राजनीति

चीनले भन्यो– 'अमेरिकाकाे धम्कीपूर्ण कूटनीति'को चीन विरोध गर्छ'

इकागज |
फागुन ६, २०७८ शुक्रवार १८:२० बजे

काठमाडौं- अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा चीनले मुख खोलेको छ । चीनले एमसीसीलाई लिएर अमेरिकाले नेपालमाथि बढाएको दबाबप्रति असन्तुष्टी जनाउँदै नेपालले लिने निर्णयमा खुसी हुने बताएको छ । चीनले आफू ‘धम्कीपूर्ण कूटनीति’को पक्षमा नरहेकोसमेत स्पष्ट पारेको छ ।  चिनियाँ विदेश मन्त्रालयका प्रवत्ता वाङ वेनबिनले शुक्रबार बेइजिङमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै यस्तो टिप्पणी गरेका हुन् । 

अमेरिकाले यही फेब्रुअरी २८ भित्र एमसीसी संसदबाट अनुमोदन गर्न नेपाललाई दबाब दिएको छ, यसमा चीनको धारणा के हो ? भनि पत्रकारले सोधेको प्रश्नमा उनले ‘दबाबपूर्ण कूटनीतिक’ विरोध गरेका हुन् । 


‘चीनले नेपाललाई सहयोग गर्न र नेपालको आर्थिक विकास र जीविकोपार्जनमा योगदान दिने अन्तर्राष्ट्रिय समुदायलाई स्वागत गर्छ । तर यो राजनीतिक अवस्थाका आधारमा भन्दा पनि नेपाली जनताको इच्छामा आधारित हुनुपर्छ,’ चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले आफ्नो समाचारमा वाङको भनाई उद्वत गरेको छ । उनले पत्रकार सम्मेलनमा नेपाललाई दिने विकास सहयोग निरन्तर जारी रहने प्रतिबद्धता समेत जनाए । 

‘छिमेकी मित्र राष्ट्र र विकास साझेदार भएको नाताले चीन नेपाली जनताले आफै विकासको बाटो रोज्ने कुरालाई समर्थन गर्दछ । आफ्नो देशको स्वार्थ र जनताको हित हुनेगरी नेपालले लिने निर्णयमा हाम्रो समर्थन रहनेछ,’ वाङले भने ।  

केहीदिन अघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरी फेब्रुअरी २८ भित्र एमसीसी अनुमोदन गर्न दबाब दिएका थिए । त्यति मात्र होइन उनले एमसीसी अनुमोदन नभए नेपालसँगको सम्बन्ध पुर्नविचार गर्ने र चीनको दबाबको कारण अनुमोदन हुन नसकेको भनि बुझ्ने समेत जनाएका थिए । 


Author

थप समाचार
x