राजनीति

उम्मेदवारी घोषणा गर्दै शाहीले भने– हारे हार्छु, तर चुनाव जन्मभूमि जुम्लाबाटै लड्छु

इकागज |
साउन २३, २०७९ सोमवार १५:४३ बजे

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले आफू पराजित भए पनि आफ्नै जन्मभूमि जुम्लाबाट चुनाव लड्ने बताएका छन् । सोमबार उम्मेदवारी घोषणाका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा उनले थुप्रै साथीहरुले काठमाडौं वा चितवनबाट चुनाव लड्न सुझाए पनि आफूले जुम्लाबाट मात्र लड्ने निर्णय गरेको बताएका हुन् । 

‘धेरै साथीहरुले मलाई भन्नुभयो– ज्ञानेन्द्र शाही काठमाडौं वा चितवनबाट चुनाव लड । चुनाव हारिन्छ जितिन्छ मेरो मलाई गुनासो छैन, तर म मलाई जन्म दिने र हुर्काउने जन्मभूमि जुम्लाबाट चुनाव लड्छु’ उनले भने । 


जुम्लाले अहिलेसम्म धेरै प्रतिनिधि पाए पनि जुम्लाको अवस्था ज्यूँका त्यूँ रहेको उनले बताए । 

सामाजिक अभियन्ताको छवि बनाएका शाही गत फागुनमा राप्रपा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेलगत्तै उनलाई प्रवक्तामा मनोनित गरिएको थियो । 
२०७४ को संघीय निर्वाचनमा यस ठाउँबाट नेकपा माओवादी केन्द्रका गजेन्द्र ‘कर्मा’ निर्वाचित भएका थिए ।


Author

थप समाचार
x