राजनीति

राष्ट्रिय सभा निर्वाचन:

एमालेकी फरार प्रदेश सांसदलाई पक्राउ गर्न प्रहरी परिचालन

इकागज |
माघ ११, २०७८ मगलवार १९:५ बजे

फाइल फोटो

विराटनगर - किर्ते जालसाजी मुद्दामा जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरबाट दोषी ठहर भएपछि फरार रहेकी प्रदेश सांसद गुलेफुन खातुनलाई खोज्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङसहित प्रदेश प्रहरी कार्यालय विराटनगरले विशेष टोली नै बनाएर उनलाई खोज्नका लागि प्रहरी परिचालन गरेको छ ।

मंगलबार दिनभर उनलाई खोज्न प्रहरी परिचालन भए पनि फेला नपरेको बताइएको छ । सांसद खातुन नेकपा एमालेबाट प्रदेश १ को प्रदेश सभामा समानुपातिक तर्फकी सांसद हुन् । उनी राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आउने आशंकामा सरकार पक्षले भने जसरी पनि पक्राउ गर्न सुरक्षा संयन्त्र परिचालन गरेको छ ।राष्ट्रियसभा निर्वाचनमा प्रदेश सांसदको मतभार ४८ रहेको छ । निर्वाचनमा थोरै मात्र मतान्तर रहेका कारण सत्ता गठबन्धन नेकपा एमालेसँग त्रसित छ ।


एमाले भने एक्लै निर्वाचनमा जुटेको छ । प्रदेश सांसदका लागि प्रदेश निर्वाचन कार्यालय नजिकै रहेको बाली संरक्षण प्रयोगशालामा बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । फरार रहेकी सांसदलाई पक्राउ नगरे एमालेको पक्षमा मत बढ्ने भएकोले प्रदेश १ मा सत्ता गठबन्धनले सांसदलाई खातुनलाई मतदानबाट रोक्नका लागि निर्वाचनकै समयमा पक्राउ गर्ने योजना बनाएको छ । मोरङ प्रहरीले यसअघि नै फरार रहेकी सांसद खातुनलाई खोज्न चासो दिएको थिएन् । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक जनार्दन जिसीले उनको खोजी जारी रहेपनि मंगलबार पक्राउ नपरेको जानकारी दिए । उनले भेटिएको खण्डमा पक्राउ गर्ने बताए । यता नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने सांसद खातुन मतदानमा उपस्थित हुने नहुनेबारे यकिन भइनसकेको बताए । उनले सरकारले निर्वाचन लक्षित गरेर पक्राउ गर्न खोजेको भन्दै संसदीय दलले उनलाई उपस्थित हुन बाध्य नगर्ने बताए । सांसद खातुन अघिल्लो पटकको राष्ट्रियसभा निर्वाचनमा पनि मतदानमा अनुपस्थित रहेकी थिइन् ।


Author

थप समाचार
x