राजनीति

पशुपति क्षेत्रको वाग्मती स्वच्छ बनाउन प्रशोधन केन्द्र : देउवा

इकागज |
साउन १५, २०७९ आइतबार २०:२२ बजे

फाइल फोटो

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले पशुपति क्षेत्र भएर बग्ने वाग्मतीलाई स्वच्छ बनाउन माथिल्लो तटीय क्षेत्रमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको बताएका छन् । 

खानेपानी मन्त्रालयले गुह्येश्वरीमा निर्माण गरेको फोहर पानी प्रशोधन केन्द्रको आज यहाँ उद्घाटन गर्नुहुँदै उनले यसले विश्वका हिन्दूको आस्थाको केन्द्र पशुपतिनाथमा धार्मिक पर्यटक बढ्ने बताए । पशुपति क्षेत्रमा स्वच्छ पानी बग्न थालेपछि धार्मिक पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने प्रधानमन्त्री देउवाको विश्वास थियो । 


`पशुपति क्षेत्रको वाग्मतीमा स्वच्छ पानी बगाउन विसं २०५८ मा सुरु भएको एक करोड ६० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माणले केही सहयोग गरेको थियो, नयाँ प्रशोधन केन्द्रबाट तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन भएपछि यस क्षेत्रको वाग्मतीमा सङ्लो पानी बग्ने आशा गरिएको छ`, उनले भने।

गुह्येश्वरीको फोहर पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएसँगै बालकुमारी, धोबीघाट, सल्लाघारी, हनुमानघाट, गोकर्णलगायत स्थानमा निर्माण सुरु भएको केन्द्र निर्माणमा पनि तीव्रता दिन प्रधानमन्त्री देउवाले सरोकार भएका निकायलाई निर्देशन दिए । 

खानेपानीमन्त्री उमाकान्त चौधरीले २०४६ सालको ऐतिहासिक जनआन्दोलनको परिणामस्वरुप मुलुकमा प्रजातन्त्र पुनः स्थापना भएपछिका सरकारबाट काठमाडौँ उपत्यकाको बढ्दो सहरीकरणका कारण पवित्र वाग्मती नदी र यसका सहायक नदीलाई स्वच्छ, सफा, हराभरा एवं जीवन्त राख्न विभिन्न प्रयास सुरु भएको बताए । 

सरकारको १५औँ योजनाअनुसार प्रशोधनसहितको फोहर पानीबाट लाभान्वित जनसङ्ख्या २० प्रतिशत तथा दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म ५० प्रतिशत हुने लक्ष्य रहेको उनले जानकारी गराए । 

`हालसम्म सरकारको ध्यान सम्पूर्ण नेपाली जनतालाई खानेपानी उपलब्ध गराउनेतर्फ केन्द्रित रहेको छ, फोहर पानी प्रशोधनलाई पनि प्राथमिकताका साथ एकीकृत रुपमा अगाडि बढाउनु आजको आवश्यकता हो, ढल तथा फोहर पानी व्यवस्थापन गर्ने काम विभिन्न निकायबाट भइरहेकामा यी निकायबीच उपयुक्त समन्वयको अभावमा अपेक्षित लक्ष्य हासिल गर्न सकिएको छैन`, उनले भने । 

अपेक्षित लक्ष्य हासिल गर्न ढल तथा फोहर पानी व्यवस्थापनसम्बन्धी सम्पूर्ण कामको मापदण्ड तथा नीतिमा एकरुपता कायम गर्दै ठूला आयोजनाको हकमा एउटै छाताअन्तर्गत एकीकृत रुपमा कार्यान्वयन गर्न आवश्यक देखिएको मन्त्रालयले जनाएको छ । यो केन्द्रबाट ९९५ हेक्टरका करिब तीन लाख नागरिक लाभान्वित हुनेछन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले नयाँ सहरमा अनिवार्य रुपमा फोहर पानी प्रशोधन केन्द्र निर्माणका लागि योजना बनाइने प्रतिबद्धता जनाए । यसतर्फ आयोगले ध्यान केन्द्रित गरेको जानकारी पनि उनले गराए । 

पूर्वमन्त्री एवं सांसद भीमसेनदास प्रधानले काठमाडौँ उपत्यकाको वास्तविक सभ्यता वाग्मती र विष्णुमती नदी भएको बताए । वाग्मती सफा बनाउन पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सुरु गरेकामा केन्द्र निर्माणसँगै यसले सार्थकता पाएकामा खुसी व्यक्त गरे ।  विष्णुमतीमा पनि फोहर पानी प्रशोधन केन्द्र निर्माण गर्न सांसद प्रधानले सरोकार भएका निकायको ध्यानाकर्षण गराए । 

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले राजधानी सहरमा ढलबाट सिधै नदीमा ढल हालिएकाले वाग्मतीलगायत नदी फोहर बनेको बताए । ढल वर्षाको पानी छुट्याउन सरोकार भएका निकायले काम गर्नुपर्ने उनको भनाइ छ । यसका लागि महानगरपालिकाले जनचेतना जगाउने पनि महानगर प्रमुख शाहले बताए । 

काठमाडौँ उपत्यकाका हिटी, ढुङ्गेधारालाई पुनर्जीवन दिन मन्त्रालयसँग सहकार्य गर्ने बारेमा खानेपानी मन्त्रीसँग कुरा भएको पनि सो अवसरमा उनले जानकारी दिए । 

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले हालसम्म फोहर पानी प्रशोधनमा न्यून उपलब्धि तीन प्रतिशत मात्र भएकामा केन्द्रको निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि यसमा वृद्धि हुने बताए । 

एसियाली विकास बैंकका देशीय निर्देशक आर्नोभ कुशवाहले केन्द्र सञ्चालन भएपछि नदीको फोहर कम गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरे । पशुपतिनाथको धार्मिक महत्व बढाउन र वाग्मतीमा स्वच्छ पानी बगाउन पनि यसबाट सहयोग पुग्ने उनको भनाइ थियो । 

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले फोहर पानी प्रशोधन गरेर गन्धरहित ग्यास वातावरणमा छोडिने जानकारी दिए । फोहर पानी प्रशोधनबाट निस्किएको ग्यासले विद्युत् निकाली केन्द्र सञ्चालनमा ५० प्रतिशत विद्युत् आपूर्ति हुने जानकारी पनि सो अवसरमा दिइएको थियो । रासस


Author

थप समाचार
x