राजनीति

यी हुन् निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा छलफल हुने पाँच विषय

कमल विष्ट |
जेठ २५, २०८० बिहीबार १७:५१ बजे

काठमाडौँ– राष्ट्रिय निर्वाचन आयोगले भोलि (शुक्रबार) सर्वदलीय बैठक आह्वान गरेको छ । जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णयलगायत विभिन्न विषयमा छलफल गर्न सर्वदलीय बैठक डाकिएको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले इकागजलाई जानकारी दिए ।

शुक्रबार साढे ११ बजे निर्वाचन आयोगको हलमा हुने बैठकमा मुख्य गरी पाँच विषयमा छलफल हुने प्रमुख आयुक्त थपलियाले बताए । 


सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा जिल्ला निर्वाचन कार्यालयसहित २० वटा सरकारी संस्थान खारेज गर्ने निर्णय गरेको छ । उक्त निर्णयलाई लिएर अहिले व्यापक विरोध भइरहेको छ । यो व्यवस्था संविधानविपरीत भएको निर्वाचन आयोगको पनि ठहर छ । 

‘सबैभन्दा पहिला त सरकारले बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालयहरू नरहने जुन व्यवस्था गरेको छ त्यसबारे छलफल हुन्छ,’ उनले भने, ‘हामीले निर्वाचनसम्बन्धी नयाँ कानुनको मस्यौदा तयार गरेका छौँ । यसलाई नेपाल सरकारमार्फत संसदमा पठाउने विषयमा छलफल हुन्छ ।’

प्रमुख आयुक्त थपलियाका अनुसार आगामी साउन १ गतेदेखि गाउँपालिका र नगरपालिकाबाटै मतदाता नामावली दर्ता गर्न मिल्ने व्यवस्था गरिँदैछ । सम्भाव्य जिल्लामा आवश्यक संयन्त्रसहित नामावली दर्ता गर्न लागिएको उनले बताए । ‘यसअघि जिल्लाबाट हुन्थ्यो । अब जिल्लाको समन्वय र अनुगमनमा नगरपालिका र गाउँपालिकाबाटै मतदाता नामावली संकलन हुन्छ । यसो हुँदा कोही छुट्ने सम्भावना कम हुन्छ,’ उनले भने, ‘यस विषयमा भोलिको सर्वदलीय बैठकमा छलफल हुन्छ।’

यसपालिको नीति तथा कार्यक्रममा पनि विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारी दिने कुरा समावेश भएको छ । यसै विषयलाई सम्बोधन गर्न निर्वाचन आयोगले साउनदेखि केही देशहरूबाट नेपालीको नामावली संकलन प्रारम्भ गर्ने तयारी गरेको छ । ‘यो विषय नयाँ कानुनमा पनि छ । यसबारे पनि छलफल हुनेछ,’ प्रमुख आयुक्त थपलियाले भने ।

निर्वाचन आयोगले दलहरूले पेस गरेको आयव्ययको विवरण महालेखापरीक्षक कार्यालयका कर्मचारीबाट जाँच गराउने निर्णय गरेको छ । ‘यसलाई कसरी अगाडि बढाउने भनेर छलफल हुन्छ,’ उनले भने, ‘मुख्य विषय यिनै हुन् । यीबाहेक छलफलका क्रममा उठ्ने अरु विषयमा पनि छलफल हुनसक्छ ।’

सर्वदलीय बैठकअगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, कानुनमन्त्री धनराज गुरुङलगायतसँग निर्वाचन आयोगको बैठक हुनेछ । उक्त बैठक शुक्रबार बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x