राजनीति

विवेकशील साझा त्यागेका पाठक भन्छन्– राजनीतिक मैदानमै छु, कहाँ जाने निर्क्यौल भइसकेको छैन

इकागज |
असोज १७, २०७९ सोमबार १७:५५ बजे

काठमाडौं- विवेकशील साझा पार्टीका पूर्वप्रवक्ता शरदराज पाठकले पार्टी परित्याग गरेका छन् । पाठकले सोमबार पार्टीको सदस्यसमेत नरहने गरी अध्यक्ष समीक्षा बास्कोटासमक्ष राजीनामा दिएका हुन् । 

उनले पार्टीका सम्पूर्ण साथीहरुलाई शुभकामना दिँदै आफू पार्टीबाट बिदा भएको बताए । ‘साथीहरु पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन खोज्दै हुनुहुन्छ । आगामी दिनका लागि शुभेच्छासहित मैले उहाँहरूसँग  बिदा मागेँ,’ उनले भने । 


दल त्यागे पनि आफू राजनीतिक मैदानमै रहिरहने उनले इकागजसँग बताए । तर, अब कुन पार्टीबाट राजनीति गर्ने भन्ने चाहिँ आफूले निर्क्यौल गरिनसकेको उनले बताए । ‘म सक्रिय राजनीतिमै हुन्छु, तर के कहाँ हुन्छ, के हुन्छ भन्ने निर्क्यौल अहिले नै गरिसकेको छैन,’ उनले भने । 

विवेकशील स्रोतका अनुसार उनी राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा प्रवेश गर्दैछन् । पाठक २०७४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन– ३ बाट उम्मेदवार बनेका थिए । 

पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले साझा छाडेर राप्रपा प्रवेश गरेपछि पार्टी परित्याग गर्नेको लर्को लागेको छ । आइतबार मात्र ३५ जना सदस्यले पनि पार्टीबाट राजीनामा दिएका थिए । 

यस्तो छ पाठकले बुझाएको राजीनामा पत्र:

श्री अध्यक्ष ज्यू, 
विवेकशील साझा पार्टी
वखुण्डोल, ललितपुर

विषय– पार्टीको सदस्य समेत नरहने गरी राजीनामा । 

महोदय,

२०७४ सालमा विवेकशील साझा पार्टी स्थापना पश्चात् विभिन्न नेतृत्वदायी जिम्मेवारी निर्वाह गर्दै आएकोमा म शरदराज पाठक आजको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी राजीनामा पेश गर्दछु।

विवेकशील साझा पार्टीबाट अलग हुँदै गर्दा यस पार्टीको तर्फबाट २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार रहँदा म र पार्टीप्रति आशा र विश्वाससहित मतदान गर्नुहुने सम्पूर्ण मतदातालाई पुनस् एक पटक हार्दिक धन्यवाद ज्ञापन गर्दछु। 

विवेकशील साझाबाट अलग भएतापनि विगत ५ वर्षमा हामीले प्रमुखताका साथ उठाएका अर्थ राजनीतिक तथा राजनीतिक सामाजिक एजेण्डा प्रवर्द्धन र स्थापित गर्न म आगामी दिनमा पनि सक्रिय राजनीतिक मैदानमै रहने कुरा यस पार्टीका सम्पूर्ण आदरणीय सहकर्मी, पूर्व सहकर्मी एवम् मेरा शुभेच्छुक र शुभचिन्तकहरूलाई जानकारी गराउँछु।

पछिल्लो ५ बर्षको अवधिमा मलाई विभिन्न चरणमा सहयोग गर्ने, अमूल्य सल्लाह–सुझाव प्रदान गर्ने सम्पूर्ण महानुभावहरूसहित यो पार्टीमा विभिन्न भूमिकामा रही नेतृत्व गरेका सहकर्मीहरू र सदस्यहरूप्रति आभार प्रकट गर्दछु।

विवेकशील साझा पार्टीलाई अघि बढाउन हाल प्रयासरत अध्यक्षसहित सबै मित्रहरूलाई सफलताका लागि धेरै शुभकामना व्यक्त गर्छु।  

शरदराज पाठक
कार्यसम्पादन समिति सदस्य र निवर्तमान प्रवक्ता
विवेकशील साझा पार्टी
१७ असोज, २०७९


Author

थप समाचार
x