राजनीति

सहयात्रीसँगै भिड्दा महिन्द्रले यसपटक रचेको अर्को इतिहास

इकागज |
मंसिर १०, २०७९ शनिवार २१:३६ बजे

काठमाडौँ- राजनीतिमा कहिलेकाही नसोचेको पनि हुँदोरहेछ । कुनै बेला एउटै पार्टीमा रहेका सहकर्मी नै प्रकारान्तरणले एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आइलाग्छ । मधेस केन्द्रित राजनीति गर्दै आएका महिन्द्रराय यादव र राजेन्द्र महतोको हकमा पनि त्यस्तै भएको छ । प्रतिनिधिसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा तराई मधेसमा यी दुई नेता एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धीका रूपमा खडा भएका थिए ।

सद्भावना पार्टीबाट राजनीति सुरु गरेका महतो र कम्युनिष्ट पार्टीबाट अगाडि बढेका यादव कुनै समय एउटै पार्टीमा आबद्ध थिए । घटनाक्रमले उनीहरूलाई एकै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनुपर्ने अवस्था सिर्जना गरिदियो । त्यसमा यसपटक यादवले आफूलाई श्रेष्ठ साबित गरेर जित निकाले । तत्कालीन राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका छ सदस्यमध्ये उनीहरू दुवै थिए । प्रकारान्तरणले सो पार्टी विभक्त भयो । जनता समाजवादी पार्टीका रूपमा नेपाली राजनीतिमा अगाडि बढिरहँदा यादवले डा बाबुराम भट्टराई र उपेन्द्र यादवलाई साथ दिए । महतो भने तराई मधेसका अर्का नेता महन्थ ठाकुरसँगै रहे ।


पछिल्लो पटक उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा विवाद सुरु भएपछि महिन्द्रले डा भट्टराईसँगै रहने निर्णय गरे । यस पटकको निर्वाचनमा डा भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि नेकपा(माओवादी केन्द्र)को निर्वाचन चिह्न हँसिया हथौडालाई नै रोज्यो ।

सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी थियो । त्यस पार्टीका नेता थिए महतो । यता यादव पनि नेपाल समाजवादी पार्टीका तर्फबाट भएपनि वाम–लाकतान्त्रिक गठबन्धनमा आबद्ध थिए । जनतामा मत माग्न जाँदा प्राप्त हुने नतिजालाई स्वीकार गर्नुको विकल्प छैन । यस्तै भयो महतो र यादवका हकमा पनि ।

हँसिया हथौडा चिह्नमा सर्लाही क्षेत्र नं २ बाट उम्मेदवार रहेका यादवले २३ हजार पाँच सय २९ मत प्राप्त गरी विजयी भए । उनले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता महतोले २१ हजार पाँच सय १८ प्राप्त गरे । यसअघि विसं २०७४ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि यादवले सर्लाही क्षेत्र नं २ बाटै विजयी भएका थिए ।

यादवले २०५१ को निर्वाचन र २०५६ मा नेकपा(एमाले)बाट सर्लाहीबाटै निर्वाचित भएका थिए । विसं २०६४ को संविधानसभा सदस्यमा यादवले सर्लाहीबाट निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा पनि उनी सर्लाही क्षेत्र नं ४ बाट विजयी भएका थिए ।

उनले विसं २०५४ मा राज्यमन्त्री, २०६४ सालमा सिँचाइ मन्त्री, २०६७ मा उद्योगमन्त्री र पछि सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । कृषि र अर्थतन्त्रमा विशेष रुचि रहेको यादवले राजनीतिक आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासत र थुनामा परेका छन् । वसन्तपुर सर्लाही स्थायी ठेगाना रहेको उनले पिछडिएको समुदाय र अल्पसङ्ख्यकको अधिकारका लागि लडिरहने नेताका रूपमा आफूलाई परिचित गराएका छन् । उनले राज्यका तर्फबाट संविधानसभा पदक प्राप्त गरेका छन् । 


Author

थप समाचार
x