राजनीति

नयाँले मौका पाउनुपर्छ भन्दै महराले समानुपातिक सूचीबाट आफूलाई हटाउन लगाए

इकागज |
असोज १७, २०७९ सोमबार १६:२८ बजे

फाइल फोटो

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नयाँलाई मौका दिने भन्दै आफ्नो नाम समानुपातिकको बन्द सूचीबाट हटाउन लगाएका छन् । महराकै आग्रहमा माओवादी केन्द्रले शनिबार उनको नाम बन्दसूचीबाट हटाएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । 

‘उहाँले नयाँलाई मौका दिनुपर्छ भनेर आफ्नो नाम हटाइदिन आग्रह गर्नुभयो,’ सचिव ढकालले इकागजसँग भने, ‘उहाँको इच्छाअनुसार उहाँको नाम सूचीबाट हटाइएको छ ।’ समानुपातिकको बन्द सूचीमा खस आर्य पुरुषबाट उनको नाम पहिलो स्थानमा थियो । 


महरा मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पा र दाङबाट प्रत्यक्षतर्फ पनि पहिलो नम्बरमै सिफारिस भएका थिए । तर, उनलाई माओवादीले समानुपातिकको सूचीमा राखेको थियो । पछिल्लो समय महराले सार्वजनिक रुपमा नयाँलाई मौका दिनुपर्छ भन्दै आइरहेका थिए । 

महरा विसं २०४८ सालसहित यताका सबै निर्वाचनमा विजयी भएका छन् । उनी २०४८ र २०७० सालमा रोल्पा तथा २०७४ सालमा दाङबाट महरा निर्वाचित भएका थिए । उनी पूर्वसभामुखसमेत हुन् ।


Author

थप समाचार
x