राजनीति

लक्ष्यअनुसारको सडक सम्पन्न हुन सकेनः भौतिकमन्त्री यादव

इकागज |
असार १३, २०७९ सोमबार १३:३२ बजे

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकमारी यादवले निर्माण व्यवसायीको ‘कन्स्ट्रक्सन होलिडे’ र कोभिड सङ्क्रमणलगायत कारणले लक्ष्यअनुसारको सडक निर्माण नहुने देखिएको बताएकी छन् । राष्ट्रियसभामा आजको बैठकमा विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सबै किसिमका सडक र पुल निर्माण लक्ष्यभन्दा कम निर्माण हुने देखिएको बताइन् ।    
    
चालु आवमा एक हजार ८०० किमी सडक निर्माण गर्ने लक्ष्य लिइएकामा ६००किमी मात्र सम्पन्न भएको मन्त्री यादवले जानकारी दिइन् । ग्राभेल सडक ८००किमी निमार्ण गर्ने लक्ष्य लिइएकामा २९२ किमी र ३५० किमी कच्ची सडक निर्माणको लक्ष्य लिइएकामा १६५ किमी निर्माण भएको उल्लेख गर्दै उनले भनिन्, “लक्ष्यभन्दा कम प्रगति छ तर सन्तोषजनक छैन ।” चालु आवमा ३०० वटा पुल निर्माण गर्ने लक्ष्य लिइएकामा १०१ वटा निर्माण भइसकेको र १०० वटा निर्माण हुने क्रममा रहेको मन्त्री यादवले बताए । नीति तथा कार्यक्रमको मर्मअनुसार नै कार्यक्रम ल्याउन प्रयास गरिएको उनको भनाइ थियो ।
    
विगत वर्षभन्दा काठमाडौँ तराई द्रुतमार्गमा धेरै बजेट छुट्याइएको मन्त्री यादवले बताइन् । यो आयोजनाको जिम्मेवारी लिएपछि सेनाले कसरी समयमै गर्छ भनी सबैले हेरिरहेको उनले उल्लेख गरिन् ।राष्ट्रिय गौरवका आयोजना र प्राथमिकता प्राप्त आयोजनालाई प्राथमिकता दिइएको, महाकालीमा दोधारा–चाँदनी पुल अन्तिम चरणमा पुगेको, नागढुङ्गा सुरुङमार्ग निर्माण अघि बढेसँगै नेपाल सुरुङमार्गको युगमा प्रवेश गरेको र गत आवसम्म १४ प्रतिशत प्रगति रहेकामा हाल ५४ प्रतिशत प्रगति पुगेको मन्त्री यादवले बताइन् ।    
    
 सिद्धबाबा सुरुङ डिजाइनको क्रममा रहेको र काठमाडौँ उपत्यकाको जाम घटाउन पहिलो चरणमा ग्वार्खाेमा ठेक्का सम्झौता भएर डिजाइनको क्रममा पुगेको उनले बताइन् ।  पैँतिस किमी लामो जयनगर–कुर्था रेलमार्ग सञ्चालनमा आइसकेको छ भन्दै मन्त्री यादवले १०/१५ किमीभन्दा लामो सडक सङ्घमा राख्नुपर्ने मान्यता रहेको बताइन् ।



Author

थप समाचार
x