राजनीति

संसद्‌मा रविको स्पष्टीकरण- नागरिकता विधेयकमा रास्वपा कुनै समुदायविरुद्ध छैन

इकागज |
जेठ २५, २०८० बिहीबार १३:३ बजे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकता विधेयकका सम्बन्धनमा आफ्नो पार्टी कुनै समुदायको विरुद्धमा नरहेको स्पष्टीकरण दिएका छन् । संसदमा जारी बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले नागरिकता विधेयकका सन्दर्भमा रास्वपा मधेशी नागरिकविरुद्ध छ भन्ने भाष्य जबरजस्ती स्थापित गर्न खोजिएको बताए । 

उनले आफू राजनीतिमा नहुँदा पनि सधैँ पीडित मधेशी जनताको पक्षमा रहेको बताए । ‘नागकिरता विधेयकका सम्बन्धमा रास्वपा कुनै समुदायको विरुद्धमा छ भन्ने भाष्य जबरजस्ती निर्माण गरेर निमुखा नागरिकलाई गुमराहमा राख्न खोजिएको छ,’ उनले भने, ‘त्यसो गर्नेहरुलाई म यसो मात्र भन्न चाहन्छु– राजनीतिमा नहुँदा पनि प्राकृतिक विपद्, वैदेशिक रोजगारीका साथै मिटरब्याज जस्ता समस्यामा हामी आवाजविहीन मधेशी जनताको पक्षमा उभिएको संसारलाई थाहा छ ।’


गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेलगत्तै रास्वपाले राष्ट्रपतिको कदमको विरोध गर्दै विज्ञप्ति निकालेको थियो । रास्वपाले नागरिकता विधेयकलाई राष्ट्रहितविपरीतको संज्ञा दिएको छ । 

सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल लागू नगर्नु भन्दै अल्पकालीन आदेश दिएपछि यतिबेला मधेश आन्दोलित छ । मधेशमा नागरिकता पीडितहरुले रास्वपालगायत एमाले, राप्रपाको विरोध गरिरहेका छन् । 


Author

थप समाचार
x