राजनीति

शीर्ष नेतालाई ‘स्वतन्त्र’को घेराबन्दी : केपी ओलीको क्षेत्रमा मात्रै एक दर्जन

एकै क्षेत्रमा २१ सम्म स्वतन्त्र उम्मेदवार

उपेन्द्र अर्याल |
कात्तिक ३०, २०७९ बुधवार १३:५० बजे

काठमाडौँ– गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको जितले एक किसिमको उत्साह दिएको थियो । त्यसकै कारण आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिनेको संख्या बाक्लो छ ।

काठमाडौँमा स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका बालेन शाहको जितपछि स्वतन्त्र लड्ने युवकयुवतीको मनोबल पनि बढेको छ । यसैले काठमाडौँमा स्वतन्त्र उम्मेदवारी दिनेको संख्या उल्लेख्य छ । यसरी झट्ट हेर्दा उपत्यकामा स्वतन्त्रको जमात ठूलै होला कि भन्ने पनि लाग्छ । तर काठमाडौँमा भन्दा मधेश प्रदेशको धनुषामा सबैभन्दा धेरै स्वतन्त्र सांसदका आकांक्षी देखिएका छन् । निर्वाचन आयोगमा उपलब्ध तथ्यांकअनुसार प्रतिनिधिसभा सदस्यका लागि धनुषा–३ र ४ बाट सबैभन्दा धेरै स्वतन्त्रहरूको उम्मेदवारी परेको छ । यी दुई क्षेत्रमा समान २१–२१ उम्मेदवारले संघीय सांसद बन्न उम्मेदवारी दिएका छन् । यहीँ धनुषा–१ मा पनि स्वतन्त्रको संख्या कम छैन । यो क्षेत्रबाट पनि १७ जनाले उम्मेदवारी दिएका छन् । 


सिराहा–२ बाट १५ जनाले स्वतन्त्रमै उम्मेदवारी दिएका छन् । यसबाहेक काठमाडौँबाट स्वतन्त्र उम्मेदवारी दिने संख्या पनि धेरै नै छ । काठमाडौँ–७ बाट १६ जनाले उम्मेदवारी दिएका छन् भने काठमाडौँ–४ र ५ मा समान १४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । शीर्ष नेताहरूका क्षेत्रमा पनि थुप्रै स्वतन्त्र उम्मेदवारी परेको छ । एमाले अध्यक्ष केपी ओलीको क्षेत्र झापा–५ बाट १२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको क्षेत्र रौतहट–१ बाट ९, कांग्रेस सभापति शेरबहादुर देउवाको क्षेत्र डडेल्धुराबाट ४ जना र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको क्षेत्र गोरखा–२ बाट २ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

१ सय ६५ निर्वाचन क्षेत्र मध्ये करिब ५ क्षेत्रमा मात्र स्वतन्त्रको उम्मेदवारी परेको छैन । यसबाहेकका अन्य क्षेत्रहरूमा भने एक भन्दा बढी उम्मेदवार चुनाव लड्दै छन् । तर, स्वतन्त्रको यो लहरसँगै मतदाता भने अन्योलमा परेका छन् । दलहरूबाट दिक्क भएका मतदाता नयाँ उम्मेदवारको खोजीमा छन् । तर, उनीहरूले स्वतन्त्रको भीडमा कसलाई मत दिने भन्ने ठम्याउन नसकेको बताउँछन् ।

काठमाडौँ–४ नक्सालका किरण प्रधान यसपटक नयाँ उम्मेदवारलाई मत हाल्न चाहन्छन् । तर स्वतन्त्रहरू धेरै भएकाले आफूले कसलाई मत दिने अहिलेसम्म अनुमान गर्न नसकेको बताए । ‘एमाले वा कांग्रेस यी सबैलाई मत दिएर हेरियो,’ उनले भने, ‘तर कुनै पनि दलका उम्मेदवारले जितेपछि फर्केर आएनन् । यसपटक स्वतन्त्रलाई मत दिने सोच बनाएको छु । तर एकैपटक १४ जनाले उम्मेदवारी दिएछन् । कसलाई दिने अलमलमा छु ।’ यसरी एकैपटक धेरै उम्मेदवार उठ्नुभन्दा पनि स्वतन्त्र मिलेर एक जना उठेको भए मतदातालाई सजिलो हुने उनको भनाइ छ । 

काठमाडौँ–१ अनामनगरका हरि सिग्देलले पनि स्वतन्त्रहरूको संख्या धेरै भएकाले मत दिन अन्योल भएको बताए । उनले स्वतन्त्रहरू धेरै भएकाले उनीहरूको मत बाँडिएर पुरानै दलले जित्ने बताए । 

राजनीतिक इतिहासकार राजेश गौतम पनि यो पटकको चुनावमा स्वतन्त्र उठ्ने लहड देखिएको बताउँछन् । यसले पुराना नेता र दलको विकल्प बन्ने दाउमा उम्मेदवारी दिए पनि एकै क्षेत्रबाट धेरै स्वतन्त्र उठ्दा पुराना दललाई नै फाइदा पुग्ने उनको आँकलन छ । ‘स्वतन्त्र उम्मेदवारी दिन सबैलाई छुट छ,’ उनले भने, ‘तर अहिले जुन किसिमको उम्मेदवारी आएको छ । यो एक प्रकारको लहड जस्तो मात्र देखियो । एउटा क्षेत्रबाट एक जना उठेको भए उनीहरूले पुराना दलका नेतालाई चुनौती दिन सक्थे । तर, एकै क्षेत्रबाट २१ जनासम्म उठ्दा उनीहरूको मत बाँडिन्छ । त्यसैले पुरानै दलका उम्मेदवारलाई सजिलो हुन्छ ।’ 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x