राजनीति

म प्रधानमन्त्री भएपछि अर्थतन्त्र सुदृढ बन्दै आएको छ : प्रधानमन्त्री

इकागज |
जेठ २५, २०८० बिहीबार १७:४७ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्री भएपछि अर्थतन्त्र सुदृढ बन्दै आएको दाबी गरेका छन् । बिहीबार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्ने आवश्यकता औंल्याए । उनले महामारीको मारमा परेका व्यवसायीहरूलाई राहत दिने गरी तथा शिथिल बन्न पुगेको देशको अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रका साथीहरूका सुझावलाई सरकारले हालै सार्वजनिक गरेको आगामी वर्षको बजेटमा समेटेको जिकिर गरे । उनले वर्तमान सरकार निजी क्षेत्रको साथमा रहेको बताए ।


उनले पर्यटन क्षेत्रको बहु आयामिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन, होटल तथा पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटनको बसाइ लम्ब्याउन आवश्यक प्रबन्ध मिलाउने सरकारको लक्ष्य रहेको बताए । उनले अर्थतन्त्र चलायमान बनाउन उद्योग व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारु गरिएको र यसले अर्थतन्त्र चलायमान बनाउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

आफ्नो भारत भ्रमणपछि नेपालमा हाइड्रोपावरको क्षेत्रमा ठूलो लगानीको बाटो खुलेको पनि बताए । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएपछि अर्थतन्त्र सुदृढ बन्दै आएको दाबी गरे ।


Author

थप समाचार
x