राजनीति

झापा-१ मा कांग्रेस महामन्त्री शर्मालाई सकस : भिड्ने कि भाग्‍ने ?

उपेन्द्र अर्याल |
साउन २७, २०७९ शुक्रबार १८:४८ बजे

काठमाडौँ- निर्वाचन मिति घोषणासँगै दलहरू उम्मेदवार चयन प्रक्रियामा प्रवेश गरिसकेका छन् । उम्मेदवारी घोषणाको क्रम पनि सुरु भइरहेको छ ।

एमालेका नेताहरू चुनावी अभियान जुटिसकेका छन् भने गठबन्धनका नेताहरू सिट बाँडफाँटको सकसमा छन् । गठबन्धनका दलहरूले आन्तरिक रुपमा आफ्नो दाबी कहाँ र कति सिटमा रहने भन्ने अझै टुंगोमा पुर्‍याएका छैनन् ।


गठबन्धनको भागबण्डा नटुंगिएसँगै धेरै नेताहरू अप्ठेरोमा परेका हुन् । ती नेतामध्ये एक हुन्, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा । गठबन्धनबीच अघिल्लो निर्वाचनमा जसले जितेको हो, उही दललाई दिने आन्तरिक गृहकार्यसँगै शर्मा संकटमा परेका हुन् । उनले २०७४ को निर्वाचनमा झापा-१ बाट उम्मेदवारी दिएका थिए । उक्त निर्वाचनमा शर्मालाई हराउँदै माओवादीका नेता सुरेन्द्र कार्की (राम कार्की) विजयी भएका थिए । नेता कार्कीले ३६ हजार १ सय ७३ मत ल्याएर विजयी हुँदा शर्माले भने ३३ हजार ३ सय १९ मत ल्याएका थिए ।

२०७४ को निर्वाचनमा एमाले र माओवादीको बाम-गठबन्धनका साझा उम्मेदवार थिए, नेता कार्की । अहिले त्यो समीकरण फेरिएको छ । सम्भवतः यो क्षेत्रमा एमाले एक्लै लड्नेछ । कांग्रेस र माओवादी लगायत पाँच दलको बाम-लोकतान्त्रिक गठबन्धन बनेकाले यहाँ यसपालि गठबन्धनको साझा उम्मेदवार हुनेछन् ।

स्थानीय निर्वाचनमा गठबन्धनले गरेको निर्णयलाई हेर्ने हो भने जसले जहाँ जितेको छ, अर्कोले छाड्ने सहमति दलहरूबीच भएको थियो । यही आधारलाई लिएर गठबन्धनले सिट बाँडफाँट गर्दा महामन्त्री शर्माले नेता कार्कीलाई झापा-१ छाड्नुपर्ने देखिन्छ । तर, संघीय निर्वाचनमा सिट बाँडफाँडमा कुन किसिमको मोडालिटी अपनाउने गठबन्धनले अझै तय गरिसकेको छैन । 
तर, माओवादी नेता कार्की र कांग्रेस महामन्त्री शर्मा दुवैले झापा-१ बाटै उम्मेदवारी दिने इच्छा राखेका छन् । माओवादी नेता कार्कीले इकागजसँगको कुराकानीमा आफूले जितेको ठाउँमा स्वतः दाबी रहने बताए । ‘अघिल्लो चुनावमा यहीँबाट जितेको  हुँ । मेरो उम्मेदवारी यहीँबाट हुन्छ,’ उनले भने, ‘गठबन्धनले के निर्णय गर्छ त्यो पछि हेरौँला ।’

नेता शर्माले पनि केही समय अगाडि आफ्नो फेसबुकमा साहित्यकार बैरागी काइँलासँग आशीर्वाद लिएको फोटो पोस्ट गर्दै झापा-१ बाटै उम्मेदवारी दिने संकेत गरेका थिए । बैरागी काँइलाले केही समय अगाडि झापा-१ बाट भोट हाल्न मतदाता नामावली सारेको प्रसंग निकाल्दै उनले स्वागत गरेका थिए ।

‘यसपालि झापा-१ मा भोट हाल्नलाई काठमाडौँदेखि आफ्नै थातथलोमा नाम सार्ने भएँ है भतिज ! प्रसिद्ध साहित्यकार बैरागी काँइलाले दुई महिनाअघिको भेटमा भन्नुभएको थियो,’ उनले लेखेका छन्, ‘साथीहरूबाट खबर पाएँ उहाँले गत शुक्रबार आफ्नो सपरिवारको नाम झापा-१ को स्थायी ठेगानामा नामसारी गर्नुभएछ । यसपालि थुप्रै अग्रज र कयौं युवाले स्थायी ठेगानामा नामसारी गरिरहनु भएको छ । झापा-१ का तर्फबाट उहाँहरु सबैलाई स्वागत छ ।’

उनको यो स्ट्याटसले उनले यही क्षेत्रबाट उठ्ने तयारी गरिरहेको संकेत दिन्छ ।

स्थानीय निर्वाचनमा आएको मत परिणाम हेर्ने हो भने झापा-१ मा दुवै उम्मेदवारलाई जित निकाल्न कठिन देखिन्छ । यो चुनाव क्षेत्रमा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाका २ वटा वडा र बुद्ध शान्तिका ४ वटा वडा पर्छन् । मेचीनगरको मेयरमा एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकीले २६ हजार ४ सय ७८ मत ल्याएर जितेका थिए भने कांग्रेसका उम्मेदवार इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३ सय ११ मत मात्रै ल्याएका थिए । वडाको हिसाबमा पनि अधिकांशमा एमाले विजयी भएको देखिन्छ ।

बुद्ध शान्तिका ४ वटा वडामध्ये एमाले तीनमा विजयी भएको थियो भने कांग्रेसले एउटा वडामा मात्र जित निकालेको थियो । भद्रपुरका दुईटै वडा एमालेले नै जितेको थियो । यसरी स्थानीय निर्वाचनको मत परिणाममा एमाले बलियो देखिए पनि पछिल्लो समयमा विश्वप्रकाशको राजनीतिक कद बढेको अनुमान गरिएको छ र चुनावमा उनको व्यक्तित्वको पनि प्रभाव पर्ने आँकलन छ ।

भर्खरै पार्टीको महाधिवेशनबाट महामन्त्री चुनिएका शर्माप्रति युवा मतदाताको भरोसा बढ्दै गएको देखिन्छ । यद्यपि शर्मालाई एमाले हराएर जित निकाल्न सजिलो छैन भलै माओवादीको साथ किन नहोस् !


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x