राजनीति

कला–संस्कृति देश चिनाउने गहना हो : अध्यक्ष नेपाल

इकागज |
साउन १५, २०७९ आइतबार २१:७ बजे

फाइल फोटो

डोटी - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कला–संस्कृति देश चिनाउने गहना भएको बताएका छन् । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा पालशाक्य बौद्ध गुम्बा आज उद्घाटन गर्दै उनले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस्कृतिहरूको संरक्षण गर्न आवश्यक रहेको बताए । 

उनले भने, `नेपाल शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध जन्मेको देश हो, हाम्रा सबै कला, संस्कृति र धर्मको संरक्षण तथा संवद्र्धन गर्न जरुरी छ ।` अध्यक्ष नेपालले नेपाल कला र संस्कृतिको धनी देश भएकाले यहाँ पर्यटक भित्र्याउन तथा पर्यटन प्रवद्र्धनका लागि भए पनि आफ्नो मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्नेमा जोड दिए । उनले कला, संस्कृति विना मान्छेको जीवन अधुरो जस्तै हुने भएकाले हाम्रा मौलिक कला, धर्म र संस्कृतिको जगेर्ना तथा संरक्षणका लागि अब युवा पुस्ताहरू सक्रिय हुनुपर्ने बताए । 


आज उद्घाटन गरिएको पालशाक्य बौद्व गुम्बाको संरक्षण तथा संवद्र्धनका लागि सबैको योगदान अपरिहार्य रहेकोसमेत उनले आग्रह गरे ।  डोटीको बुडरमा रहेको प्रसिद्ध छहरा झर्नासमेत अध्यक्ष नेपालले आजै अवलोकन गरेका थिए । 

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीको विकासका लागि आफू हरहमेसा लागिपर्ने बताए । उनले भने, `डोटीको विकासका लागि म हरहमेसा खटिने छु, विगतका भन्दा धेरै विकास गरेको छु, अझै अधुरा रहेका विकासका काम पूर्ण गर्ने छु ।` 

पूर्वमन्त्री आलेले पछिल्लो समय देशमा रहेका विभिन्न मठमन्दिर, धर्मशालालगायत क्षेत्रमा केही निजी स्वार्थका व्यक्तिहरूले आफ्नो व्यक्तिगत स्वार्थका लागि अधिग्रहण गरी कमाई खाने बाटो बनाएकाले त्यस्ता व्यक्ति र समूहलाई नङ्ग्याउनुपर्ने धारणा राखे । उनले भने, `कला, संस्कृति लोप गर्न धार्मिक क्षेत्र, मठमन्दिर र धर्मशालालाई आफ्नो व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ ।`


Author

थप समाचार
x