राजनीति

आयल निगम व्यापारीको हातमा दिएर अर्बौँ कमाउने दाऊमा मन्त्रीहरू रहेकाे रामचन्द्र पौडेलको आरोप

इकागज |
असार १६, २०७९ बिहीबार १४:४३ बजे

फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बको आर्थिक चलखेल गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको गम्भीर आरोप लगाएका छन् ।

६४ औं संसद दिवसको अवसर पारेर पूर्वसभामुख समेत रहेका वरिष्ठ नेता पौडेलले सरकारमाथि सो आरोप लगाएका हुन् । उनले नेपाल आयल निगम व्यापारीको हातमा दिएर अर्बौ कमाएर राजा बन्‍ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरू लागेको भन्दै आपत्ति जनाए । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले आयल निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्‍न गर्न चाहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले यो विषयलाई सञ्चार माध्यमहरूले अघि ल्याउनुपर्ने बताए ।


वरिष्ठ नेता पौडेलले किसानहरुलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । उनले समाजवादको ठूल्ठूला गफ दिने ठूला दल र तिनका नेताहरूले किसानलाई मलको मारमा पारेको देख्दा दुःख लाग्‍ने गरेको पटकपटक दोहोर्‍याए ।

वरिष्ठ नेता पौडेलले व्यवस्था परिवर्तनको खेलमा लाग्‍ने काम नगर्न पनि राजनीतिक दलहरूलाई सचेत गराए । ७० वर्ष संघर्ष गरेर टुंगो लगाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको विकल्प दलहरूले खोज्‍ने नमिल्ने उनको भनाइ थियो ।

 


Author

थप समाचार
x