राजनीति

संसदीय छानबिन समितिको प्रतिवेदन मान्य छैन : अध्यक्ष ओली

इकागज |
साउन १४, २०७९ शनिबार १८:३७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा बनाइएको संसदीय छानबिन समितिको प्रतिवेदन मान्य नहुने बताएका छन् ।

शनिबार काठमाडौँमा राष्ट्रिय युवा संघले आयोजना गरेको कार्यक्रममा ओलीले एमालेलाई अल्पमतमा पारेर अर्थमन्त्रीलाई निर्दोष देखाउने काम भएको भन्दै छानबिन समितिको प्रतिवेदन मान्य नहुने बताएका हुन् ।


ओलीले नियोजित रुपमा नै गठबन्धन दलको बहुमत हुने गरी आफू अनुकूलको समिति बनाइएको तर्क गरे । बजेट निर्माण गर्दा देशमारा र अनैतिक आपराधिक काम भएको ठोकुवा गर्दै ओलीले निष्पक्ष छानबिन गर्न सरकारले नचाहेको बताए । अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकार देशकै लागि अभिशाप भएकाले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउनुपर्ने र देशलाई जोगाउनुपर्ने धारणा राखे ।

उनले निर्वाचन सार्ने षडयन्त्र भइरहेको भन्दै समयमा नै निर्वाचन गर्नका लागि दबाव सिर्जना गर्नुपर्ने अवस्था आउन सक्ने बताए । त्यस्तै ओलीले कांग्रेस कुनै रचनात्मक काम गर्न नसक्ने पार्टी भएको समेत आरोप लगाउदै एमालेको लोकप्रिय नारालाई कांग्रेसले आफू अनुकूल बनाएको धारणा राखे ।

अध्यक्ष ओलीले निर्वाचनको तयारीमा जुट्न र एमाले सरकारले गरेका राम्रा कामहरुका बारेमा जनतालाई जानकारी गराउन कार्यकर्तालाई निर्देशन दिए । 


Author

थप समाचार
x