राजनीति

‘महिला पहिला’ अभियानसहित हिंसाविरुद्ध अघि बढ्ने मन्त्रालयको तयारी छ : मन्त्री रेग्मी

इकागज |
असार १२, २०७९ आइतबार २०:३१ बजे

चितवन- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले लैङ्गिक हिंसालाई कम गर्दै महिलाको समग्र विकास गर्नका लागि मन्त्रालयले ‘महिला पहिला’ भन्‍ने नारासहित विभिन्‍न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएकी छन् ।

मन्त्रालयले आज यहाँ आयोजना गरेको महिला उद्यमशीलता विकास प्रशिक्षण कार्यक्रमको समापन सत्रमा उनले ९५ प्रतिशतभन्दा बढी हिंसा घरभित्र हुने गरेको बताइन् । उनले हिंसाविरुद्धको अभियानमा पुरुषलाई पनि समावेश गराउन मन्त्रालयले अभियान सुरुआत गर्न लागेको उल्लेख गरिन् । घरेलु हिंसाविरुद्धको अभियानका साथै महिलाको नेतृत्व क्षमताको विकास गर्नु आवश्यक भएको उनको भनाइ छ । महिलाहरूको उद्यमशीलता प्रवर्द्धनका लागि मन्त्रालयले विभिन्‍न किसिमका सीप विकास तथा बजारीकरणसम्बन्धी तालिम सञ्चालन गरेको उनले स्पष्ट पारिन् । 


यही असार ३ गतेदेखि १० दिनसम्म सञ्चालन भएको तालिममा भरतपुर र रत्ननगरका गरी २० जना उद्यमी महिलाहरूको सहभागिता रहेको थियो । मन्त्रालयको महिला विकास अधिकृत रमा पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा सरोज अधिकारी, शान्ति दाहाल र रत्ना घिमिरेले प्रशिक्षण दिएका थिए । कार्यक्रमको संयोजन तथा सहजीकरण भवानी अधिकारीले गरेका थिए । 

सहभागीहरूले तालिमले उद्यमी महिलाहरूलाई उद्यमशिलताको बहुआयामिक पक्षहरूको विषयमा जानकारी गराएको भन्दै उत्पादनको बजारीकरणका लागि सहज वातावरण बनाउन सके महिलाहरू व्यवसायमार्फत अगाडि बढ्न सक्ने बताएका थिए ।


Author

थप समाचार
x