राजनीति

एकीकृत समाजवादीको स्वीकारोक्ति– संगठित शक्ति नहुनु सबैभन्दा ठूलो कमजोरी

कमल विष्ट |
असार १३, २०७९ सोमबार १८:५२ बजे

काठमाडौं– सत्तासीन दल नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनमा पार्टी कमजोर सावित हुनुको प्रमुख कारण ‘संगठित शक्ति’को अभाव भएको निष्कर्ष निकालेको छ । 

एकीकृत समाजवादीको काठमाडौंमा सोमबारदेखि सुरु भएको दुई दिने केन्द्रीय परिषद्को पहिलो बैठकमा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा कमजोर प्रदर्शनको कारणबारे विश्लेषण गरिएको छ ।


‘यस निर्वाचनमा अनुभूत भएको हाम्रो सबैभन्दा ठूलो कमजोर पक्ष पार्टीको सङ्गठित शक्ति नहुनु नै हो । केही महिना अगाडि मात्रै विद्रोह गरेर पार्टी पुनर्गठन अभियानमा लागेका हामीले संगठन बलियो बनाउन पाएकै थिएनौँ । सबै स्थानीय तहमा पार्टी कमिटी. निर्माण गर्न पनि भ्याएका थिएनौँ,’ पार्टी अध्यक्ष माधवकुमार नेपालबाट प्रस्तुत ३४ पृष्ठ लामो प्रतिवेदनमा उल्लेख छ । 

एकीकृत समाजवादीले ७३ दशमलव ७० प्रतिशत पालिका र ५५ दशमलव २१ प्रतिशत वडाहरूमा मात्र कमिटी निर्णय गर्न भ्याएको बताएको छ । बनेका कमिटीहरू पनि कसिला एवम् दरिला नभएको उसको भनाइ छ । 

‘ती कमिटीमा संगठित कार्यकर्ताहरू पार्टीले अंगालेको सिद्धान्त, रणनीति, कार्यनीति, कार्यदिशा, तात्कालिक राजनीतिक दृष्टिकोण आदिबाट राम्ररी प्रशिक्षित पनि भैसकेका थिएनन्,’ प्रतिवेदनमा उल्लेख छ । नेपाली कांग्रेस, एमाले र माओवादी पार्टीका उम्मेदवार जति आफ्ना पार्टीका उम्मेदवारहरूले प्रचारप्रसार अभियानमा खर्च गर्न नसकेकाले पनि पार्टी बलियो सावित हुन नसकेको बताएको छ प्रतिवेदनमा भनिएको छ । 

‘स्रोत साधनको अभाव भएपछि प्रचार अभियान कमजोर हुने नै भयो । चुनाव प्रचारका साधन र माध्यम नै प्रचार सामग्री हुन्,’ उसको तर्क छ, ‘गठबन्धन होला र निर्णय गरौँला भनेर पर्खदा उम्मेदवार चयन गर्न र धेरै ढिला भएको थियो । उम्मेदवार चयन गर्न ढिला भएपछि प्रचारमा ढिला हुने नै भयो ।,’

कमजोर प्रदर्शनका अन्य तीन कारण

यसका अलवा उसले चुनावमा कमजोर प्रदर्शनका अन्य तीन कारणबारे पनि उल्लेख गरेको छ । ‘निर्वाचनका सन्दर्भमा तीन थरी समस्या देखा परे । पहिलो गठबन्धनभित्रका समस्या । दोस्रो हाम्रो आफ्नै पार्टीभित्रका समस्या । तेस्रो प्राविधिक एवं प्रशासनिक समस्या,’ निर्वाचनका सन्दर्भमा देखिएका समस्याहरू शीर्षमा एकीकृत समाजवादीले उल्लेख गरेको छ ।

प्रस्तुत तीन समस्यामध्ये उसले सबैभन्दा पहिला गठबन्धनभित्र जुधेका समस्यको खण्डनमा लेखेको छ । ‘पहिलो, गठबन्धन गर्न नै नचाहने । दोस्रो, गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने तेस्रो, गठबन्धनभित्र उपगठबन्धन गर्ने । चौँथो, गठबन्धन भएका स्थानमा इमान्दारीपूर्वक भोट नहाल्ने,’ गठबन्धनभित्र उसले आफूले झेल्नुपरेका ७ समस्याबारे उल्लेख गरेको छ, ‘पाँचौँ, गठबन्धनबाहिरका दलसँग चुनावी तालमेल गर्ने । छैठौँ, गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर हुनु । सातौँ, गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहनु, यो प्रवृत्ति नेपाली कांग्रेस र माओवादी केन्द्र बढी मात्रमा देखियो ।’

पूर्ण रुपमा गठबन्धनकै भर पर्नु गलत 

त्यसपछि प्रतिवेदनमा पार्टीभित्र देखापरेका समस्याबारे चर्चा छ । यसमा पनि समस्यालाई ७ बुँदामा प्रस्तुत गरिएकाे छ । यसअन्तर्गत पूर्ण रुपमा गठबन्धनकै भर पर्नुलाई समाजवादीले पहिलो कारण मानेको छ । ‘दोस्रो, आफुलाई केन्द्रविन्दुमा राखेर गठबन्धन गर्न चाहने अर्थात जहाँ हाम्रो संगठन तुलनात्मक रूपमा बलियो छ त्यहाँ लिन जोड गर्नुपर्नेमा त्यसो नगरी व्यक्तिलाई केन्द्रविन्दुमा राखेर सिट लिन चाहने । तेस्रो, गठबन्धन हुँदा उम्मेदवारी दिन तँछाडमछाड गर्ने तर गठबन्धन नहुने भएपछि भने उम्मेदवारी दिन तयारै नहुने र दिएको उम्मेदवारी पनि फिर्ता लिने । चौँथो, चुनावलाई जनतामाझ राजनीति पुर्याउने माध्यम नठानी पद प्राप्त गर्ने माध्यम मात्र ठान्ने ।,’ पार्टीभित्र देखा परेको समस्याबारे प्रतिवेदनमा लेखिएको छ । 

प्रतिवेदनमा अगाडि लेखिएको छ, ‘पाचौँ, पार्टीको टिकटबाट दिइएको उम्मेदवारी आफूखुसी फिर्ता लिने । छैठौँ, आफुले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी नै छाडेर पनि हिँड्ने । सातौँ, आफ्नो वास्तविक शक्ति र प्रभावको आँकलन नगरी मनोगत विश्लेषणका आधारमा बढी आकांक्षा राख्ने ।’

मतपत्रको ढाँचा एकदमै भद्दा

तेस्रोमा एकीकृत समाजवादीले प्राविधिक एवम् प्रशासनिक समस्याबारे व्याख्या गरिएको छ । मतपत्रको ढाँचालाई उसले सबैभन्दा ठूलो प्राविधिक तथा प्रशासनिक समस्याका रुपमा औंल्याएको छ । छवटा मतपत्र एकै ठाउँमा राखेर बनाइएको मतपत्रको ढाँचा एकदमै भद्दा भएको समाजवादीले उल्लेख गरेको छ । दोस्रो कारणमा उसले उम्मेदवार नै नरहेका चिह्नमा राखेर मतपत्र छाप्नुलाई मानेको छ । यसकै कारण धेरै मतपत्र बदर भएको र बदर भएकै कारणले आफ्ना धेरै उम्मेदवारहरूले पराजय भोग्नुपरेको बताएको छ । 

‘मतपत्र बेठीक भएकै कारणले धेरै मत बदर भए र मत बदर भएको कारणले धेरै उम्मेदवारहरूले पराजित घोषित हुनुपर्यो । त्यसरी पराजित घोषित भएका उम्मेदवारमा हाम्रो पार्टीका उम्मेदवार सबैभन्दा धेरै रहनु भएको छ,’ उसको भनाइ छ । पार्टीले निर्वाचन आयोग र प्रहरी प्रशासन धेरै ठाउँमा पूर्ण रुपमा निष्पक्ष नभएको आरोप लगाएको छ । 

निर्वाचनबाट उपलब्धि 

प्रतिवेदनमा स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको कमजोर नतिजाको निष्कर्षबारे मात्र उल्लेख गरेको छैन, निर्वाचनबाट उपलब्धि, निर्वाचनबाट प्राप्त शिक्षा र अबको कार्ययोजनाबारे पनि उल्लेख गरेको छ । 

अनेकन कमीकमजोरीका बाबजुद निर्वाचनमा पार्टीले एक महानगरपालिका प्रमुख र एक उपमहानगरपालिका प्रमुखलगायत २० पालिकामा प्रमुख र २३ पालिकामा उपप्रमुख, १ सय ९० वडाध्यक्ष, १८४ महिला सदस्य, १ सय ८० दलित महिला सदस्य र ३ सय ८९ खुला सदस्य गरी जम्मा ९ सय ८६ जना विजयी हुनुलाई उपलब्धि मानेको छ । पार्टीको चुनाव चिह्नको प्रचारप्रसार हुनुलाई पनि उसले उपलब्धिकै रुपमा लिएको छ । 

निर्वाचनबाट प्राप्त शिक्षा

निर्वाचनमा मजबुद सावित हुन बलियो र व्यवस्थित संगठन हुनुपर्ने रहेछ भन्ने कुरा आफूले यस निर्वाचनबाट सिकेको प्रतिवेदनमा उल्लेख छ । ‘त्यसबाहेक आर्थिक कोषको निर्माण एवं स्रोत साधनको व्यवस्थापन गर्नु पर्दछ, जनताको मन छुने खालका प्रभावकारी प्रचार सामग्रीहरूको निर्माण र वितरण छिटोभन्दा छिटो गर्नु पर्दछ र उम्मेदवार चयन पनि जतिसक्यो चाँडो गर्नुपर्दछ भन्ने जस्ता शिक्षा पनि यस निर्वाचनले हामीलाई दिएको छ । यी शिक्षा हामीले पहिले पनि प्राप्त गरेकै शिक्षा हुन् तथापि यस निर्वाचनको माध्यमबाट पुनर्ताजगी भएको छ,’ पार्टीले मनन गरेको छ । 

अबको कार्ययोजना

त्यस्तै, प्रतिवेदनमा अबको कार्ययोजनाबारे पनि चर्चा गरिएको छ । पार्टी कामलाई व्यवस्थित ढंगले सञ्चालन गर्न स्पष्ट कार्ययोजनाको खाँचो गर्ने उसले बुझेको छ । 
‘पार्टी कामलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न स्पष्ट कार्ययोजनाको खाँचो पर्दछ । त्यसैले हामीले जहिले पनि स्पष्ट कार्ययोजना बनाएर नै काम गर्ने गरेका छौँ कार्ययोजना तात्कालिक ठोस राजनीतिक परिस्थिति अनुरुपको हुन्छ, हुनुपर्दछ,’ एकीकृत समाजवादीको अबको कार्ययोजना छ, ‘आजको ठोस राजनीतिक परिस्थिति भनेको भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको र यतिबेला यहाँका सबैजसो राजनीतिक शक्तिहरू अबका केही महिनापछि हुन गैरहेको संघ प्रदेशको निर्वाचनतर्फ उन्मुख भैरहेको अवस्था हो ।’

आज प्रस्तुत सांगठनिक तथा राजनीतिक प्रतिवेदन छलफलका लागि पार्टीले सदस्यहरूलाई दिएको छ । ११ वटा समूहमा उक्त प्रतिवेदनउपर छलफल भइरहेको छ । छलफलपछि सबै सदस्यहरूले आआफ्नो विचार राख्ने कार्यक्रम छ । 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x