राजनीति

डा. बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन

ओलीसँग मिल्नु महन्थ–राजेन्द्रको आत्मघाती कदम, माओवादी चरम अवसरवादी

अनिष भट्टराई |
फागुन २८, २०७८ शनिबार १६:२९ बजे

काठमाडौँ– तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग मिलेर पार्टी फुटाएका महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताको राजनीतिक भविष्य त्यतिबेलै संकटमा परेको जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बताएका छन् । जसपाको पहिलो संघीय परिषद् बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भट्टराईले पार्टी आन्दोलनलाई नोक्सानमात्र नभइ ती नेताहरुको राजनीतिक भविष्य पनि संकटमा परेको बताएका छन् । प्रतिवेदनमा भनिएको छ, ‘ठाकुर–महतो लगायतका केही व्यक्तिहरुले यो कुरा बेलैमा बुझ्न नसक्दा पार्टी र आन्दोलनलाई हानी नोक्सानी पुग्यो नै, स्वयम् ती व्यक्तिहरुको राजनीतिक भविष्य संकटमा पर्यो।’

ओलीसँग मिलेर ठाकुर र यादव लगायतका नेताले नै पार्टीमा अवैचारिक र भ्रामक गुटबन्दी सिर्जना गरेको आरोप लगाइएको छ । ‘प्रतिगामी’ ओली सरकारसँग मिलेर गैरराजनीतिक चरित्रको हेलमेल र हिमचिम बढाएर गलत बाटो रोजेको टिप्पणी पनि भट्टराईको छ । त्यसबेला ओलीसँग सम्बन्ध विच्छेद गर्नु नै ती नेताका लागि हितकर हुने भएपनि सम्बन्ध नतोड्दा अहिले उनीहरु संकटोन्मुख रहेको बताइएको छ । ‘हाम्रो पार्टीका ती व्यक्तिहरुले ओलीको त्यो कदमलाई साथ दिने र ओली सरकारमा सामेल हुने झनै गलत बाटो अख्तियार गरे,’ प्रतिवेदनमा उल्लेख छ । 


जसपा निर्माण कुनै लहड नभएर विचार, एजेन्डा, सिद्धान्त आधारित अभियान भएपनि पार्टी गठनको छोटो समयमै गुटबन्दी देखिने दूर्भाग्यपूर्ण बनेको जनाइएको छ । पार्टी फुटाएर गएका नेताका कारण पार्टी आन्दोलनलाई हानी भने नपुगेको प्रतिवेदनमा बताइएको छ । ‘चोइटिएका तत्वले पार्टीलाई खासै हानी पुर्‍याउन भने सकेनन् । पार्टीको ठूलो पंक्ति जनता समाजवादी पार्टी कै पक्षमा रह्यो,’ भट्टराईले बताएका छन् । पार्टीभित्र सिर्जना गरिएको द्धैध तथा समानान्तर क्रियाकलाप लामो समय नरहँदा पार्टीलाई नै फाइदा पुगेको उल्लेख छ । 

प्रतिवेदनमा भट्टराईले तत्कालीन नेकपाको असफलता केपी ओलीको समूह नेकपा एमालेको मात्र नभइ माओवादी र एकीकृत समाजवादीको पनि असफलता भएको बताएका छन् । कम्युनिष्ट घटक र विचारधाराको असफलताको प्रमाण नै तत्कालीन नेकपामा आएको विग्रह भएको उल्लेख गरेका छन् । ‘नेकपा पार्टी र त्यसको सरकारको असफलता एमाले र ओलीको मात्र थिएन । समग्र कम्युनिष्ट घटक र विचारकै असफलताको प्रमाण हो,’ प्रतिवेदनमा भनिएको छ । ठूलो बहुमतले मात्र देशलाई राजनीतिक स्थिरता, सुशासन र समृद्धि दिन सक्दैन भन्ने प्रमाण पनि सोही वाम गठबन्धनको सरकार रहेको जिकिर भट्टराईको छ । 

तत्कालीन प्रधानमन्त्री ओली भ्रष्टाचार र उखानटुक्कामा मात्र रमाएर संविधान जारी भएपछिको पहिलो निर्वाचित सरकार नै असफल बनाएको आरोप छ । ‘ओली अनेक उखानटुक्का, भ्रामक मिथ र अवधारणाबाट लोकरिझ्याइँ गर्न खप्पिस तर कुनै पनि गम्भीर काम योजनाबद्ध र सुविचारित ढंगले नगर्ने कार्यशैलीले ग्रस्त थिए,’ भट्टराईको आरोप छ, ‘वाम गठबन्धनको सरकारको कार्यकालमा यति, ओम्नी, वाइडबडी, ३३ किलो सुनजस्ता दर्जनौं ठूल्ठूला भ्रष्टाचारका काण्ड भए । तिनको स्वतन्त्र तथा निष्पक्ष छानविन समेत हुन सकेन ।’

ओली सरकारले संवैधानिक निकाय र आयोगलाई पनि ‘पंगु’ बनाएको प्रतिवेदनमा जनाइएको छ । संवैधानिक परिषदको बैठक सम्बन्धी गणपूरक व्यवस्थालाई अध्यादेशमार्फत् संशोधन गरी ती निकाय र संस्थालाई पंगु बनाइएको उल्लेख छ । ओली सरकारकै पालामा प्रशासनतन्त्रमा दलीयकरण र कुशासन बढेको आरोपसमेत लगाइएको छ ।

आफ्नै कमजोरी, कलह, विग्रह, विभाजन र असफलताको कारणले नेकपा सरकार पतन हुँदा नेकपाका घटकहरुले देशलाई सही निकास र विकास दिन सक्दैन भन्ने आफूहरुको दाबी पुष्टि गरेको पनि जनाइएको छ । अद्वितीय सम्भावनाको अवसर प्राप्त सरकार अभूतपूर्व असफलताको रेकर्ड कायम गर्दै बाहिरिन बाध्य भएको भट्टराईले प्रतिवेदनमा उल्लेख गरेका छन्। ‘कम्युनिष्ट, सर्वहारावादी, जनवादी, गरिबमुखी, समाजवादी, साम्यवादी’ भन्न रुचाउनेहरुको पहिलो बहुमतको सरकारले आफै अकर्मण्यता, भ्रष्टता र यथास्थितिवादको दलदलमा फसेर जनअपेक्षा पूरा गर्न असफल बनेको पनि बताइएको छ । ‘घरघरमा ग्याँस पाइप, चीनियाँ चुच्चे रेल, हनुमाननगर–कलकत्ता पानीजहाज, काठमाडौंमा मोनो र मेट्रो रेलजस्ता दर्जनौं पपुलिष्ट प्रतिबद्धता गरिएका थिए– ती सबै हावादारी सावित भए,’ प्रतिवेदनमा छ । 

जसपाको अरु दलप्रतिको विश्लेषण कस्तो छ ? 

नेपाली कांग्रेस– प्रतिवेदनमा भट्टराईले नेपाली कांग्रेस सुरुमा संवैधानिक राजतन्त्रको पक्षधर भएपनि परिस्थितिले गणतन्त्रमा आउनु परेको बताएका छन् । कांग्रेसले संघवाद र समावेशी लोकतन्त्रलाई मूर्त बनाउने जनताको चाहना र प्रयासमा अवरोधको काम गरेको आरोप लगाएका छन् । कांग्रेसले आफ्ना दस्तावेजमा ‘प्रजातान्त्रिक समाजवाद’ लेखे पनि २०४६ साल यताका व्यवहार र एजेण्डाले कांग्रेस समाजवादी दल भएको पुष्टि नगर्ने भट्टराईको प्रतिवेदनमा जनाइएको छ । कांग्रेस परोक्ष/प्रत्यक्ष देशको एकात्मक, एकल जातीय, एकभाषिक नीतिलाई प्रतिरक्षा गरिरहेको पनि भट्टराईले जनाएका छन् । कांग्रेसले उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्तिको प्रश्नलाई अझै आत्मसात गर्न नसकेको भट्टराईको आरोप छ । लोकतन्त्रको विश्वव्यापी मूल्यमान्यताको रक्षाको प्रश्नमा भने कांग्रेससँग जसपाको सहकार्य हुन सक्ने भट्टराईको टिप्पणी छ । 

कम्युनिस्ट घटकहरुः भट्टराईले नेपालमा रहेका सबै कम्युनिस्टहरु एउटै पेन्सिलका फरकफरक टुक्रा मात्रै भएको जनाएका छन् । तात्कालिक विचार, कार्यनीति र कार्यदिशाका दृष्टिकोणले नेपालका कम्युनिस्टहरु बीच केही भिन्नता भएको उनले उल्लेख गरेका छन् । 

नेकपा एमालेले बहुदलीय जनवादमार्फत नेपाली कांग्रेसजस्तै उदार संसदीय लोकतन्त्रवादी दलमा रुपान्तरण भएको भट्टराईको आरोप छ । कांग्रेस र कम्युनिष्टको ब्राण्डनाम बाहेक कांग्रेस र एमालेको नीतिमा भिन्नता पाउन गाह्रो भएको टिप्पणी उनले गरेका छन् । दुवै दलले वर्तमान संविधानलाई उत्कृष्ट संविधान भनेपनि संविधानले निकृष्ट गरेका व्यवस्थामा दुवै दल अनुदार देखिएको आरोप भट्टराईको छ। ‘दुबै दल संघीयता, समावेशिता, प्रत्यक्ष, सहभागितामूलक लोकतन्त्र, समानुपातिकता, सकारात्मक विभेद, सामाजिक न्याय, सीमान्तकृत समुदायको आरक्षण, उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा उस्तै र उत्तिकै अनुदार देखिन्छन्,’ उनको आरोप छ । 

उत्पीडित राष्ट्रियताको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा, शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा थोरै लचिलो र उदार देखिएको भट्टराईको व्याख्या छ । तर ती सवालमा पनि माओवादी केन्द्र अवसरवादी नीति अख्तियार गरिरहेको उनको आरोप छ। बाँकी विषयमा पनि माओवादी झनै अनुदार, सङ्कीर्ण, शास्त्रीय र अवसरवादी वामपन्थी समूहका रुपमा देखिएको भट्टराईले जनाएका छन्। 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रसँग अहिले कुनै मौलिक विचारधारा नै बाँकी नरहेको भट्टराईले लेखेका छन् । ‘माओवादी केन्द्रले एमालेसँगको एकता, नेकपा (नेकपा) को निर्माण र विभाजनपछि औपचारिक रुपमा ‘जनताको बहुदलीय जनवाद’ स्वीकार नगरे पनि त्यसभन्दा फरक कुनै मौलिक विचारधारा माओवादी केन्द्रसँग बाँकी छैन,’ भट्टराईले प्रतिवेदनमा जनाएका छन्। 

नेकपा (एकिकृत समाजवादी) को विचार, सिद्धान्त र एजेण्डा नै अहिलेसम्म प्रष्ट नभएको भट्टराईले जनाएका छन्। ‘ओलीको असंवैधानिक संसद विघटनसँग विमति राखेको एमालेबाट फुटेको दल भएको हुँदा यसको विश्लेषण पद्धति आधारभूत रुपमा एमालेको जस्तै छ । यो दलले कुन बाटो रोज्छ, यसको राजनीतिक ​भबिष्य के कस्तो हुन्छ अझै केही समय पर्खेर हेर्नु पर्दछ,’ प्रतिवेदनमा उल्लेख छ। 

एमसीसीका विषयमा यी तीनवटै कम्युनिष्ट समूहले चरम अवसरवाद र द्वैध चरित्र प्रदर्शन गरेको भट्टराईको आरोप छ। यी दलहरुले जनताका आँखामा आफैंलाई नाटकी सिद्धि गरेको प्रतिवेदनमा जनाएका छन् । नेपालका कम्युनिष्ट समूहहरुसँग अब कुनै आशा राख्न नमिल्ने भट्टराईको निचोड छ। ‘आफैं भ्रमित व्यक्ति, आन्दोलन र संगठनले देश र जनताको सही नेतृत्व गर्ने कुरै हुँदैन । लोकतन्त्रको विश्वव्यापी मान्यताप्रति पनि उनीहरु प्रतिबद्ध छैनन्,’ आरोप लगाइएको छ । सरकारमा भएका बेला कम्युनिस्टले पनि आसेपासे पुँजीवाद, भ्रष्टाचार, कमिशनखोरीकै अभ्यास गर्दै आएको थप आरोप छ । 

राप्रपा– राप्रपा÷राप्रपा नेपाल रुढीवादी धारको प्रतिनिधि दल भएको भट्टराईको बुझाइ छ  । शक्तिले सानो भए पनि विचारले यो दल सबैभन्दा दक्षिणपन्थी, प्रतिक्रियावादी र पश्चगामी दल भएको र लोकतन्त्र, गणतन्त्र र संघवादलाई बद्नाम गर्न कुुतर्क र प्रोपागाण्डा फैलाउने गरेको आरोप लगाएका छन् । 

लोसपा– जसपाबाट चोइटिएको लोकतान्त्रिक–समाजवादी पार्टी (लोसपा) को एजेन्डा नै अहिलेसम्म प्रष्ठ नभएको भट्टराईको जिकिर छ । ‘ओली सरकारमा सामेल हुनु त झनै आत्मघाती थियो भन्ने व्यवहारबाटै पुष्टि भइसकेको सन्दर्भमा यो पार्टीबारे थप विश्लेषण गरिरहन आवश्यक देखिन्न,’ भट्टराईले जनाएका छन् । 
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x