राजनीति

रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण छ : उपप्रधानमन्त्री खड्का

इकागज |
चैत १७, २०७९ शुक्रबार २०:५६ बजे

काठमाडौँ- नवनियुक्त उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण भएको बताएका छन् ।

उपप्रधानमन्त्री तथा मन्त्री पदको शपथ लिएपछि आज मन्त्रालयमा पदबहालीका क्रममा उनले भने, 'मुलुकको भौगोलिक अखण्डताको रक्षा, जनता र राष्ट्रिय सुरक्षाका साथै रणनीतिक विकासका योजनासमेत नेपाली सेनामार्फत अगाडि बढाइरहेको सन्दर्भमा यो मन्त्रालयको ठूलो महत्त्व छ ।'  


मुलुक र जनताप्रति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री खड्काले सबैभन्दा ठूलो जिम्मेवारी देशको माटोको रक्षा गर्ने भूमिका भएको र यसको जिम्मेवारीका लागि लगि मन्त्रालयको रणनीतिक महत्त्व रहेको धारणा व्यक्त गरे । यिनै विषयका महत्त्वलाई बुझेर नै सरोकार सबैसँग समन्वय र सहकार्यका साथ सामूहिक भावले आफ्ना काम अघि बढाउने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा उपप्रधानमन्त्री खड्काले सरकारका प्राथमिकता सरकारको न्यूनतम् साझा कार्यक्रममार्फत नै केही दिनमै सार्वजनिक गरिने जानकारी गराए । सोहीअनुसार नै सरकारले विकास निर्माण तथा समृद्धिका लागि महत्त्वपूर्ण सुधारका कार्य गर्ने उनले बताए ।

यस्तो छ नवनियुक्त उपप्रधानमन्त्री खड्काको जीवनी

नेपाली कांग्रेसका उपसभापति खड्का पिता प्रेमबहादुर र माता मायादेवीको कोखबाट विसं २०१२ फागुन १७ गते जन्मिएका हुन् । वीरेन्द्रनगर नगरपालिका–७, सुर्खेत स्थायी ठेगाना भएका उनी हाल बूढानीलकण्ठ नगरपालिका–७, गल्फुटार, काठमाडौँ बस्दै आएका छन् । उनको राजनीतिक यात्रा विसं २०३० मा नेपाल विद्यार्थी सङ्घबाट सुरु भएको हो ।  

उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी नेपाल विद्यार्थी सङ्घ केन्द्रीय क्याम्पस, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको विसं २०३६–२०४१ सम्म सभापति भएका थिए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतको सभापति (विसं २०४४–२०४८) मा भएका उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय कार्यसमिति सदस्य (विसं २०६०–२०६४), नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य (विसं २०६४ देखि असोज ६, २०७०) भएका थिए ।

उनी नेपाली कांग्रेसको सहमहामन्त्री (असोज ७, २०७०), महामन्त्री (वैशाख २१, २०७५) र पार्टीको १४औँ महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा (पुस १, २०७८) निर्वाचित भएका थिए ।

उपप्रधानमन्त्री खड्का लोकतन्त्र बहालीका लागि नेपाली कांग्रेस र भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घद्वारा सञ्चालित विभिन्न राजनीतिक आन्दोलनका क्रममा पटक–पटक गिरफ्तार भएका थिए । उनी विसं २०३८ को राष्ट्रिय पञ्चायतको निर्वाचन बहिष्कारको पार्टी अभियानमा सहभागी हुँदा ३० दिन थुनामा, बहुदलीय व्यवस्था पुनःस्थापनाका लागि विसं २०४६ मा भएको ऐतिहासिक जनआन्दोलनका क्रममा तीन महिना जेल जीवन व्यतीत गर्नुका साथै शाही शासनकाल विसं २०६० मा ४० दिन घरमै नजरबन्द भएका थिए ।

उनी विसं २०५५ मा युवा, खेलकुद तथा संस्कृति र जनसङ्ख्या तथा वातावरणमन्त्री भएका थिए । उनले वाणिज्य, सूचना तथा सञ्चार र उद्योग, गृह मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । उनी गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

उपप्रधानमन्त्री खड्काले अष्ट्रेलिया, अष्ट्रिया, बङ्गलादेश, बेल्जियम, चीन, जर्मनी, हङकङ, भारत, जापान, केन्या, लग्जमबर्ग, नेदरल्यान्ड्स, कतार, सिङ्गापुर, श्रीलङ्का, स्विट्जरल्यान्ड, थाइल्याण्ड, बेलायत, अमेरिका, युएई र कुवेतलगायत मुलुकको भ्रमण गरिसकेका छन् ।


Author

थप समाचार
x