राजनीति

संसदीय समिति बैठक

सडक सीमाभित्र बनाइएका घर/टहरा तत्काल हटाउन सरकारलाई निर्देशन

इकागज |
साउन २३, २०७९ सोमबार १४:४४ बजे

फाइल तस्बिर

काठमाडौँ- संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरूसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट-मुग्लिन र मुग्लिन-पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिएकी हुन् ।


बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरूसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताइन् । उनले सडक सीमा अतिक्रमण गरी सडक सीमा भित्र बनाएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिइन् । सभापति खड्काले देशका मुख्य सडकहरुमा बाढी पहिरोको कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन पनि निर्देशन दिइन् ।

उनले राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय स्तरका सडकहरूको निर्माण तथा स्तर उन्नतीको काममा भइरहेको ढिलासुस्ती तथा न्यून कार्य प्रगतिलाई ध्यानमा राखि निर्माणाधीन नारायणघाट-मुग्लिन र मुग्लिन-पोखरा सडक स्तर उन्नतीको कार्य निर्धारित समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिइन् ।

सभापति खड्काले वातावरण, प्रविधिमैत्री र गुणस्तरीय विकास निर्माणसहित दीर्घकालीन समाधानसहितको विकास निर्माणको विषयमा तत्काल अध्ययन गरी कानुन ल्याउन सरकारलाई निर्देशन दिइन् । 


Author

थप समाचार
x