राजनीति

प्रचण्डको पत्रकार सम्मेलनः ‘म, मेरो, म, मेरो र म मात्रै !’

अनिष भट्टराई |
फागुन १६, २०७८ सोमबार १८:४ बजे

काठमाडौं– अमेरिकी सहयोग परियोजना (एमसीसी)का विरुद्ध आफ्ना कार्यकर्ता सडक उतारेर सत्ताका लागि एजेन्डा नै छाडेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले नेकपाको विभाजन, संसद विघटन–पुनर्गठन, एमसीसी, सत्ता गठबन्धनका बारेमा बोले ।

पत्रकार सम्मेलनमा प्रचण्डले ‘म, म, मेरो, म र म’ मात्र गरिरहे । देशमा अन्योल र अनिश्चयको अवस्थामा आफूले केही उपाय खोज्ने गरेको र स्थिरतातर्फ लगेको उनको दाबी थियो ।


एमसीसीलाई वृहत छलफलमा आफूले नै लगेको प्रचण्डको दाबी थियो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार हुँदा पार्टी केन्द्रीय कमिटीको बैठक राखेर अध्ययन कार्यदल आफैंले बनाएको प्रचण्डले बताए । ‘मेरो लागि अप्ठेरो र खुसीको कुरा छ, केन्द्रीय समितिको एकमात्र बैठक थियो, जहाँ मैले अध्यक्षता गरेको थिएँ, तत्कालीन नेकपामा । एमसीसीको गम्भीर अध्ययनपछि मात्रै निचोडमा पुग्नु ठीक हुन्छ भनेर मैले झलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवालीको कार्यदल बनाएको थिएँ ।’

राष्ट्र नै विभाजित भएपछि केही अतिरिक्त समय लिन एमसीसीलाई आफूले इमान्दारीपूर्वक पत्र लेखेको प्रचण्डको स्पष्टोक्ति थियो । ‘मेरो त्यो इमान्दार प्रयासलाई यति धेरै नराम्रो गरियो, कि मानौं प्रचण्ड भन्ने मान्छे त भिलेन बनाइयो । तर सकारात्मक प्रयास स्वरुप पत्र लेखेका थियौं,’ उनले भने । सत्ताबाट बाहिरिएपछि ओली र देउवाबीच पहिलो पटक भेट गराउन पनि आफैंले पहल गरेको खुलासा प्रचण्डले गरे । सर्वदलीय बैठकमा एमाले नआएपछि बालकोट नै जानुस् भनेर आफैंले देउवालाई सुझाएको उनले सुनाए ।

एमसीसीलाई व्याख्यात्मक घोषणाबाट पास गर्ने उपाय आफ्नै रहेको पनि उनको दाबी थियो । ‘संकल्प प्रस्ताव भनेपनि वा जेसुकै भनेपनि केही पारित गरेर जान सकियो भने समस्या समाधान हुन्छ कि भनेर देउवाजीसँग भने । उहाँले पनि सहमति जनाउनु भएको थियो,’ उनको दाबी थियो ।

झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र प्रचण्डलाई पूर्व परराष्ट्र–सचिव तथा सार्कका पूर्वमहासचिव अर्जुनबहादुर थापाले व्याख्यात्मक घोषणाको ‘आइडिया’ दिएको उनले बताए । ‘मलाई उहाँले त्यसबारे सुनाउनु भयो । झलनाथ, नारायणकाजी र म भेट्दा मलाई भन्नुभयो, उहाँले,’ प्रचण्डले थपे ।

गठबन्धन पनि जाने, शान्ति सम्झौता नै तोडिने जस्ता खतरा देखेपछि आफूलाई एक वर्षअघिको त्यो आइडिया ‘क्लिक’ भएको प्रचण्डले सुनाए । ‘शान्ति सम्झौता तोडिनेसम्म खतरा देखेपछि मेरो दिमाग कहाँ गयो भने अनि एउटा प्रस्ताव जुन मैले पोहोर साल नै भनको थिएँ, त्यहीँ क्लिक भयो,’ उनले भने ।

लामो रस्साकस्सीपछि पास भएको एमसीसीमा सबै भन्दा बढी टिप्पणी आफूमाथि भएपनि एमसीसीलाई निकास दिँदा खुसी लागेको प्रचण्डको भनाइ थियो । तर एमसीसीलाई गिजोल्ने काम सबैभन्दा बढी कुनै नेताबाट भएको थियो भने ती प्रचण्ड नै हुन् ।

एमसीसी संसद्मा टेबुल भए नै सत्ता गठबन्धन छाड्ने धम्की दिएका प्रचण्ड एमसीसी पास हुँदा कसरी खुसी बन्न सके होलान् ? जबकी उनकै पार्टीको महाधिवेशनले एमसीसीलाई संशोधनबिना पास गर्न नसकिने निर्णय गरेको थियो ।

व्याख्यात्मक घोषणाको उपाय ल्याएकामा गठबन्धनको बैठकमा आफूले रामचन्द्र पौडेलबाट पनि बधाइ पाएको उनको भनाइ थियो । सत्ता गठबन्धनको बैठकमा रामचन्द्र पौडेलले पनि भन्नुभयो, ‘तपाईं नै हो नि यो ल्याउने त भनेर । म त राष्ट्रिय सहमति बनाउने मान्छे हो,’ उनले अघि भने ।

विचलित प्रचण्ड

एमसीसीका कारण बितेका केही हप्तायता कुनै नेता बढी नै विचलित बनेको कोही छ भने ती हुन्– पुष्पकमल दाहाल ‘प्रचण्ड’ । एमसीसीलाई सुरुमा चिठी नै लेखेको छैन भन्ने (जब प्रधानमन्त्री शेरबहादुर देउवा कोप–२६ सम्मेलनबाट फर्किंदा सुरुमा प्रचण्ड र आफूले लेखेको पत्रबारे बोलेका थिए) प्रचण्डले चिठी सार्वजनिक भएपछि उनले कूटनीतिक पहलमात्र भएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई सदनमा टेबुल गर्ने भएपछि प्रचण्डले जबरजस्ती सदनमा टेबुल भए सरकार छाड्ने चेतावनी दिए । गठबन्धन भत्काएर आफू सडकमा जानेसम्मको धम्की प्रधानमन्त्रीलाई दिए जबकि उनका कार्यकर्ता भने सडकमा उत्रिइसकेका थिए ।

सत्ता र सडक दुवैमा रमाइरहेका प्रचण्डलाई घात त्यतिबेला पर्यो जब उनले देउवा र एमाले अध्यक्ष ओली मिल्ने संकेत पाए । यसबीच उनले कैयौं पटक ‘मध्यमार्गी’ उपाय प्रधानमन्त्री देउवा र गठबन्धनसामु राखिसकेका थिए । तर देउवा–ओली समीकरण बन्ने देखेपछि झस्केका प्रचण्ड एकाएक एमसीसी पास गर्नेतिर ‘यू–टर्न’ भए ।

यसका लागि व्याख्यात्मक घोषणा गरेर एमसीसी पास गर्ने सहमति गठबन्धनले गर्यो । यो केबल प्रचण्ड, माधव नेपालको ‘फेस सेभिङ’ का लागि थियो भन्ने, गठबन्धनकै नेताले पुष्टि गरिसके ।

डा. बाबुराम भट्टराईले एमसीसीमाथिको छलफलमा बोल्दै भनेका थिए, ‘व्याख्यात्मक घोषणा भनेर लाजको लगौंटी ओडेर आउन खोज्नुभएको छ । ढिलै भए पनि यो सही छ ।’

कांग्रेस नेता मिनेन्द्र रिजालले सत्ता गठबन्धनका केही नेताको जुँगाको लडाइँ बचाउन ‘व्याख्यात्मक घोषणा’ ल्याउनुपरेको भन्दै कटाक्ष गरेका थिए ।

खैर, ‘लाजको लगौंटी ओडेरै जुँगाको लडाईं’ बचाएका प्रचण्डले राजनीतिमा फेरि अर्को विचलन देखाएका छन् । कार्यकर्तालाई सडकमा उतारेर आफू सत्तारक्षाका लागि आन्दोलनको एजेन्डा नै धिमा बनाइदिएका छन् । महाधिवेशनबाट संशोधनबिना पास गर्न सकिँदैन भनेको एमसीसीलाई सत्ता रक्षाकै लागि छाडिदिए । सत्तामै रहिरहन, आफ्नो एजेन्डा छाड्नु उनको राजनीतिक खुबी हो भन्ने हल्लालाई उनले नै ढाडस दिएका छन् ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x