राजनीति

काठको आयात रोकी निर्यात गर्न सकिन्छ : मन्त्री महतो

इकागज |
जेठ १०, २०८० बुधवार १५:१० बजे

फाइल फोटो

काठमाडौँ - वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले वन तथा वातावरण मन्त्रालय ठूलो सम्भावना भएको मन्त्रालय रहेकाले यस अन्तर्गतका स्रोतसाधनको परिचालन गरी मुलुकको आर्थिक समृद्धि र रोजगारीमा योगदान दिन सकिने बताएका छन् । 

सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्दै उनले अहिले जङ्गलमा कुहिएर रहेका काठको उपयोग गरी विदेशी काठ आयात रोक्न र निर्यातको समेत सम्भावना रहेको उल्लेख गरे । 


उनले भने, “यसमा देखिएका कानुनी जटिलतालाई सहजीकरण गर्न मन्त्रालय तयार छ, जडीबुटीको पनि मुलुकमा ठूलो सम्भावना छ । त्यसको परिचालन र उपयोग गरी रोजगारी र विदेशी मुद्रा आर्जन गर्न सकिन्छ, त्यसतर्फ काम गर्नुपर्छ ।”

नेपालको जलविद्युत् परियोजनाको क्षेत्रमा देखिएका वातावरणीय जटिलतालाई सहजीकरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री महतोले वातावरणीय भविष्यलाई पनि ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । 

उनलाई मन्त्रालयमा सचिव डा रेवतीरमण पौडेल र मन्त्रालयका कर्मचारीले स्वागत अभिवादन गरेका थिए  ।  जनता समाजवादी पार्टी नेपालका तर्फबाट उनी मन्त्रिमण्डमा सामेल भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले आजै पद तथा गोपनीयताको शपथ लिएका थिए । रासस


Author

थप समाचार
x