राजनीति

बहुमत गुमाउँदै सुदूरपश्चिम सरकार

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने

मुख्यमन्त्री राजेन्द्र सिंह रावलले भाेलि विश्वासको मत लिँदै

इकागज |
माघ २४, २०७९ मंगलबार १९:१७ बजे

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले भोलि (बुधबार) विश्वासको मत लिँदैछ । तर, सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले भने विश्वासको मत नदिने भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रंजिता श्रेष्ठसहित सुदूरपश्चिम प्रदेशका सात जना सांसद रेशम चौधरीलाई भेट्न डिल्लीबजारस्थित कारागार पुगेका थिए । सात सांसदलाई रेशम चौधरीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने बताएका छन् ।


‘पहिले जेलको ढोका खुल्ला त्यसपछि सरकारको ढोका खुल्ला,’ रेशम चौधरीले आफ्ना सांसदलाई भने । ११ बजेदेखि भएको छलफल करिब ५ बजेसम्म चलेको थियो । उक्त छलफलमा नागरिक उन्मुक्तिका केही सांसदहरूले तत्काल विश्वासको मत दिएर सरकारमा जान आफ्ना मतदाताको दबाब रहेको बताएका थिए ।

जवाफमा रेशम चौधरीले माग र मुद्दाभन्दा बाहिर जान नसकिने बताएका थिए । बैठक सकिए लगत्तै शीर्ष नेताले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने अडान यथावत् नै रहेको बताए ।

भोलि बिहान ११ बजे सुदूरपश्चिम सरकारका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिन संसद् बैठक आह्वान गर्न भनेका थिए । तर, केही ढिलो हुने भन्दै भोलिको बैठक १ बजेका लागि सारिएको छ ।

आज डिल्लीबजार कारागारको बैठकले भोलि मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सम्भावना क्षीण बनेको छ ।

२७ पुसमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले २६ गतेसम्म विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । सुदूर पश्चिममा नागरिक उन्मुक्तिले विश्वासको मत नदिए सरकारले बहुमत गुमाउने छ ।​


Author

थप समाचार
x