राजनीति

विश्वप्रकाश शर्मा बाँचुन्जेल केरुङबाट काठमाडौँ रेल आउँछ जस्तो लाग्दैन : शर्मा

इकागज |
असार १५, २०७९ बुधबार १४:४७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ-काठमाडौँ रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन् ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले केरुङ-काठमाडौँ रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका हुन् । उनले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्‍ने कुराको यथार्थता भन्‍नुपर्ने बताए ।


महामन्त्री शर्माले नेपालले छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ-काठमाडौँ रेलमार्ग निर्माण गर्न नसक्ने तर लिजमा बाटो दिने र उपहार प्रोजेक्ट लिन चाहने प्रस्ताव राख्नुपर्ने जिकिर गरे । नेपाल गरिब राष्ट्र भएकाले दुवै देशको व्यापारका लागि बाटो भाडामा उपलब्ध गराउने कुरा चीन र भारतलाई भन्‍नुपर्ने उनको भनाइ छ । उनले नेपालले आफ्नो ढुकुटीको पैसा लगानी गरेर सहुलियत ऋणमा मेची-महाकाली रेल बनाउन सक्नेतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे ।

महामन्त्री शर्माले अहिले केरुङ-काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन गरिरहेको भएपनि रेल कहाँबाट ल्याउने र सक्छौँ, सक्दैनौँ भन्‍ने आधार नै नरहेको दाबी गरे । उनले एउटै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित गर्न नसकेको भन्दै एउटाबाट दोस्रोमा जानुपर्ने बेलामा एकैपटक ४ वटामा प्रवेश गर्नु गलत भएको उनको बुझाइ छ ।

शर्माले चुनावका लागि गरिने प्रतिवद्धतामा ध्यान दिनुपर्ने भन्दै चुनाव लागेकै कारण विमानस्थल बनाउँछु भनेर गलत सूचना दिन र गर्न नसकिने प्रतिवद्धता व्यक्त गर्नु नहुने टिप्पणी गरे ।

उनले भने, ‘विश्वप्रकाश शर्मा बाँचुन्जेल केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन । हामीले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्‍नुपर्छ । हामी गरिब राष्ट्र छौँ, तिमीहरूको एउटा गिफ्ट प्रोजेक्ट लिन चाहन्छौँ भन्‍न भारत र चीनलाई सक्नुपर्छ ।’

महामन्त्री शर्माले गलत सूचनाको असर एमसिसीमा परेको बताए । डकुमेन्ट बनाउन मन्त्रिमण्डलमा बस्‍ने, छलफल, संवाद गर्नेहरूले दिएको गलत सूचनाका कारण पनि जनताहरू भड्कि रहेकाले गलत सूचना प्रशारण गर्न नहुने उनको जिकिर थियो ।


Author

थप समाचार
x