाबाट प्रोत्साहन रकम व्यवस्था गरेर सुविधा दिइएको छ । बालविकास सहजकर्ताको पारिश्रमिक १५ हजार पुर्‍याइएको छ । 
विद्यालयको कर्मचारी तथा कार्यालय सहयोगीको तलबमा दुई हजार थप गर्ने काम भएको खरेलको भनाई छ । ‘एक विद्यालय एक पार्क (बाल उद्यान निर्माण) गर्न साझेदारी कार्यक्रम गरिएको छ । जसमा तीन विद्यालय छनोट गरेका छौँ ।’ उनले भने ।

नगरपालिकाले चार सय ४७ जनालाई अपांगता कार्ड वितरण गरेको छ । त्यस्तै, तीनवटा क्रिस्टल माला सेट बुनाइका तीन केन्द्र स्थापना गरी वडा २, ९, ५ का ९५ महिलालाई रोजगारी दिइएको छ । ‘बौद्धिक अपांगताका लागि ऊनीको स्वइटर, टोपी, पन्जा बुनाई केन्द्र दुईवटा स्थापना गरिएको छ,’ खरेलले भने, ‘जसमा ४० जनालाई सहभागी गराएका छौँ ।’ वडा ११ मा सुस्त मनस्थिति भएकाका लागि  टोपी, स्वेटर, मैनबत्ती, खाम अचार, क्रिस्टलको माला, पापड लगायत तालिम दिइएको छ । 

सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले पूर्ण अनलाइन प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरणको सेवा दिएको छ । ‘सेवाग्राहीलाई सरल सेवाका लागि सामाजिक सुरक्षाभत्ता कार्यक्रमको निवेदन अनलाइनबाट लिने गरेका छौँ, भत्ता दुरुपयोग नहोस् भन्ने उद्देश्यले लाभग्राहीलाई बैंक खातामा रकम जम्मा गर्ने गर्छौं,’ खरेलले भने ‘भत्ता वितरण कार्यलाई अझ सहज र पारदर्शी बनाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट उपलब्ध गराइएको छ ।’

त्यस्तै, चालू चौमासिक तथा त्रैमासिकको बीचमा सेवाग्राहीको मृत्यु भएमा संरक्षक वा हकवालाले पाउने गरी नगरपालिकाले बैंकलाई पत्राचार गर्ने गरेको छ ।
कोभिडको बेलामा पाँचखालले नमुना काम गर्यो । काभ्रेमै पहिलोपटक डाक्टरसहितको आइसोलेसन सञ्चालन गरेर १ सय भन्दा बढी कोरोना विरामीको उपचार गरेको छ भने निःशुल्क एम्बुलेन्स सेवा र औषधि उपचार गरेको छ । कोभिड भएर होम आईसोलसनमा बसेका विरामीहरुलाई घर–घर पुगेर औषधि र उपचार सेवा प्रदान भएको छ । पुनः समस्या नपरोस भनेर नगरमा अक्सिजन कन्सन्टेटर बैंक स्थापना गरिएको छ । 

नगरले पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सैं घण्टा मेडिकल अफिरबाट आकस्मिक स्वास्थ्य सेवा प्रदान गरिएको छ ।  
यी सँगै सिमान्तीकृत बस्तीमा बाटो, खानेपानीको सुविधा पुर्‍याई उनीहरूलाई राज्य रहेको या भएको अनुभूति दिलाउन पाँच वर्ष यसमै फोकस गरे । त्यस्तै, पाँचखाल नगरपालिकामा खानेपानी समस्या समाधान गर्न ड्ब्लुएचओ स्ट्यान्डर्डको शुद्ध गुणस्तरीय खानेपानीका लागि एसियाली विकास बैंक र नगरविकास कोषको सहयोगमा दक्षिण एसियाकै सबैभन्दा ठूलो आयोजना निर्माणाधीन अवस्थामा छ । ‘यो बहुवर्षीय र बहुप्रतिक्षित आयोजना हो,’ उनले भने, ‘यसबाट स्थानीयलाई रोजगारी मात्रै नभई गाउँवासीको सपना पूरा गराउने मेरो धोको छ ।’ 

२ अर्ब २१ करोडको लागतमा लागतमा पाँचखालवासीको लागि लागि बहुप्रतिक्षित सुनकोशी पाँचखाल खानेपानी आयोजनाको ७० प्रतिशत काम यस कार्यकालमा सकाए खरेलले । यो योजनासम्पन्न पश्चात पाँचखाल नगरका ७ हजार घरधुरीलाई खानेपानी खुवाउने लक्ष्य रहेको खरेल बताउँछन् । खानेपानी सञ्चालन गर्ने क्रममा जनसमुदायबाट रकम नउठेपछि मेयर क्लब गठन गरेर १२ करोड रुपैया उठाएर सुनकोशी खानेपानी आयोजना सँग सम्झौता गरिएको थियो । 
२०७२ सालको भुकम्पले तहसनहस भएको ठाँउलाई सम्हालिएर उठाए खरेलले । भूकम्पमा भत्किएका सम्पूर्ण विद्यालयलाई पुनःनिर्माण गरे जसमा केही ठाउँमा नगरपालिकाको स्रोत र अन्यमा युएसएआइडी, भारतीय राजदूतावास जस्ता दातृ निकायसँग सहकार्य गरेर विद्यालयहरू पुनःनिर्माण गराउन सफलभए । आफूले गरेकाकाम हेर्न एकपटक पाँचखाल नगरपालिका घुम्न निम्तो दिन्छन् उनी । ‘म काम गर्ने मान्छे हो भाषणभन्दा काम गर्ने बानी छ, मेरो त्यसैले पाँचखाल घुमेर यहाँका जनतालाई सोधेर उनीहरूले के भन्छन् सुन्नुहोस् ।’

को हुन् महेश खरेल ?

उच्च शिक्षाको लागि अमेरिका गएका खरेलले अमेरिकामा एमबीएसम्मको अध्ययन गरे । इन्टरप्रेनरसीपको अध्ययन गरेका खरेल अमेरिकाको मार्टमा नाङ्लोदेखि व्यापार शुरू गरेर धेरै कमाइ हुने ग्यास स्टेसनसम्म खोले । व्यापार फस्टाएकै थियो, तर उनलाई नेपाल आउन मन लाग्यो । त्यहाँ बस्दा धेरै कुरा सिकेका खरेललाई नेपालमा पनि केही गर्नुपर्छ भन्ने इच्छा जाग्यो । देशमा फर्केर केही गरौं भन्ने हुटहुटीले स्वदेश फर्किएका खरेल राजनीति र समाजसेवामा समर्पित भए । राजनीतिमा लाग्दै गर्दा २०७४ सालमा मेयरमा जितेका खरेलले आफू जागिर खान आएको नभई तलब भत्ता दिन दुःखीको हितमा खर्च गरे । राजनीतिमा लागेर बजेटको दुरुपयोग र मोज मस्ती गरेर भुल्न चाहन्न भन्ने चाहना राखेका खरेल शाक नभै आफु सेवक भएको बताउँछन् । 

बाल कांग्रेसको नेतृत्व गर्दै २०४६ सालको पञ्चायत विरुद्धको जनआन्दोलनका सहभागी भएपछि उनको राजनीतिक जीवन सुरु भएको थियो । २०५० सालको उपनिर्वाचनमा नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईका पक्षमा खटेका थिए ।

विद्यार्थी जीवनकालमा ने.वि.संघको इकाई सभापतिदेखि क्षेत्रीय सभापतिसम्मको नेतृत्व उनले सम्हालेका थिए । अध्ययनको सिलसिलामा अमेरिकाको १४ वर्षे बसाइमा नेपाली कांग्रेस जनसम्पर्क समिति सदस्य सचिवको रुपमा पनि उनले काम गरे । अमेरिकाबाट फर्के लगत्तै नेपाल तरुण दलको केन्द्रीय सदस्य, तत्कालीन नेपाली कांग्रेस क्षेत्रको सभापति, २०७४ सालको स्थानीय तहको निर्वाचनमा वाम किल्लाको रुपमा रहेको पाँचखालमा मेयर पदमा विजयी भएका हुन् ।

बागमती प्रदेशको १ सय १९ वटा पालिकाहरु मध्ये उत्कृष्ट कार्य प्रस्तुत गरी सम्मान लिएका खरेलले नेतृत्व गरेको पाँचखाल महा लेखापरीक्षणमा उत्कृष्ट हुन सफल पनि भयो । उनी हाल नेपाली कांग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्र नं २ को क्षेत्रीय सभापति छन् ।


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x