राजनीति

मुआब्जा नपाएका विराटनगर विमानस्थल पीडितद्वारा राजीनामा दिएका पर्यटनमन्त्री आलेको पुत्ला दहन

इकागज |
असार १२, २०७९ आइतबार १५:१३ बजे

विराटनगर । दुई वर्षदेखि जग्गा रोक्का भएपनि अहिलेसम्म मुआब्जा नपाएका विराटनगर विमानस्थल प्रभावित क्षेत्रका बासिन्दाले भर्खरै राजीनामा दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको पुत्ला दहन गरेका छन् । प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि आइतबार अपरान्ह उनीहरुले  आलेको पुत्ला दहन गरेका हुन् ।

एक हजार ५०० मिटर लामो धावनमार्ग रहेको विमानस्थललाई तीन हजार मिटर लामो धावनमार्गसहितको क्षेत्रीय विमानस्थल बनाउने भन्दै नेपाल सरकारले जग्गा रोक्का गरेको थियो । तर मन्त्री आलेको पूर्वाग्रहका कारण विराटनगर विमानस्थल विस्तारका लागि सरकारले आगामी आर्थिक बर्षको बजेटमा विमानस्थल विस्तार र मुआब्जा वितरणका लागि एक रुपैयाँ पनि छुट्याएन । प्रभावित क्षेत्रका साढे तीन सय परिवारले अहिलेसम्म रोक्का भएको जग्गाको मुआब्जा पाउन सकेका छैनन् ।


उनीहरुले कि छिटो मुआब्जा दिनुपर्ने कि रोक्का भएको जग्गा बेचविखन गर्न फुकुवा हुनुपर्ने माग गर्दै आन्दोलनमा छन् । विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने भन्दै सरकारले गत २०७७ चैतमा २३ र २४ गते जग्गा अधिग्रहणको सूचना निकालेको थियो । अधिग्रहणको सूचनासँगै विमानस्थल पुर्वउत्तरतर्फ करिब एक हजार ४०० कित्तामा रहेको १२६ दशमलव ४६ विगाह जग्गा किनबेच तथा अन्य कारोबारका लागि रोक्का भएको छ । दुई वर्ष बितिसक्दा पनि सरकारले मुआब्जा नदिएपछि उनीहरुले जग्गा फुकुवाको माग समेत गरेका छन् ।


Author

थप समाचार
x