राजनीति

निर्वाचन सम्बन्धी कानुन संशोधन गर्नुपर्छ : थापा

इकागज |
साउन २३, २०७९ सोमवार १५:१० बजे

काठमाडौँ- नेकपा एमालेकी सांसद दिलकुमारी रावल थापाले निर्वाचन सम्बन्धी कानुन संशोधन गर्न माग गरेकी छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताइन् । उनले गणतन्त्र र संघीयतालाई बलियो बनाउनका लागि निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा जोड दिइन् । उनले निर्वाचन प्रणाली महँगो भएको भन्दै स्वच्छ, निष्पक्ष र सरल ढंगले निर्वाचन सम्पन्‍न हुनेगरी निर्वाचन सम्बन्धी कानुनलाई संशोधन गर्नुपर्ने उल्लेख गरिन् ।


सांसद थापाले संसद् जारी रहेको उल्लेख गर्दै चालू संसद्‍बाटै फास्ट ट्रयाकमा कानुन संशोधन गर्न सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराइन् ।

उनले निर्वाचनमा विद्युतीय मतदान प्रणाली लागू गर्न निर्वाचन आयोगलाई आग्रह गरिन् । भयरहित रुपमा निर्वाचन सम्पन्‍न गराउने गरी प्रवन्ध मिलाउन उनले आयोगको ध्यानाकर्षण गराइन् ।

सांसद थापाले भारतमा इन्धनको मूल्य घटेको भन्दै नेपालमा पनि इन्धनको मूल्य घटाउन सरकार समक्ष माग गरिन् । 


Author

थप समाचार
x