राजनीति

कांग्रेसले ‘बाइ’ दिएमा लमजुङमा माओवादी र एमालेबीच भिडन्त, कसलाई कति चुनौती ?

कमल विष्ट |
भदौ २५, २०७९ शनिबार १९:३५ बजे

पाँच दलीय सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलले अझै सिटको टुंगो लगाउन सकेको छैन । पटक-पटकका बैठक निष्कर्षहीन भइरहेका छन् । सिट भागबण्डामा सहमति जुट्न नसके पनि आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि गठबन्धनमा सम्मिलित दलहरूले उम्मेदवार सिफारिसको कार्यलाई तीव्रता दिएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलहरूले पनि उम्मेदवार सिफारिसलाई तीव्र बनाएका छन् । 

एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङलाई निकै चासोसाथ हेरिएको छ । गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले लमजुङमा प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस गरेका छन् । 


कांग्रेसले जिल्ला सभापति डा. टकराज गुरुङ, पूर्वजिल्ला सभापति तुलसीनारायण श्रेष्ठ, संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, नेपाल सांस्कृतिक महासंघका अध्यक्ष तीर्थबहादुर थापा, विष्णुप्रसाद धिताल, यमबहादुर गुरुङ र डा. बासुदेव गिरी गरी ७ जनाको नाम सिफारिस गरेको छ । त्यस्तै, माओवादी केन्द्रले पार्टी महासचिव देव गुरुङ र केन्द्रीय सदस्य देवेन्द्र पराजुलीको नाम सिफारिस गरेको छ । 

माओवादीले पराजुलीको नाम सिफारिस गरे पनि महासचिव गुरुङले फेरि यहाँबाट टिकट पाउने पक्कापक्की जस्तै छ । पराजुलीको नाम विकल्पका रूपमा मात्र सिफारिस गरिएको माओवादीका एक नेता बताउँछन् । सत्तारुढ घटक कांग्रेसले ७ जनाको नाम सिफारिस गरे पनि गुरुङलाई उम्मेदवार बनाउने धेरैको आँकलन छ । यसरी हेर्दा गठबन्धनबाट गुरुङ उम्मेदवार बन्ने निश्चितप्रायः छ । 

यता, एमालेले पनि लमजुङमा जमिन्द्रमान घले र जिल्ला पार्टी सचिव सुभास पौडेललाई प्रतिनिधिसभा सदस्यका रूपमा सिफारिस गरेको छ । एमालेबाट घलेले टिकट पाउने सम्भावना अधिक रहेको विश्लेषण गरिएको छ  ।  

यसरी हेर्दा प्रतिनिधिसभाका लागि माओवादीका गुरुङ र एमालेका घलेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यसपटक एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पनि प्रतिनिधिसभा सदस्यमा उठ्ने चर्चा थियो । तर, उनलाई एमालेले यसपालि पनि लमजुङ ‘ख’बाट प्रदेशसभा सदस्यका लागि सिफारिस गरेको छ । 

कसलाई कति चुनौती ?

माओवादीबाट टिकट पाउने निश्चित जस्तै भएका गुरुङ २०७४ को प्रतिनिधिसभा निर्वाचनमा लमजुङबाट विजय भएका थिए । उनले ३९ हजार ४ सय ६८ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका दिलबहादुर घर्तीले ३१ हजार ३४ मत प्राप्त गरेका थिए । आफ्ना प्रतिद्वन्द्वी घर्तीलाई ८ हजार बढी मतले हराउनमा गुरुङलाई एमालेको ठूलो साथ थियो । त्यतिबेला गुरुङलाई जिताउनमा निर्णायक बनेको एमालेले यसपालि गुरुङलाई सहयोग गर्ने छैन । 

तर, गुरुङलाई माओवादीसहित पाँच दलको साथ रहनेछ । गठबन्धनको मुख्य ठूलो दल कांग्रेसले मात्र उसलाई पूर्ण रूपमा सहयोग गरेको खण्डमा उनको जित सुनिश्चित मान्न सकिन्छ ।  हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले वडागत रूपमा ४० हजार १ सय ९७ मत पाएको थियो । त्यसै, कांग्रेसले ३५ हजार २ सय ७६ र माओवादीले ६ हजार १ सय २७ प्राप्त गरेको थिए । एमाले पहिलो दल भए पनि माओवादी र कांग्रेसको मत जोड्दा गठबन्धन नै अगाडि देखिन्छ । 

एमालेबाट टिकट पाउने अधिक सम्भावना रहेका घलेलाई पनि माओवादी हराएर चुनाव जित्न सहज देखिँदैन । जिल्लाकै ठूलो दल भए पनि एमालेलाई पाँच दलीय गठबन्धनसँग जुध्न सजिलो छैन । एमालेले एकातिर पार्टी फुटले ल्याएको मार खेपिरहेको छ भने अर्कोतिर पाँच दलीय गठबन्धनको मार खेपिरहेको छ । 

त्यसो त एमालेले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, नेपाल परिवार दल लगायतसँग चुनावी तालमेल गर्ने चर्चा पनि चलिरहेको छ । उनीहरूबीच एकता भए घलेलाई जित्न सहज हुनेछ । 

माओवादी र एमाले दुवैको आ–आफ्नै दाबी

एमालेका लमजुङ इन्चार्ज तथा केन्द्रीय सदस्य मायानाथ अधिकारी आफ्नो पार्टीसँग प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई गरी तीनै सिट जित्ने बलियो आधार भएको बताएका छन् । पार्टी फुटेपछि केही साथीहरू बाहिरिए पनि त्यसले ठूलो फरक नपारेको अधिकारीको भनाइ छ । ‘सातै प्रदेशमध्ये गण्डकी प्रदेशमा पार्टी विभाजनको असर सबैभन्दा न्यून छ । लमजुङ जिल्लामा त अझ कम प्रभाव परेको छ,’ अधिकारीले इकागजसँग भने, ‘यसर्थ पार्टी विभाजनले हामीलाई दुई–तीन सय मतको मात्र क्षति भएको छ ।’

स्थानीय तह निर्वाचनमा पार्टीको आन्तरिक व्यवस्थापकीय कमजोरीका कारण केही सिट गुमाउनु परे पनि जिल्लामा अहिले पनि एमाले नै पहिलो दल भएको उनले दाबी गरे । एक्लाएक्लै आउँदा एमालेलाई कसैले पनि उछिन्न नसक्ने उनले बताए । उनले माओवादीका गुरुङ २०७४ को निर्वाचनमा एमालेको भोटकै कारण विजयी भएको बताए । ‘गुरुङले पाउनुभएको ३९ हजारमा ३२ हजार एमालेको हो । यसले प्रष्ट देखाउँछ कि यहाँ माओवादीको प्रभाव कम छ भनेर,’ उनले बताए, ‘गठबन्धनमा सम्मिलित राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीको प्रभाव सामान्य छ । हाम्रो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस हो ।’

उनले गठबन्धन मुलुकको विकास र नागरिकका समस्या समाधानका लागि नभएर एमालेलाई कमजोर पार्न मात्र भएको बताए । यो कुरा नागरिकले राम्रोसँग बुझेर उनीहरूले एमालेले नै भोट दिनेमा आफूहरू विश्वस्त रहेको उनको जिकिर छ । 

यता लमजुङका माओवादी जिल्ला इन्चार्ज पारसमणी पौडेल पनि आफ्नो पार्टीको जित सुनिश्चित रहेको दाबी गर्छन् । एमाले संविधान र लोकतन्त्रको पक्षमा नभएको कुरा नागरिकहरूले स्पष्टसँग थाहा पाइसकेकाले उसलाई भोट नदिने बताए । ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई–दुई पल्ट संसद् भंग गरेर संविधान कोल्याप्स गर्ने काम गर्नुभयो । यो कुरा नागरिकले राम्रोसँग बुझिसकेका छन्,’ इकागजसित पौडेलले भने, ‘हामी दश वर्षे जनयुद्धले स्थापित गरेका संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशीता लगायतका उपलब्धिलाई अझ बलियो रूपमा स्थापित गर्न सधैँ लागिपरेका छौँ ।’

उनले अगाडि भने, ‘एमाले यी उपलब्धिको विपक्षमा देखियो, विस्थापित गर्नतर्फ लाग्यो । तर, मुलुक हामीले स्थापित गरेको अजेन्डामा उभिएको छ । विभिन्न जातजाति, लिङ्ग र समुदायका पक्षमा हामीले सधैँ नारा लगाएका छौँ । त्यसैले जनताले हामीलाई विश्वास गर्नुहुन्छ । उहाँहरूले हामीलाई नै सहयोग गर्नुहुन्छ ।’


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x