राजनीति

युग पाठकको चुनाव केन्द्रित ‘दार्शनिक ग्रन्थ’: विचारको खडेरी परेको समाजले सपना जगाउँदैन

कमल विष्ट |
असोज ८, २०७९ शनिवार १४:२० बजे

काठमाडौँ - आसन्न मंसिर ४ गते हुने चुनावमा झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका लेखक तथा पत्रकार युग पाठकले चुनावी घोषणा तयार पारेका छन् । ‘उत्स्रवण आन्दोलन र उम्मेदवारी’ शीर्षकको दस्तावेज औपचारिक रूपमा आज (शनिबार) सार्वजनिक हुँदैछ ।

पाठकले यसलाई घोषणा पत्र मात्र नभइ ‘दार्शनिक ग्रन्थ’ भनेका छन् । उनी झापामा ओलीविरुद्ध चुनावी मैदानमा उत्रिदैँछन् । ‘ग्रन्थमार्फत नेपाली समाज र संसारलाई एउटा दार्शनिक प्रस्तावना दिने मेरो कोसिस हो,’ उनले इकागज भने । 


उनले ग्रन्थ एउटा कविताबाट सुरु गरेका छन् । 

वर्तमान हराएको मान्छेको आत्मविश्वास हुँदैन
आत्मविश्वास नभएको समाजको आत्मसम्मान हुँदैन
आत्मसम्मान नभएको देशको कुनै सपना हुँदैन ।।

करिब ३४ सय शब्दको उक्त ग्रन्थमा उनले वर्तमान नेपालमात्र नभएर विश्व नै दार्शनिक संकटमा परिरहेको उल्लेख गरेका छन् । ‘उत्स्रवण आन्दोलनको पहिलो निष्कर्ष के हो भने मानव संसार आज दार्शनिक संकटमा छ । आसन्न विकास र प्रयोग भएका दार्शनिक प्रणालीहरू आजका ज्वलन्त समस्याहरू समाधान गर्न सक्षम छैनन्,’ दार्शनिक संकट शीर्षकको बुँदामा उनले लेखेका छन् । 

त्यस्तै, ‘आफ्नो वर्तमान, आफ्नो स्वत्व’ शीर्षकको बुँदामा उनले नक्कली राजनीतिका कारण नेपाल र विश्वले निकास नपाइरहेको बताएका छन् । ‘नक्कली विकासबाट जोगिन सक्कली विकास चाहिन्छ,’ दस्तावेजमा भनिएको छ, ‘नक्कली राजनीति र विकासको बोझले नेपाल थिलथिलो भएको छ । नेपाली जनता निराश छन् । यी बोझ, यी निराशाबाट बाहिर निस्कन नेपाली जनताले नयाँ विचार र नयाँ चेतनाको ज्योति खोजेका छन् ।’

उनले विकासलाई निकास दिनका लागि पुरानो विश्वदृष्टि बदल्न नयाँ विश्वदृष्टि आवश्यक रहेको बताएका छन् । र, नयाँ विश्वदृष्टिका लागि सिर्जनशील मस्तिष्कमा मात्र हुने उल्लेख गरेका छन् । ‘हामीले सिर्जनशील नभएर सोचेको कति भयो ?,’ उनको प्रश्न छ, ‘अरूजस्तै बन्ने होडमा आफ्नो वर्तमान गुमाएको कति भयो ? पुरानो विश्वदृष्टिको चक्रव्यूहमा परेर समाजको प्रयोगशील र स्वप्नशील चरित्र गुमाएको कति भयो ?’

ग्रन्थमा उनले आफ्नो उम्मेदवारीको रहस्य, चुनावी एजेन्डा, अभियान, वर्तमान तथा तत्कालीन राजनीति, नारालगायतबारे पनि प्रष्ट पारेका छन् । अन्त्यमा उनले झापालीहरूले आफूलाई जिताएर मानव जगतलाई एउटा उत्साहको सन्देश दिने आशा व्यक्त गरेका छन् । 

उनको दार्शनिक ग्रन्थको पूर्णपाठ
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x