राजनीति

विपन्न नागरिकलाई निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

इकागज |
जेठ १९, २०८० शुक्रबार १४:५३ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई दश प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पतालहरूलाई कारबाही गरिने बताएका छन् । शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्दै मन्त्री बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका दश प्रतिशत नागरिकहरूको निःशुल्क उपचार नगर्ने अस्पतालहरूलाई कारबाही गर्ने बताएका हुन् ।

उनले अस्पताल सञ्चालको स्वीकृति लिँदा दश प्रतिशत विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने प्रावधान राखिएको भए पनि सो प्रावधान पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको जिकिर गरे । उनले अनुगमनका क्रममा अस्पतालहरूसँग एक आर्थिक वर्षमा विपन्न नागरिकलाई निःशुल्क उपचार गरेको विवरण पनि माग गरे ।


मन्त्री बस्नेतले अस्पताल सञ्चालनको स्वीकृति लिँदाको सम्झौता अनुरूप १० प्रतिशत निःशुल्क उपचार गर्न निर्देशन पनि दिए । उनले निःशुल्क उपचार दिने र नदिने अस्पतालहरूलाई सरकारले सोही अनुरूप हेर्ने पनि स्पष्ट पारे । उनले अस्पतालमा शय्या उपलब्ध छ, छैन भन्ने पनि अनलाइनमार्फत सार्वजनिक गर्न निर्देशन दिइएको भन्दै आगामी दिनमा बेड पाउनका लागि मन्त्री वा सांसदहरूले सिफारिस गर्नुपर्ने अवस्था तोड्ने बताए ।

मन्त्री बस्नेतले अनुगमनका क्रममा अस्पताल प्रशासन, चिकित्सक, बहिरंग सेवामा भर्ना भएका बिरामी, आकस्मिक सेवामा भर्ना भएका बिरामीहरूलाई भेटी अस्पतालले दिएको सेवाको सम्बन्धमा जानकारी लिएका थिए । उनले अस्पताल अनुगमनको काम जारी राख्ने बताए ।


Author

थप समाचार
x