राजनीति

संस्थापन इतर कांग्रेसलाई एमाले अध्यक्ष ओलीको ढाडस

केन्द्रीय सभापतिले भनेपनि कांग्रेसका कार्यकर्ता चल्दैनन्

बाबुराम भण्डारी |
भदौ २५, २०७९ शनिवार २१:१५ बजे

विराटनगर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार विराटनगरमा आयोजित एउटा कार्यक्रममा कांग्रेसभित्रको संस्थापन इतरलाई ढाडस दिँदै अब सभापति देउवाले भनेर पनि कांग्रेसका कार्यकर्ताहरू नचल्ने बताएका छन् । उनले प्रचण्ड नाम गरेको अक्सिजन लगाएर देउवाले सरकार चलाइरहेको र त्यो सरकारले मुलुकमा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् ।

सभापति देउवाले कांग्रेसलाई एमालेसँग एक्लै चुनाव लड्न नसक्ने अवस्थामा पुर्‍याएको भन्दै कांग्रेस संस्थापन इतरलाई ओलीले उकासेका छन् । ‘आम नेता कार्यकर्ताहरूले कांग्रेस डुबाइरहेको हेरिरहन्छन्, त्यो कुराको भ्रम शेरबहादुर जीले नपाले हुन्छ, म सबै नभनौं, कंग्रेसजनलाई आफैँ थाहा छ,’ ओलीले भने, ‘दाजुपछि भाउजु, भाउजुपछि भतिजा रोलक्रम छ, श्री ३ हरूको जस्तै छ, केन्द्रीय सभापतिले भनेपनि कांग्रेसका कार्यकर्ता अब चल्दैनन्, शेरबहादुरजीले भ्रममा नपरे हुन्छ ।’ 


विराटनगरमा आयोजित एमाले निकट नेपाल बुद्धिजीवी परिषद् प्रदेश १ को पहिलो अधिवेशनलाई सम्बोधन गर्दै ओलीले कांग्रेस संस्थापन इतरलाई सान्त्वना दिन निकै बेर समय खर्चिएका थिए । उनले चन्द्र शमशेरले उन्मुलन गरेको सती प्रथालाई कांग्रेस सभापति देउवाले फेरि भित्र्याएको भन्दै व्यंग्य गरे । ओलीले अहिलेको सरकारको कुनै गन्तव्य नभएको दाबी गरे ।  ‘अहिलेको सरकार कसको नीतिमा चल्छ ? कांग्रेसको नीतिमा चल्छ ? चल्दैन, माओवादीको नीतिमा चल्छ त्यो पनि चल्दैन, माधव नेपालको नीतिमा चल्छ ? त्यो पनि होइन, उपेन्द्र यादवको नेतृत्वमा चल्छ ? त्यो पनि चल्दैन,’ उनले भने, ‘सारा कांग्रेस देउवाका लागि सती गइदिनुपर्ने, प्रचण्डका लागि सती गइदिनुपर्ने ?’

गठबन्धनका नाउँमा माधव नेपालले नक्कली सिंगौरी खेलिरहेको टिप्पणी गरे । उनले तत्कालीन मालेले प्राप्त गरेको चुनावी परिणामको प्रसंग कोट्याउँदै नेकपा एकीकृत समाजवादीलाई मालेकै हालतमा पुग्ने बताए । ‘कटौराको पानीमा छाल, माधव नेपालको पारा त्यै हो,’ ओलीले भने, ‘चुनावपछि गफ समाप्त हुन्छ ।’

ओलीले सरकारले नागरिकता विधेयकलाई जस्ताको तस्तै राष्ट्रपतिलाई पठाएर तनाव र पाखुराको राजनीति गरेको आरोप लगाए । उनले प्रचण्डको आदेशका रूपमा पठाइएको नागरिक विधेयकलाई राष्ट्रपतिले किन मान्नुपर्ने भन्दै प्रश्न गरे । ‘सरकारले तनावको विषय बनाउने, निहुँ खोज्ने, पाखुरा देखाउने काम गर्नु हुँदैन, जनताले नचिनेको कुनै बाउन्सर खोजेर ल्याएर तनाब बढाएर समस्याको समाधान हुँदैन,’ उनले भने, ‘प्रचण्डको आदेशमा राष्ट्रपतिले आदेश दिनुपर्ने हो ?, संसद्‍भन्दा बाहिर बसेर बाहिरै निर्णय गरेर छक्का हानेर प्रस्तावलाई बाहिर रिङ आउट गरिदिन्छौं भनेर उदण्डता देखाउने ?’

सत्ता पक्षले बेसोमत प्रस्तुत भएर अहंकारको भाषा बोलिरहेको बताए । संसद् तर्क र बहसले चल्नुपर्ने भन्दै विधिविधान नमिच्न चेतावनी दिए । सत्ता पक्षले नागरिकता विधेयकमा तनाव बढाएर कसैलाई आरोप लगाएर भ्रम फिँजाएर भोटको राजनीति गर्न खोजेको दाबी गरे ।

गत स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले धाँधली रोक्न नसकेको पनि ओलीले आरोप लगाए । उनले स्थानीय तह निर्वाचनमा आयोगले प्रशासनलाई आफ्नो हातमा लिएर निर्वाचन गराउन नसकेको भन्दै सिडिओले चुनाव गर्ने अवस्था अन्त्य गर्न आग्रह गरे ।

‘सिडिओले निर्वाचन संचालन गर्ने होइन, सत्ताको आदेश पालना गर्ने तरिकाले निर्वाचन कसरी सम्पन्न हुन्छ ?,’ ओलीले भने, ‘यस्ता दलहरू सत्तामा छन् मनपरी ढंगले राज्य संयन्त्रको दुरुपयोग गर्छन्, निर्वाचनलाई कसरी स्वच्छ निष्पक्ष बनाउन सकिन्छ, त्यतातिर ध्यान दिनुपर्छ ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x