राजनीति

चन्द्र भण्डारीले संसदमा सम्बोधन गर्दै भने - सरकारले मलाई सहयोग गर्ने रकम अस्पताल बनाउन प्रयोग गरोस्

इकागज |
जेठ १०, २०८० बुधबार १५:२५ बजे

फाइल फोटो

काठमाडौं - आगलागीको घटनापछि स्वास्थ्यलाभ गर्दै गरेका कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले आफ्नो उपचारमा सहयोग गरेकोमा सम्मान व्यक्त गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग गर्न आग्रह गरेका छन् । 

गत ३ पुसमा भएको एलपी ग्यास विस्फोटबाट भएको आगलागीमा परेर भारतमा उपचार गरेका भण्डारीले उपचारपछि बुधबार पहिलो पटक प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै  सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस् भनेका छन् । 


‘म कीर्तिपुरबाट जाँदा निदाएको थिएँ । बम्बईमा सात दिनपछि ब्यूँझिएँ । ब्यूँझँदा धेरै साथीहरूले सहयोग गरेको पाएँ, त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस्,’ उनले संसदमा भने । 

सो घटनापछि सरकारले भण्डारीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो । उनले आफूलाई सहयोग गर्ने रकम अस्पताल बनाउन प्रयोग गर्न आग्रह गरेका हुन् । 

आफूले व्यहोरेका घटनाबाट गत वर्ष ११० जनाले मृत्युवरण गरेका र अहिलेको वर्षमा आफ्नी आमा थपिँदा १११ जना पुगेको बताउँदै उनले गाउँगाउँमा पुगेको बिजुली र ग्याँस प्रयोगबारे पाठ्यपुस्तकमा राख्नुपर्ने बताए । नेपालमा दक्ष चिकित्सक धेरै रहेका जानकारी गराउँदै उनले क्षमता भएकाले अवसर नपाएको बताए । 


Author

थप समाचार
x