राजनीति

निर्वाचन आयोगको प्रदेशस्तरीय समीक्षा

इकागज |
असार १२, २०७९ आइतवार २०:५१ बजे

चितवन- निर्वाचन आयोगले बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यशाला आज यहाँ सम्पन्‍न गरेको छ । बागमती प्रदेशका जिल्लाहरू र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सरोकारवालाको उपस्थितिमा समीक्षा गरिएको हो ।
 
सो अवसरमा आयोगका आयुक्त सगुनशमशेर राणाले समीक्षा कार्यक्रममा प्राप्त सुझावलाई आयोगले कार्यान्वयनका लागि छलफलमा राख्‍ने बताए । स्थानीय तहको निर्वाचनमा पुर्‍याएको भूमिकाको आयोगले उच्च सम्मान गरेको भन्दै उनले अब हुने निर्वाचनमा त्यही ढङ्गबाट जुट्नुपर्नेमा जोड दिए । प्राप्त सुझावलाई केन्द्रीय तहमा समीक्षा गरेर बाधा व्यवधानहरू फुकाउँदै अघि बढ्ने उनले विश्वास दिलाए ।
 
सोही अवसरमा आयोगका सहसचिव तुल्सीबहादुर श्रेष्ठले निर्वाचनको सम्पूर्ण गतिविधिका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सहभागीबाट पाँच समूह विभाजन गरेर स्थानीय तहको निर्वाचनमा भएका सबल पक्ष, भएका कमीकमजोरी र सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरी सुझावसहित प्रस्तुतीकरण गरिएको थियो ।
 
कार्यक्रममा चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र मकवानपुरका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, निर्वाचन अधिकृत, राजनीतिक दलका नेता, नागरिक समाज, पर्यवेक्षक लगायतको सहभागिता रहेको थियो । अन्य जिल्लाबाट जिल्ला निर्वाचन अधिकारी, मतदान अधिकृत समेतको उपस्थिति रहेको थियो ।
 
कार्यक्रममा मतदाता नामावली, मतदाता परिचयपत्र, मतदान केन्द्र, मतदान प्रक्रिया, मतगणना तथा परिणाम, निर्वाचन कार्यक्रम, उम्मेदवारी मनोनयन लगायतका विषयमा छलफल र सुझाव दिइएको थियो ।



Author

थप समाचार
x