राजनीति

निर्वाचनमा करिब ८ अर्ब खर्च गर्दै नेपाल प्रहरी

३५ देखि ७५ लाखसम्मका १८० गाडी खरिद गरिने

अतिन आचार्य |
असोज ३, २०७९ सोमबार ८:२९ बजे

काठमाडौँ- नेपाल प्रहरीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी करिब ८ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी, सवारी खरिद, भत्ता तथा र सञ्चारमा गरी कूल ७ अर्ब ८४ करोड ९० लाख ४९ हजार २ सय रुपैयाँ बजेट नेपाल प्रहरीले विनियोजन गरेको हो ।

नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले म्यादी प्रहरीका लागि ५ अर्ब,  ८६ करोड, ३९ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । म्यादी प्रहरीलाई तलब, भत्ता र रासन खर्च दिने व्यवस्था गरिएको उनले बताए ।


नेपाल प्रहरीले निर्वाचनका समयमा म्यादी प्रहरीलाई चार दिनका लागि दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ । उनले भने,' एक जना म्यादी प्रहरीले ५० हजार १६० रुपैयाँ तलब बढी पाउँछन् । हिमाली क्षेत्रमा खटिएका म्यादीले ज्याकेट र थप भत्ता पाउँनेछन् ।'

दुवै तहको निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी खटिने भएका छन् । मङ्सिर ४ गते हुने निर्वाचनमा स्थानीय निर्वाचनमा भन्दा बढि म्यादी प्रहरी थप गर्न लागेको छ ।

निर्वाचनमा विशेष सुरक्षाको व्यवस्था गराउन पनि प्रहरी पनि खटिने छन् । नेपाल प्रहरीको लागि मात्र १ अर्ब २२ करोड ५० लाख ३९ हजार २ सय रुपैयाँ खर्च गरिने उनले जानकारी दिए । सरकारले छुट्टयाएको बजेटबाट प्रहरीले आफ्ना लागि १ अर्ब २२ करोड रुपैयाँ बढी खर्च गर्ने भएको छ ।

प्रहरी नियमावलीमा उल्लेख भए अनुसार निर्वाचनमा खटिने प्रहरीलाई भत्ता दिने भएको छ । एक जिल्लाका प्रहरी अर्को जिल्लामा खटिने प्रहरीलाई १४ दिनको भत्ता, सम्बन्धित जिल्लाका लागि खटिने र कार्यालयमा रहेर सेवा गर्नेलाई ३ दिनको भत्ता उपलब्ध गराइने उनले बताए । 'नियमावलीमा उल्लेख भएबमोजिम भत्ता उपलब्ध गराइन्छ,' राईले थपे ।

निर्वाचन अवधिभर १४ सय सवारीसाधन लागि भने ७५ करोड रुपैयाँ खर्च छुट्याइएको प्रवक्ता राईले जानकारी दिए । १ सय ८० वटा सवारीसाधन खरिद गर्ने भएको छ । ३५ देखि ७५ लाख रुपैयाँ ननाघ्ने गरी सवारीसाधन खरिद गर्ने उनले जानकारी दिए ।

एक मतदान केन्द्रमा पाँच जना भन्दा बढी प्रहरी खटाइने राईले जानकारी दिए । म्यादी प्रहरी ९ जनाभन्दा बढी खटाइने उनले जानकारी दिए । सुरक्षाको दृष्टिकोणले निर्वाचन क्षेत्रलाई तीन तहमा विभाजन गरी सुरक्षा दिने उनले बताए ।

अति संवेदनशील, संवदेनशील र सामान्य निर्वाचन गरी विभाजन गरिएको छ । सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएको क्षेत्रमा बढी सुरक्षाकर्मी परिचालन गरिने उनी बताउँछन् । प्रहरीले बढी मतदाता र विगतमा भएका घटनालाई अध्ययन गरेर पनि बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको हो ।

तराईका जिल्लाका मतदान केन्द्रमा बढी सुरक्षाकर्मी परिचालन गरिने प्रवक्ता राईले इकागजलाई बताए । प्रत्येक मतदानको सुरक्षा व्यवस्था अनुसार सुरक्षाकर्मी थप गरिने उनले बताए ।

देशभरमा कुल १० हजार ८९१ मतदानस्थल छन् । प्रदेश १ मा १८९७, मधेश प्रदेशमा २१५६, बागमती प्रदेशमा १८१२, गण्डकी प्रदेशमा १२८३, लुम्बिनी प्रदेशमा १६४९, कर्णाली प्रदेशमा ९३३ र सुदुर पश्चिमा प्रदेशमा ११६१ मतदानस्थल छन् ।

त्यस्तैगरी, सातै प्रदेशमा गरी २२ हजार २२६ मतदान केन्द्र छन् । प्रदेश १ मा मतदान केन्द्र ४०९९, मधेश प्रदेशमा ४२३५, बागमती प्रदेशमा ४१४३, गण्डकी प्रदेशमा २३३९, लुम्बिनी प्रदेशमा ३८६१, कर्णाली प्रदेशमा १४०३ र सुदुर पश्चिम प्रदेशमा २१४६ मतदान केन्द्र छन् ।

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x