राजनीति

चलिरहेका अनलाइनलाई पनि नियमित अभिमुखीकरण गरौँ : मन्त्री शर्मा

इकागज |
माघ १०, २०७९ मंगलबार १८:१९ बजे

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ अनलाइनलाई जस्तै चलिरहेका अनलाइनका सञ्चालक/सम्पादकलाई पनि नियमित अभिमुखीकरण गर्न सुझाव दिएकी छिन् ।

मङ्गलबार प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमणका क्रममा मन्त्री शर्माले काउन्सिलले दिने आचारसंहितासम्बन्धी प्रशिक्षण र अभिमुखीकरणलाई अझै व्यापक र प्रभावकारी बनाउन सुझाव दिएकी हुन् । प्रेस काउन्सिलले पछिल्लो समय नयाँ अनलाइनका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण कक्षा सञ्चालन गर्दै आएको छ ।


मन्त्री शर्माले आमसञ्चारसँग जोडिएको मुख्य मन्त्रालय भएको कारण सञ्चार मन्त्रालय भन्नु नै आमसञ्चार मन्त्रालय हो भन्ने बुझाइ रहने गरी मन्त्रालयले काम गर्ने बताइन् । उनले प्रेस काउन्सिल नेपाललाई आवश्यक सबै सहयोग गर्न मन्त्रालय तयार रहेको भन्दै आमसञ्चार क्षेत्रलाई आचारसंहिताको पालनासहित जिम्मेवार बनाउन काउन्सिल थप सक्रियतापूर्वक लाग्नुपर्ने उल्लेख गरिन् ।

काउन्सिलले बनाउन लागेको प्रेस सङ्ग्रहालयसमेतको अवलोकन गर्दै मन्त्री शर्माले सङ्ग्रहालयमा आमसञ्चार माध्यमका प्राचीन माध्यमहरूको संरक्षण हुने भएकाले नयाँ पुस्ताका लागि यो अति नै महत्वको काम भएको बताइन् । यसलाई पूर्णता दिन बजेट व्यवस्थापनका लागि मन्त्रालयले पहल गर्ने मन्त्री शर्माको भनाइ छ । उनले सञ्चारका मुद्दालाई व्यवस्थित बनाउन प्रेस काउन्सिल ऐन समसामयिक बनाउने लगायतबारे सरोकारवालासँग समन्वय हुने बताइन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार क्षेत्रको नियमनकारी निकायलाई प्राथमिकतामा राख्न अनुरोध गरे । उनले सीमित जनशक्ति र स्रोत साधनको अभावमा पनि काउन्सिलले आफ्नो जिम्मेवारी बहन गरिरहेको स्मरण गराउँदै काउन्सिल लगायत आम सञ्चार क्षेत्रका समस्या सम्बोधन गरिदिन आग्रह गरे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले प्रेस काउन्सिल कर्मचारी विनियमावली स्वीकृत भइसकेको र अन्य ऐन, कानुन प्राथमिकताका साथ अगाडि बढाइने जानकारी दिए । काउन्सिलका सदस्य सचिव शंकर नेपालले प्रेस काउन्सिल आर्थिक प्रशासन विनियमावली शीघ्र मन्त्रालयमा पठाउने तयारी भएको हुँदा स्वीकृतिका लागि सहयोग गर्न आग्रह गरे ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलका विषयमा संक्षिप्त जानकारीसहित समस्या र चुनौतीबारे जानकारी गराएका थिए । यस्तै उपप्रशासकीय अधिकृत रामशरण बोहराले अनुगमन गर्ने तरिका, डाटा स्टोरेज, काउन्सिलमा रहेको अभिलेख प्रणाली लगायतका विषयमा जानकारी गराएका थिए ।


Author

थप समाचार
x