राजनीति

दलीय प्रणालीलाई बलियो बनाउनुपर्छ : कांग्रेस प्रवक्ता महत

इकागज |
साउन १४, २०७९ शनिबार १९:५८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले दलीय प्रणालीलाई बलियो बनाउनुपर्ने बताएका छन् । उनले भूपरिवेष्टित मुलुक नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित राख्नका लागि पनि दलीय प्रणालीलाई बलियो पार्नुपर्नेमा जोड दिए ।

नेपाल प्रेस युनियन कैलाली शाखाले नवौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्न काठमाडौँमा आज आयोजना गरेको कार्यक्रममा नेता महतले नेपालमा अहिले स्वतन्त्र बन्ने प्रवृत्ति मौलाइरहेको बताए । उनले मुलुकको दीर्घकालीन विकासका लागि स्वतन्त्र प्रवृत्ति घातक सावित हुनसक्ने खतरा औँल्याए ।


प्रवक्ता महतले काठमाडौँ महानगरको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारको सफलतापछि देशैभरि स्वतन्त्र बन्ने प्रवृत्ति मौलाएको बताए । स्वतन्त्र व्यक्ति महानगरको नगरप्रमुख हुँदा प्रभावकारी काम गर्न नसकेको उदाहरण काठमाडौँमै देखिएको भन्दै उहाँले कतिपय जिल्लामा स्वतन्त्र नेतृत्वले कुरा गरे अनुरुप काम गर्न नसकिरहेको जिकिर गरे ।

काठमाडाैँ महानगरका नगरप्रमुख बालेन्द्र शाहलाई पनि चुनावका बेला प्रतिबद्धता जनाएबमोजिम काठमाडौँको फोहर व्यवस्थापन गर्न निकै हम्मे परिरहेको उनको भनाइ थियो ।

नेता महतले कांग्रेस नेतृत्वमा मात्रै नेपालले छिमेकीसहित सबै मित्र राष्ट्रसँग सन्तुलित सम्बन्ध राख्न सक्ने भन्दै कांग्रेसभित्रका केही कमजोरीलाई सुधारेर अघि बढ्नुपर्नेमा जोड दिए । 'हामीमा केही कमजोरी नै छैनन् भन्ने होइन । तर कमजोरी हुँदाहुँदै पनि देशलाई निकास दिएर विकासको पथमा हिँड्न कांग्रेसको विकल्प छैन । कांग्रेस अब सुधारिएर अघि बढ्दै जनताको समस्या समाधान गर्न लागिपर्छ,' डा महतले भने ।

उनले राष्ट्रको समृद्धि र स्वतन्त्रतालाई बलियो पार्न नेपाली कांग्रेसको हैसियत बलियो हुनुपर्ने भएकाले आगामी निर्वाचनमा बढीभन्दा बढी स्थानमा जित हासिल गर्ने गरी तयारीमा जुट्न आह्वान पनि गरे । 
 
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले पार्टीका भ्रातृ सङ्गठनलाई चलायमान बनाउनुपर्ने बताए । निर्वाचन नजिक आइसकेकाले अब सबै पार्टी पङ्क्तिले कांग्रेसलाई विजयी बनाउन लाग्नुपर्ने खाँचो औँल्याए । चौधरीले नवौँ महाधिवेशनबाट निर्वाचित प्रेस युनियनको नयाँ नेतृत्वले देशभर लोकतन्त्रका पक्षमा जागरण ल्याउन भूमिका खेल्नुपर्ने बताए ।

अर्का केन्द्रीय सदस्य नैनसिंह महरले नेपालको विकासका लागि लोकतन्त्रलाई बलियो पार्न आवश्यक रहेको बताउँदै यसका लागि प्रेस युनियनको भूमिका निकै महत्वपूर्ण रहने विश्वास व्यक्त गरे । कार्यक्रममा केन्द्रीय सदस्य नृपबहादुर बडूले मुलुकका लागि कुनै योगदान नगरेकाहरू अहिले स्वतन्त्रका नामबाट सलबलाउन थालेको उल्लेख गरे । उनले लोकतन्त्रका लागि भएको आन्दोलनमा कुनै भूमिका नभएकाहरू अहिले स्वतन्त्रका नाममा राजनीति गर्न आउन थालेको भन्दै आक्रोश पाखे ।

प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।


Author

थप समाचार
x