राजनीति

गण्डकी प्रदेशमा ७ पार्टीले थ्रेस होल्ड कटाए, ४ पार्टी सरकारमा

धनबहादुर गुरुङ |
मंसिर २३, २०७९ शुक्रबार २०:१४ बजे

पोखरा- गण्डकी प्रदेशको समानुपातिक तर्फको मतगणना सकिएको छ । मतपरिणाम अनुसार गण्डकीमा ७ राजनैतिक पार्टीले थ्रेस होल्ड कटाएका छन् । ती मध्येबाट ४ पार्टीलाई मात्र गण्डकी प्रदेश सभा छिर्ने ढोका खुलेको छ । 

प्रदेश सभाका लागि प्रतिनिधि सभामा जस्तो प्रत्यक्ष चुनाव जित्नैपर्ने बाध्यता छैन । थ्रेस होल्ड पनि १.५ प्रतिशत मात्रै छ । यही नियम अनुसार गण्डकीमा ७ वटा पार्टीले थ्रेस होल्ड कटाएका छन् । संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभामा समानुपातिक सांसद चुनिन कम्तीमा १ सिट प्रत्यक्ष र तीन प्रतिशत थ्रेस होल्ड कटाउनुपर्ने अनिवार्य सर्त छ । तर, प्रदेशमा सहज छ ।


गण्डकीमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमोर्चा ,एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी थ्रेस होल्ड कटाएका छन् । तर, ४ पार्टीले मात्र सरकारमा सहभागिता जनाउन पाउने भएका हुन् । एमाले, कांग्रेस, माओवादी र राप्रपाले सिट पाउँदा बाँकी ३ पार्टी सांसद विमुख भएका हुन् । यसका कारण भनेको थ्रेस होल्ड कटाए पनि सांसद बन्न आवश्यक मत नपुग्नु हो । 

समानुपातिक तर्फ प्रदेश सभामा एमालेले सबैभन्दा बढी मत पाएको छ । एमालेले ३ लाख ६७ हजार ९ सय ८९ मत पाउँदा दोश्रो भएको कांग्रेसले ३ लाख ४९ हजार ६ सय २८ मत पाएको छ । माओवादीले १ लाख १६ हजार ९ सय ४५ र समानुपातिकबाट प्रदेश सभामा पहिलो पटक इन्ट्री गरेको राप्रपाले ५९ हजार ४ सय ८३ मत पाएको छ । हाम्रो नेपाली पार्टीले १८ हजार ७ सय ३७ मत पाएको छ भने एकीकृत समाजवादीले १५ हजार ७६ तथा जनमोर्चाले १४ हजार ९ सय ४० मत पायो । 

१.५१ प्रतिशत समानुपातिक मत ल्याएर थ्रेस होल्ड कटाउने राष्ट्रिय जनमोर्चा सबैभन्दा पछिल्लो पार्टी हो । यहाँ ९ लाख ८५ हजार ८ सय २ मत सदर भएको थियो । अन्तिम गणना अनुसार जनमोर्चाले १४ हजार ९ सय ४० मत पाएको छ । अघिल्लो पटक समानुपातिक तर्फ एक सिटसहित ३ सिट जितेको जनमोर्चा अहिले संसद्‍मा देखिने छैन । भने, यसभन्दा अघिल्लो पटक सांसद नै नभएको राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकी प्रदेश सभामा यो पटक उपस्थिति जनाउने भएको हो । 

समानुपातिकको नतिजासँगै गण्डकीमा ४ पार्टीको सांसद संख्या पनि टुंगो लागेको छ । प्रत्यक्षमा सबैभन्दा बढि १८ सिट जितेको कांग्रेसको समानुपातिकमा ९ जना थप्दै २७ जना सांसद हुनेछ । कांग्रेस गण्डकीमा सबैभन्दा ठूलो पार्टी बनेको छ । प्रत्यक्षमा १२ सिट जितेको एमालेले समानुपातिकबाट १० जना थपेर २२ सांसदसहति दोस्रो ठूलो पार्टी भएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ५ सिट र समानुपातिकमा ३ सांसद पाएको छ । यद्धपी प्रत्यक्षमा गोलाकार भित्र हसियाँ हथौडा चुनाव चिह्न लिएर निर्वाचन जितेका एक जना सांसद जनता समाजवादी पार्टीका हुन् । यस्तै प्रत्यक्षमा एक सिट पनि नजितेको राष्ट्रिय जनमोर्चाले समानुपातिकबाट २ सिट पाउने भएको हो । भने, मनाङ १ (२) बाट स्वतन्त्र सांसद बनेका राजीव गुरुङ नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेसँगै गण्डकी प्रदेश सभामा सो पार्टीको पनि उपस्थिति हुने भएको हो । 

समानुपातिक सिट बाँडफाँट गरे पनि निर्वाचित सांसदको टुंगो भने लागेको छैन । समानुपातिक सांसद निर्वाचित भएपछि प्रदेशसभा बैठक सुरु हुन्छ । संसद् चल्नुअघि सांसदहरूको सपथ हुन्छ । 


Author

थप समाचार
x