राजनीति

'भोजपुरबाट बाँदर मार्ने आन्दोलनको नेतृत्व गर्छु, जेल हाले जान तयार छु'

अतिन आचार्य |
मंसिर १२, २०७९ सोमवार १४:४८ बजे

काठमाडौँ- भोजपुरबाट नवनिर्वाचित सांसद नेकपा (माओवादी केन्द्र)का सुदन किराँतीले स्थानीय मतदातालाई जस्तापाता वितरण गरे । निर्वाचनको अन्तिम मत परिणाम बिहीबार साँझ सार्वजनिक भएसँगै उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै भोजभतेर र विजय जुलुस निकाल्ने पैसाले फुसको घर भएका जनताको घरमा जस्ता लगाइदिने बताएका थिए ।

'विजयको नाममा गरिने भोज भतेर जस्ता फजुल खर्चले दुई घर परिवारको चुहुने फुसको छानो हटाई जस्तापाता हालिदिएर हाम्रो अभियानको आरम्भ गर्नेछु,' उनले विजय भएपछि जनतालाई धन्यवाद ज्ञापन गर्दै थिए, 'जिन्दावाद ! र मुर्दावाद ! को नारा लगाउँदै समय, शक्ति र सम्पति खर्च गरेर विजयसभा नगर्ने निर्णय गरेको छु ।'


उनले षडानन्द नगरपालिका १० का अभिभावकविहीन बालकहरूलाई खाद्यान्नसहित अन्य सामग्री सहयोग गरेका छन् । आफू गाउँ डुल्ने जनप्रतिनिधि भएकाले गाउँको दुःख र अभाव नजिकबाट देखेका उनी बताउँछन् । 

मतदाताको घरदैलो अभियानमा देखेको दुःखलाई केही हदसम्म भए पनि समाधान गर्ने प्रयास गरेको उनकाे भनाइ छ । 'बाबा क्यान्सरले बित्नु भएको र आमा बेपत्ता हुनु भएको रहेछ । अरू अभिभावक पनि कोही रहेनछन्,' उनले भने, '६८ हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरे । उनीहरू विद्यालय पनि पालैपालो जाँदा रहेछन् । म निर्वाचित भएको दुःखमा परेकालाई सहयोग गर्न हो ।'

निर्वाचित भइसकेपछि भोजपुर र काठमाडौँलाई जोड्ने पहिलो प्राथमिकतामा राखेको किराँतीले बताए । 'काम पर्दा काठमाडौँमा बस्छु । काम सकिएपछि भोजपुर फर्कन्छु,' उनले थपे ।

माओवादीका अन्य नेताभन्दा पनि भिन्न प्रकृतिका छन् । किराँती यसअघि निर्वाचित भए पनि उनले गाउँमा बढी बसोबास रहन्थ्यो । गाउँ र जनताको विकास नभएसम्म राजनीतिले सार्थकता नपाउने उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको मतलाई लक्षित गर्दै किराँतीले जनताले भद्र शैलीमा विद्रोह गरिरहेको बताए । जनताले निर्वाचनमार्फत गरेको विद्रोहलाई सबैले बुझ्नुपर्ने समय आएको उनी बताउँछन् ।

'नागरिकले परिवर्तन खोजिरहेको अवस्थामा बुद्धि र विवेक फर्किएन भने हामीलाई भगवानलाई पनि बचाउन सक्दैनन्,' उनी आक्रोशित हुँदै भन्छन्, 'मैले पार्टीको केन्द्रीय कमिटीको बैठकमा विभिन्न समयमा आफ्नो विचार राखेको छु । सबैले परिवर्तन हुन जरुरी छ ।'

जनप्रतिनिधिले विचारलाई व्यवहारमा बदल्नुपर्ने किराँतीको ठहर छ । सबै राजनीतिक दलले विचारलाई व्यवहारमा लानुपर्ने उनले बताए । 'विचारलाई संस्कृति बनाउनुपर्छ,' उनले थपे ।

भोजपुरलाई मात्र नबदलेर देशको सम्पूर्ण अवस्था बदल्नु पर्ने खालको ऐन बनाउनुपर्ने उनले बताए । उनले नेपालमा भौतिक विकासको कुरा गलत रहेको सुनाए । 'शिक्षा, स्वास्थ्य र कृषिमा सुधार ल्याउन नयाँ ऐन बनाएर जानुपर्छ,' उनले संसद्‍मा गएर गर्नुपर्ने प्राथमिकतासहित सुनाए, 'जनताको भावना र समस्या सुनेर संसद्‍मा कुरा उठाइ रहन्छु ।'

पहाडी जिल्लाको प्रतिनिधित्व गर्ने प्रतिनिधि भएकाले विकासको दृष्टिकोणले भोजपुर पछाडि छ । जनताको मुख्य समस्या बाटो, शिक्षा र स्वास्थ्य मात्र नभइ अन्य समस्यासमेत छन् ।

किराँतीले नजिकबाट भोजपुरका किसानको दुःख देखेका छन् ।​ जंगली जनावर बाँदरले सबैभन्दा बढी दुःख दिएको उनले बताए । यस क्षेत्रमा सरकारले बाँदरलाई नियन्त्रण गर्ने कार्यक्रम र अभियान चलाउनु पर्ने उनको भनाइ छ । संसद्‍मा पटक-पटक बाँदर नियन्त्रणको कुरा उठाएको उनले स्मरण गराए ।

बाँदरले दिएको दुःख विभागीय मन्त्री र सरकारलाई पटक-पटक ध्यानाकर्षण गराएको किराँतीले बताए । 'प्रधानमन्त्री, वनमन्त्री र गृहमन्त्रीलाई सुनाए । अब फेरि गएर संसद्‍मा कुरा उठाइ बाँदर नियन्त्रणका लागि बनाउनका लागि आवाज उठाउछु,' उनले भने, 'कतैबाट समस्याको समाधान नभएमा हाम्रो जिल्लाबाट बाँदर मार्ने किसान आन्दोलन चल्छ । यसको नेतृत्व म गर्छु, राज्यले जेल हालेमा बाँदर मारेर जेल जान्छु ।'

पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै  किराँती भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा विजयी भए । उनले शेरधनलाई २ हजार ३८५ मतले पराजित गरेका हुन् । किराँतीले २८ हजार ५७८ मत प्राप्त गर्दा राईले २६ हजार १९३ मत प्राप्त गरेका छन् ।

किराँती २०६४ साल र २०७४ सालमा पनि निर्वाचित भएका थिए । उनै किराँतीलाई राईले २०७० सालको संविधानसभा निर्वाचनमा भने पराजित गरेका थिए । 

 

 

 

 

 

 

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x