राजनीति

प्रतिनिधि र प्रदेश सभा निर्वाचनको परिणाम मुलुकका लागि हितकर छैन : तिमिल्सिना

इकागज |
मंसिर १७, २०७९ शनिबार १४:२७ बजे

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणाम सुखद नरहेको टिप्पणी गरेका छन् ।​

दलहरू माथि नै प्रश्न उठ्ने गरी निर्वाचनको परिणाम आउनु मुलुकका लागि हितकर नभएको उनको भनाइ थियो । शनिबार ललितपुरमा आयोजित ‘जापानः विगत, वर्तमान र भविष्य’ विषयक एक दिने सेमिनारमा बोल्दै अध्यक्ष तिमिल्सिनाले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउनका लागि दलहरू बलियो हुनुपर्ने उल्लेख गर्दै त्यस काममा लाग्न बौद्धिक समुदायलाई आग्रह समेत गरे ।


उनले सचेत समुदायले दलहरूलाई सच्याउन सके मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउने गरी विकास, निर्माणको कामले गति लिने पनि स्पष्ट पारे । अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरूलाई सच्चिन पनि पटक-पटक ध्यानाकर्षण गराए ।

अध्यक्ष तिमिल्सिनाले जापानले विकासको क्षेत्रमा चमत्कार देखाएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाल पनि अघि बढ्न ढिलाइ गर्न नहुने बताए । त्यस अवसरमा उनले जापानले नेपालको विकासमा पुर्‍याउँदै आएको सहयोगको खुलेर प्रशंसा समेत गरे ।


Author

थप समाचार
x