राजनीति

सांसद चाैधरी पक्राउ परेपछि उन्मुक्तिकी अध्यक्ष श्रेष्ठले भनिन्-सरकारले थारुलाई मात्रै अपराधी देख्याे

इकागज |
माघ १९, २०७९ बिहीबार १६:४० बजे

फाइल तस्बिर

काठमाडौँ- कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो ।

चौधरी पक्राउ परेसँगै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रंजिता श्रेष्ठले अपराधी थारुलाई मात्र देख्‍ने सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेकी छन् । उनले भनेकी छन्,’ अपराधी थारुलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन तिमीलाई चाहिदैन रहेछ ।‘


कैलाली जिल्ला अदालतको आदेश अनुसार सजाय नै नभोगी उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको खुलेको थियो । २०७४ सालमा लम्कीचुहा नगरपालिकाको मेयर र पछि प्रदेश निर्वाचनमा पराजित चौधरी गत मंसिरको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो ।

ट्याक्टरधनी मोतीपुरका महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए । उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए । चालक साजन चौधरीले उनीहरूले नै आफूलाई लखेटेर ट्याक्टरमा आगो लगाएको बयान दिएका थिए ।

जिल्ला अदालतमा ‘आगजनी गरेको’ आरोपमा तत्कालीन मुलुकी ऐन बमोजिम मुद्दा परे पनि आरोपित सबैजना म्याद गुजारेर बसे र अदालतमा हाजिर हुन गएनन् । जिल्ला अदालतले ‘कसूर अपराधलाई स्वीकार गरी बसेको’ ठहर गर्‍यो र उनीहरूलाई मुलुकी ऐनको आगो लगाउनेको महल १ र ४ अनुसार कसूर गरेको ठहर गर्‍यो । ९ वैशाख २०७० मा नै पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीलाई ६/६ महिनाको दरले कैद सजाय तोकियो ।

क्षति भएको ८ लाख १९ हजार रुपैयाँ तीन जनाबाट भराउने आदेश भयो । फैसला भएको एक दशकसम्म पनि आरोपितहरू फरार नै थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रबार पक्राउ परेपछि फरार रहेका अर्का व्यक्ति सांसद चौधरी भएको खुलेको थियो ।

 


Author

थप समाचार
x