राजनीति

कास्कीमा ९१ मध्ये ३६ उम्मेदवारले बुझाए खर्च विवरण

धनबहादुर गुरुङ |
मंसिर २२, २०७९ बिहीबार ११:३१ बजे

पोखरा - कास्कीमा प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारले खर्च विवरण बुझाउन सुरु गरेका छन् । बुधबार साँझसम्म कास्कीका ९१ उम्मेदवार मध्ये ३६ जनाले निर्वाचन कार्यालय कास्कीमा विवरण पेस गरेका हुन् ।

मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा ३ प्रतिनिधि र ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको यहाँ प्रदेशतर्फ ४५ र प्रतिनिधितर्फ ४६ जना चुनावी मैदानमा थिए । विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारी दिने मध्येबाट निर्वाचनको मतपरिणाम सकिएसँगै कास्की १ बाट एमालेका मनबहादुर गुरुङ, २ बाट विद्या भट्टराई र कास्की ३ बाट दामोदर पौडेल बैरागी निर्वाचित भए भने प्रदेशतर्फ एमालेका ४ र कांग्रेसका २ जना उम्मेदवार विजयी भए । विजयी भएको खुसीयाली साट्दै गर्दा निर्वाचन आयोगले भने निर्वाचनमा गरिएको खर्च विवरण बुझाउन ताकेता गरिरहेको छ । 


निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिइसकेको छ ।

जसअनुसार कास्की २ को ८ गते, क्षेत्र नम्बर १ को ९ गते र ३ को १० गते अन्तिम मतपरिणाम सार्वजनिक भएको हो । अब सम्बन्धीत निर्वाचन क्षेत्रका उम्मेदवारहरूले पुषको १० गते भित्र खर्च विवरण पेस गरिसक्नुपर्ने प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले जानकारी दिए । 

निर्वाचन कार्यालय कास्कीमा खर्च विवरण बुझाउनेहरूमा ४ जना विजयी भएका उम्मेदवारहरू छन् । जसमा कास्की १ बाट प्रतिनिधि सभा निर्वाचित मनबहादुर गुरुङ, सोही क्षेत्रको प्रदेश १(१) का खगराज अधिकारी १(२) का बेदबहादुर गुरुङ र कास्की २(२) बाट विजयी भएका विन्दुकुमार थापाले निर्वाचन आयोगमा खर्च विवरण पेस गरेका छन् । यो विवरण बुधबार साँझसम्मको हो । 

यता, निर्वाचन आयोगले भने उम्मेदवारहरूलाई खर्च विवरण बुझाउन ताकेता गरिरहेको छ । आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस गर्न निर्देशन दिँदै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र पेस गरेका उम्मेदवारले विवरण उपलब्ध गराउन भनेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७२ को उपदफा ४ अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ४ बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने हुन्छ । 

समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३४ र प्रदेशसभा सदस्यका लागि प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३६ बमोजिमको ढाँचामा आयोगमा पेस गर्नुपर्नेछ । 

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा ठाउँ अनुसार २५ देखि ३३ लाखसम्म र प्रदेशमा १५ लाख देखि २३ लाख सम्म खर्च गर्न पाउने सिमा तोकिएको छ । अघिल्ला निर्वाचनमा खर्च विवरण पेस नगरेपनि कुनै कारवाही नगर्ने आयोगले बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनपछि भने कडाई गरेको छ ।

स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने धेरै कारवाहीमा परेको प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले जानकारी दिए । स्थानीय तहका उम्मेदवारहरूलाई कारबाही गरेपछि प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरू सचेत बनेको उनको भनाइ थियो । 
 
 


Author

थप समाचार
x