राजनीति

कैलाली-५ : टिकट पाए आरजु देउवाले राेक्लिन् नारदमुनिलाई ?

इकागज |
भदौ २४, २०७९ शुक्रबार १८:२६ बजे

धनगढी- ​ मंसिर ४ मा हुने संघीय निर्वाचनका लागि कैलाली-५ बाट उम्मेदवारका लागि एमालेले नारदमुनि रानालाई एकल सिफारिस गरेको छ । वर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका रानाले २०७४ को निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्दै कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवालाई पराजित गरेका थिए ।

वाम गठबन्धनका साझा उम्मेदवार रानाले २०७४ को निर्वाचनमा आरजुभन्दा ४८ सय ८० मत ल्याएर विजयी भएका थिए । 


तर यसपटक नारदमुनिको चुनावी यात्रा २०७४ को भन्दा कठिन हुने देखिन्छ ।

यसपटक नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी प्रतिष्पर्धामा जाने सम्भावना बलियो बनेको छ । पाँच दलको साझा उम्मेदवारका रूपमा आरजु देउवा उम्मेदवार बन्ने पक्का जस्तै देखिन्छ । 

त्यसाे भएमा नारदमुनि रानालाई चुनाव जित्न कठिन हुन सक्दछ । स्थानीय तहको निर्वाचनमा कैलाली-५ बाट कांग्रेस,  माओवादी केन्द्र र एकीकृत समाजवादीको गरी ३२ हजार नाै सय ६० मत आएको छ । उक्त मत धनगढीका १९ वटै वडा र कैलारी गाउँपालिका वडा नम्बर ६ र ९ को बाट आएको हो । तीनै वडाबाट एमालेले भने १७ हजार चार सय एक मत मात्रै पाएको छ । यसरी हेर्दा एमालेभन्दा गठबन्धन दोब्बर मतले अगाडि देखिन्छ । यो मतान्तर घटाउनु नारदमुनिका लागि निकै चुनौतीको विषय हुने छ ।

कैलालीमा यसपटक नागरिक उन्मुक्ति पार्टीको प्रभाव राम्रो बन्दै गएको छ । स्थानीय तहको निर्वाचनले पनि त्यसलाई पुष्टि गर्दछ । कैलाली-५ बाट यसपटक संघीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका प्रभावशाली नेता लक्ष्मण चौधरीले चुनाव लड्ने घोषणा नै गरिसकेका छन् ।

२०७४ को निर्वाचनमा जेलबाटै उम्मेदवारी दर्ता गराएर चुनाव लडेका लक्ष्मण थारुले ६ हजार ४ सय ६४ मत ल्याएर तेस्रो बढी भोट पाउने उम्मेदवार बनेका थिए । यसपटक उनी खुला रूपमा निर्वाचनमा होमिँदै छन् । गाउँटोलसम्म चुनावी अभियानसहित हिँडेका लक्ष्मण थारुले यसपटक पहिलाको भन्दा धेरै भोट ल्याउने आकलन गरिएको छ । लक्ष्मण थारुले अधिकांश भोट राना चौधरी समुदायबाट पाउने आकलन गर्न सकिन्छ । 

कैलाली-५ मा नारदमुनि रानाको जित्ने आधार पनि राना चौधरी समुदायको भोटलाई मानिन्छ । लक्ष्मण थारु पनि सोही समुदायबाट उम्मेदवार बन्दा भोट बाँडिने सम्भावना प्रबल रहन्छ । त्यसैले नारदमुनिका लागि लक्ष्मण चौधरी ठूलो चुनौती बन्ने छन् । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलाली–५ मै पर्ने धनगढी उप महानगरपालिकामा यसपटक एमालेले निर्वाचित जनप्रतिनीधिको संख्या भने बढाएको छ ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकामा एमाले कमजाेर स्थितिमा देखिएको थियो । २०७४ मा एमालेले धनगढीका १९ वडामध्ये दुई वडा अध्यक्ष मात्रै जितेको थियो । तर यसपटक भने उपमेयरसहित ६ वडामा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादलाई नारदमुनि रानाले फाइदाका रूपमा लिन सक्ने आकलन गरिएको छ । कांग्रेसले कारवाही गरेका पुष्करनाथ ओझा स्वतन्त्र उम्मेदवार बन्ने चर्चा छ । यदि ओझा स्वतन्त्र उम्मेदवार बनेको खण्डमा कांग्रेसको मत विभाजन हुने देखिन्छ । 

त्यस्तो अवस्थामा एमालेको संगठित भोटसँगै राना थारु समुदायबाट बढी मत ल्याएर चुनाव जित्न सक्ने नारदमुनिको दाउ हुन सक्दछ । तर पुष्करनाथ ओझा स्वतन्त्र उम्मेदवार बनेमा नारदमुनिले पाउने केही भोट पनि कटौती हुन सक्छ । त्यसैले यसपटकको चुनाव जित्न नारदमुनि रानालाई फलामको चिउरा चपाउनुसरह हुने देखिन्छ । रानाप्रति एमालेभित्रै पनि असन्तुष्टि देखिन थालेको छ । उनले असन्तुष्ट समूहलाई व्यवस्थापन गर्न नसकेमा सोचेअनुसारको भोट नआउन पनि सक्दछ ।
 

स्थानीय तहको निर्वाचनमा प्रमुख दलले पाएको मत यस्तो छ

कैलाली-५ अन्तर्गत धनगढी उपमहानगरपालिकाका १९ वटै वडा र कैलारी गाउँपालिकाको ६ र ९ नम्बर वडा पर्दछन् । 

स्थानीय तहको निर्वाचनमा वडास्तरमा पाएको मतका आधारमा नेपाली कांग्रेस ठूलो पार्टी बनेको छ । कांग्रेसले धनगढीका १९ वडाबाट २० हजार सात सय २२ मत तथा कैलालीका दुई वडाबाट २०५४ गरी २२ हजार ७७६ मत पाएको छ ।

त्यसैगरी एमालेले धनगढीका १९ वटै वडाबाट १५ हजार नाै सय ९३ तथा कैलालीका दुई वडाबाट १४ सय आठ मत गरी १७ हजार ४०१ मत पाएको छ ।

माओवादी केन्द्रले धनगढीका १९ वडाबाट आठ हजार १७५ मत पाएको छ । सत्ता घटक एकीकृत समाजवादीले  वडास्तरबाट दुई हजार नाै मत पाएको थियो ।
 


Author

थप समाचार
x