राजनीति

कतारमा प्रहरी भर्नाको मागका बारेमा सरकारलाई कुनै जानकारी छैनः मन्त्री कुँवर

इकागज |
साउन १६, २०७९ सोमवार १६:४८ बजे

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले दक्ष सीप भएका जनशक्तिलाई मात्र वैदेशिक रोजगारमा पठाउनुपर्ने बताएका छन् । 

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा दक्ष सीप हासिल नगरि जाँदा बैदेशिक रोजगारका क्रममा दुख पाउने क्रम बढेको भन्दै सीप भएका जनशक्तिलाई मात्र पठाउनुपर्ने बताएका हुन् । 


त्यस्तै उनले कतारमा प्रहरी भर्नाको मागका बारेमा सरकारलाई कुनै जानकारी नभएको जिकिर गरे । श्रम बजार खुल्ला गरेपछि यस क्षेत्रलाई पनि प्रभावकारी बनाउनुपर्ने उनको भनाई छ । मन्त्री कुँवरले नेपालमा नै बाहिर मुलुक भारतबाट आएर श्रम गरिरहेको भन्दै उनले नेपालकै श्रमिक रोजगारका लागि विदेशमा गएर काम गर्नुपरेको उल्लेख गरे । 

बैठकमा वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले कोरोना भाइरसको समयमा वैदेशिक रोजगारमा जानेको सङ्ख्या घटे पनि अहिले फेरि पहिलेको अवस्थामा नै आएको बताए । उनले आर्थिक वर्ष २०७७÷७८ मा एक लाख ६६ हजार बैदेशिक रोजगारीमा गएकोमा २०७८÷७९ मा त्यो सङ्ख्या बढेर ६ लाख २१ हजारमा पुगेको जानकारी दिए । 

समिति सभापति विमल श्रीवास्तवले नेपालका श्रमिकलाई विदेश नपठाइ स्वदेशमा नै रोजगारी सिर्जना गर्नुपर्ने धारणा राखे । 


Author

थप समाचार
x