राजनीति

अर्थशास्त्रमा विद्यावारिधी गरेका महतलाई अर्थतन्त्र सुधार्ने चुनौती

इकागज |
चैत १७, २०७९ शुक्रबार १८:५० बजे

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महत विसं २०१६ कात्तिक १९ मा नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलासमा जन्मिएका हुन् ।

फुलब्राइट छात्रवृत्तिअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी (पिएचडी) गरेका डा महत हाल नेपाली कांग्रेसको प्रवक्ता तथा केन्द्रीय सदस्य हुन् ।  


कक्षा–७ मा अध्ययनरत रहँदादेखि नै नेपाल विद्यार्थी सङ्घमा लागेका उनले २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्रमोर्चामा रहेर काम गरेका छन् । विसं २०४२ को सत्याग्रहमा सक्रिय भूमिका खेलेका डा महत त्यसबेला नेपाल विद्यार्थी सङ्घको महासचिव थिए ।

कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डा महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए । पार्टीले दिएका जिम्मेवारीहरू कुशलतापूर्वक पूरा गर्ने उनले विसं २०५६ देखि कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गरेका थिए भने २०५९ सालदेखि निरन्तर पार्टीको केन्द्रीय सदस्य छन् ।

उनले २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र २०७९ को मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचनमा पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको संयोजकको भूमिका सफलतापूर्वक सम्पन्न गरेका थिए ।

विसं २०६३ को अन्तरिम व्यवस्थापिकाको सदस्यबाट संसद्को यात्रा आरम्भ गरेका डा महतले पहिलो र दोस्रो संविधान सभामा सदस्य रहे । त्यसैगरी विसं २०७० देखि २०७४ सम्म विधायकका रूपमा रहे । हाल उनी प्रतिनिधिसभाको सदस्य छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सल्लाहकारका रूपमा विसं २०५८ देखि २०५९ सम्म काम गरेका डा महतले राष्ट्रिय योजना आयोगको सदस्यका रूपमा पनि काम गरेका थिए । 

उनले यसअघि परराष्ट्र मन्त्री, उर्जामन्त्री र परराष्ट्र राज्यमन्त्रीका रूपमा रहेर काम गरेका छन् । उनी उर्जामन्त्री रहेका बेला राष्ट्रिय गौरवका रूपमा रहेको माथिल्लो तामाकोशी आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने तथा ढल्केवार–मुजफ्पुर ४०० के.भी. प्रशारण लाइन निर्माणको निर्णय गरेका थिए । 

त्यस्तै परराष्ट्रमन्त्री हुँदा उनको पहलमा चीनसँगको बिआरआई सम्झौताका साथै नेपालले गण्डक सम्झौताबाट पाउनुपर्ने सुविधाका लागि कुरा उठाइ भारतीय पक्षलाई प्रतिबद्ध गराएका थिए । नेपालको कूटनीतिक सन्तुलनका लागि महत्वपूर्ण काम गरेका थिए । 

मुलुकको अर्थतन्त्रमा चुनौती आइरहेको वर्तमान अवस्थामा उनी देशको अर्थमन्त्री बनेकाले अर्थशास्त्रमा विद्यावारिधी गरेका डा महतले आगामी दिनमा यो चुनौतीलाई सामना गर्नेगरी काम गर्नुपर्ने चुनौती थपिएको छ ।


Author

थप समाचार
x