राजनीति

देउवा अध्यक्ष हुँदाका उपाध्यक्ष शर्मा पहिलो पटक बने सांसद

इकागज |
माघ १२, २०७८ बुधबार २१:८ बजे

दाङ – प्रधानमन्त्री शेरबहादुर देउवाका विद्यार्थीकालका राजनीति समकक्षी पहिलो पटक सांसद बनेका छन् । देउवाका समकक्षी बाँकेका युवराज शर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि पहिलो पटक सांसद बनेका हुन् । नेपाल विद्यार्थी संघमा देउवा केन्द्रीय अध्यक्ष हुँदा शर्मा केन्द्रीय उपाध्यक्ष थिए । 

राजनीति सहयात्री देउवा ५ पटकसम्म देशका प्रधानमन्त्री भइसक्दा पनि शर्मा भने पहिलो पटक सांसद बनेका छन् । राष्ट्रिय सभा सदस्यमा लुम्बिनीबाट उनी निर्वाचित भएका हुन् । २०२७ सालमा भारतको बनारशबाट प्रतिनिधि भएर नेपाल विद्यार्थी संघको काठमाडौं महाधिवेशनमा उनी सहभागी भएका थिए । २०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदा यिनै शर्मा उपाध्यक्ष भएर काम गरेका थिए । 


उनी बाँके कांग्रेसको सभापति बाहेक अरु ठूलो पदमा अहिलेसम्म पुगेका थिएनन् । ओझेलमा रहेका शर्मालाई यस पटक देउवाले राष्ट्रिय सभामा उम्मेदवार बनाएका हुन् । कांग्रेस बाँकेका पूर्वसभापति समेत रहेका ७१ वर्षीय शर्मालाई कुनै बेला पार्टी सदस्यता नरहने गरि कांग्रेसले कारबाही गरेको थियो । त्यसपछि सुशील कोइरालासँगको राजनीतिक टकरावले शर्मा राजनीतिमा उदाउन सकेका थिएनन् । 

२०४५ देखि २०४९ सालसम्म उनी कांग्रेस बाँकेको सभापति थिए । पार्टीमा योगदान धेरै भए पनि विगतदेखी हरेक अवसरबाट उनी बञ्चित हुँदै आएको उनका सहकर्मी बताउँछन् । पञ्चायत विरोधी गतिविधी गरेका कारण उनी २०२४ सालमा पहिलो पटक जेल समेत परेका थिए । २०२४ सालपछि पटक–पटक गरेर आफू ३/४ वर्षजति जेल बसेको उनी बताउँछन् । 

देउवाका साथी, सुशीलसँग वारपार 
पार्टीको राजनीतिमा रहँदा उनको नेता सुशिल कोइरालासँग सुरुमा राम्रै सम्बन्ध थियो । २०४८ सालपछि भने कोइरालासँग वैचारिक द्वन्द्व सुरु भयो । कोइराला राजनीतिमा अगाडी बढ्दै गए । तर, शर्माले पार्टीको जिल्ला सभापति बाहेक अरु कुनैपनि पद पाएनन् ।

कोइराला र शर्माबीच द्वन्द्व बढ्दै जाँदा उनले राजनीतिक अवसर नपाएको बताइने गरिएको छ । कोइरालाले शर्माको ठाउँमा अन्य नेतालाई अगाडी सारेर सांसद बनाए । शर्मालाई पार्टीले एक पटक पनि सांसदको टिकट दिएन । पार्टीले टिकट नदिएपछि उनी २०५१ सालमा क्षेत्र नम्बर १ र २ बाट स्वतन्त्र उम्मेदवार समेत बनेका थिए । 

शर्माले बाँकेको क्षेत्र नम्बर ३ बाट पार्टीको राजनीति गर्दै आएका छन् । उनी कांग्रेसको १४ औं महाधिवेशनमा बाँकेको क्षेत्र नम्बर ३ बाट खसआर्य कोटामा महाधिवेशन प्रतिनिधी सर्वसम्मत निर्वाचित भएका थिए ।‘राष्ट्रिय सभामा निर्वाचित भएपछि शर्माले संवैधानिक र पार्टीको दायित्व पूरा गर्ने बताएका छन् ।


Author

थप समाचार
x