राजनीति

निजगढ विमानस्थल बनाउने काममा अब ढिलासुस्ती हुँदैन : प्रधानमन्त्री देउवा

इकागज |
असार १८, २०७९ शनिबार १६:७ बजे

फाइल तस्बिर

कलैया- प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । 

प्रस्तावित विमानस्थलको निरीक्षण गर्न गठबन्धन दलका शीर्ष नेतासहित आज नेपाली सेनाको हेकिप्टरबाट बारा आउनुभएका प्रधानमन्त्री देउवाले निजगढ विमानस्थल बनाउने काममा अब ढिलासुस्ती नहुने उल्लेख गरे । सुरूमा दुई लेनको रन्वेसहित विमानस्थल निर्माण छिट्टै सुरू गरिने उनले प्रतिबद्धता व्यक्त गरे । तराई-मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएका आयोजना रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले दुवै आयोजना निर्माणको काम नरोकिने उद्घोष गरे ।   
    
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले निजगढमा विमानस्थल बन्‍न नसके राज्यलाई अर्बौं रूपैयाँको नोक्सानी हुने बताए । 


सो अवसरमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्चको पूर्णपाठसहितको फैसला स्वागतयोग्य रहेको जिकिर गरे । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तराई-मधेसको अर्थतन्त्रमा टेवा पुग्‍ने, यस क्षेत्रका नागरिकलाई रोजगारी सिर्जना हुने हुँदा निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नरहेको बताए । 

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवाले निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने संकल्प लिएको उल्लेख गर्दै आफूले पनि त्यसमा सहमति जनाइसकेको उल्लेख गरिन् ।

कार्यक्रममा वनमन्त्री रामसहाय यादव, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठ, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद  पाण्डेलगायत सहभागी थिए ।


Author

थप समाचार
x