राजनीति

निर्वाचन प्रक्रिया पूर्ण नभएसम्म आचारसंहिता जारी रहन्छः आयोग

इकागज |
मंसिर १८, २०७९ आइतवार १७:५२ बजे

काठमाडौँ- निर्वाचन आयोगले पूर्ण रूपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता लागू हुने बताएको छ ।

आयोगले आचारसंहिताको कार्यान्वयनका सम्बन्धमा कानुनले स्पष्ट रूपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने र आचारसंहिता निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक नभएसम्म जारी रहने बताएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले तोकेको समयबाट आचारसंहिता लागू भएको र आचारसंहिता निर्वाचनको सम्पूर्ण मत परिणाम नआएसम्म रहने स्पष्ट पारे ।


उनले समानुपातिक निर्वाचन प्रणालीको मतगणना अहिले जारी रहेकाले आचारसंहिता जारी रहने बताए । अर्यालले समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतहरूको टुंगो लागिसकेपछि मतहरूको हिसाब गरेर दलहरूलाई पत्र लेख्ने र दलहरूले प्राप्त सिट संख्या मध्येबाट वर्ग समूह मिलाएर बन्दसूची भित्रबाट सांसदको नाम पेस गर्नुपर्ने उल्लेख गरे ।

उनले निर्वाचन प्रक्रियाको सम्पूर्ण काम सकिसकेपछि आयोगले राष्ट्रपति समक्ष निर्वाचनको अन्तिम परिणाम बुझाउने र निर्वाचन परिणाम सार्वजनिक गर्ने बताए । 


Author

थप समाचार
x