राजनीति

गण्डकीबाट केन्द्रमा दोहोरिन खोज्ने ६ जना असफल

धनबहादुर गुरुङ |
मंसिर १०, २०७९ शनिवार १९:४६ बजे

पोखरा- गण्डकी प्रदेशमा प्रतिनिधि सभातर्फ १८ सिट छ । मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतपरिणाम अनुसार १८ मध्ये १७ सिटको टुंगो लागेको छ । स्याङ्जा २ बाहेक अन्य क्षेत्रको नतिजा आइसकेको हो । टुंगो लागेको सिट मध्ये ४ जना २०७४ सालकै निर्वाचनमा जितेको क्षेत्रबाट दोहाेरिएका अनुहार छन् । 

२०७४ को चुनावमा नेकपा (एमाले) ले १३, नेकपा (माओवादी केन्द्र) ३, नेपाली कांग्रेस, तत्कालीन नयाँशक्ति पार्टीले १/१ सिट जितेका थिए । निर्वाचित १८ जनामध्ये ११ जनाले यो पटक पनि पहिले जितेकै क्षेत्र राेजेर दोहोरिने दाउ हेरिरहेका थिए । तर, गण्डकी प्रदेशबाट पुनः सोही क्षेत्रमा दोहोरिन चाहने ६ जनालाई मतदाताले पत्याएनन् । 


२०७४ सालमा जितेकै क्षेत्रबाट टिकट लिएर यो पटक पनि सफल हुनेमा कांग्रेसका डा. शशांक कोइराला, एमालेका पदम गिरी र विद्या भट्टराईसँगै माओवादी केन्द्रका देवेन्द्र पौडेल छन् । स्याङ्जा क्षेत्र २ बाट दोहोर्‍याएर उम्मेदवारी दिएकी एमालेकी पद्या अर्यालको क्षेत्रमा गणना सुरु भइसकेको छैन । यी बाहेक लमजुङबाट माओवादी केन्द्रका महासचिव देव गुरुङ, एमालेबाट बागलुङ १ मा डा. सूर्य पाठक, मुस्ताङमा प्रेम तुलाचन, मनाङमा पोल्देन छोपेन गुरुङ, स्याङ्जा १ मा नारायण मरासिनी र नवलपुर २ मा तिलकबहादुर महत क्षत्री पराजित भए ।

एमालेका उपमहासचिव पृथ्वीसुव्बा गुरुङले माओवादीका महासचिव देव गुरुङलाई संसद छिर्न रोकेका हुन् । बागलुङका डा. सूर्य पाठक पनि दोस्रो पटक प्रतिनिधि सभा सदस्य बन्न पाएनन् । उनलाई राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले पछि पारे । २०७४ मा मनाङ र मुस्ताङबाट एमालेका सांसद पोल्देन छोपाङ गुरुङ र प्रेम तुलाचन पनि रोकिए । मनाङका गुरुङलाई अघिल्लो पटककै प्रतिस्पर्धी कांग्रेसका टेकबहादुर गुरुङले पछि पारेका हुन् । मुस्ताङका प्रेम तुलाचनलाई पुराना प्रतिस्पर्धी रोमी गौचन थकालीका छोरा योगेशले बदला लिए । 

स्याङ्जा १ मा यसअघि निर्वाचित एमालेका नारायण मरासिनीलाई पुरानै प्रतिस्पर्धी कांग्रेसका राजु थापाले पराजित गरे । नवलपुर २ का तिलबहादुर महतो क्षत्रीलाई यसपालि पुराना प्रतिस्पर्धी विष्णुकुमार कार्कीले बदला लिए । प्रतिनिधि सभा सदस्यमा गण्डकीबाट कांग्रेसले विगतमा १ मात्र सिट जितेकोमा यसपालि ९ सिट जित्न सफल भयो । एमालेले ५, माओवादीले २ र जनमोर्चाले १ सिट जितेका छन् ।


Author

थप समाचार
x