राजनीति

राजनीतिमा ‘ज्येष्ठ नागरिक’को हालीमुहाली, कहिले हुन्छ युवाहरूको बहाली ?

उपेन्द्र अर्याल |
असार १०, २०७९ शुक्रवार १६:५३ बजे

काठमाडौँ– लोकसेवा आयोग पास गरी जागिर खाइयो भने ५८ वर्षमा अवकाश पाइन्छ । शिक्षक सेवा आयोग पास गरेका शिक्षकहरू पनि ६० वर्षमा सेवाबाट बाहिरिन्छन् । प्रशासनिक क्षेत्रमा सेवा गरेका कर्मचारीलाई सरकारले अवकाशपछि पनि संवैधानिक निकायहरूमा नियुक्ति गर्छ । तर, संवैधानिक अंगमा नियुक्त पदाधिकारीहरूको पनि उमेरको हद अधिकतम ६५ तोकिएको छ । न्यायाधीशको पनि उमेर हद संविधानले नै तोकिदिएको छ । सर्वाेच्चमा ६५ छ भने उच्च र जिल्ला अदालतमा ६३ वर्ष । 

उमेर हद तोकिनुको अर्थ हुन्छ– निश्चित उमेर पुगेपछि व्यक्तिले धेरै नयाँ सृजनात्मक काम गर्न सक्दैन । उनीहरूलाई आराम दिनुपर्छ भन्ने अवधारणाले नै संसारभर जेष्ठ नागरिक सुरक्षा÷संरक्षण अवधारणा ल्याइएको हो । 


तर, कुनै पनि राज्यको मूल नीति निर्माणको थलो राजनीतिमा भने यो नियम लागू हुँदैन । नेतालाई उमेरको कुनै हद छैन । राजनीतिमा देशलाई डोर्‍याउने अधिक शीर्ष नेता उमेरले ६५ कटेका छन् । तर, सत्ता उपभोगको मामलामा भने तीनै नेता ‘तन्नेरी’ देखिन्छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा असार १ बाट ७६ पूरा भएर ७७ वर्ष लागे । ७७ वर्षको उमेरमा देशको प्रधानमन्त्री भएर कस्तो काम गरिरहेका छन्, जगजाहेर छ । एक मन्त्रीका अनुसार, प्रधानमन्त्री देउवा आफ्नै सचिव–सहसचिवलाई समेत राम्रोसँग चिन्दैनन् ।

पार्टीको १४ औँ महाधिवेशनबाट देउवा फेरि सभापतिमा आएका छन् । अर्को महाधिवेशनसम्म पार्टीको नेतृत्व हाँक्ने जिम्मा उनैलाई आएको छ । अब आउने संघीय निर्वाचनमा उनकै नेतृत्वमा देश चुनावमा जाँदै छ । निर्वाचनमा सम्भवतः पार्टीले धेरै सिट जिते फेरि उनै प्रधानमन्त्री बन्ने सम्भावना बलियो देखिन्छ । 

२०१७ सालबाट राजनीतिक यात्रा सुरू गरेका प्रधानमन्त्री देउवा कांग्रेस विभाजन गरी बनेको नेपाली कांग्रेस (प्रजातान्त्रिक)का सभापति भएका थिए, २०५९ असारमा । उनी १३ औँ महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति बनेका थिए । १४औँ महाधिवेशनमा पनि उनले पार्टीभित्रका नयाँ उम्मेदवारलाई हराउँदै दोस्रो पटक सभापति बनेका हुन् । २०४८ मा गृहमन्त्री र २०५२ भदौ २६ पछि उनी हालसम्म पाँच पटक देशको कार्यकारी प्रधानमन्त्री बनिसकेका छन् । पाँच पटकसम्म प्रधानमन्त्री बनेर सरकार चलाइसक्दा पनि उनले अझै राजनीतिबाट अलग्गिएर नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नेबारे सोचेका छैनन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७१ वर्षका भए । तर उनले उमेरकै कारण राजनीतिबाट बाहिरिनुपरेको छैन । उमेरसँगै उनीलाई विभिन्न स्वास्थ्य समस्या पनि देखिरहन्छ । तापनि उनी अझै राजनीति छोड्ने मुडमा देखिँदैनन् । २०७४ को निर्वाचनमा उनले एक पटकका लागि भन्दै जनतासँग मत मागेका थिए । उनले पार्टीको अध्यक्षमा पनि आपूm नलड्ने घोषणै गरेका थिए । तर, वास्तविकता त्यस्तो भएन ।

एमालेको दशौँ महाधिवेशनबाट उनी अझै शक्तिशाली अध्यक्षका रुपमा उदाए । आउने संघीय र प्रदेशको निर्वाचनमा एमालेले बहुमत ल्याए देशको प्रधानमन्त्री बन्ने उनै देखिन्छन् । यसअघि उनी संसदीय निर्वाचनमा ६ पटक निर्वाचित भएर काम गरिसकेका छन् । २०७२ र २०७४ मा गरी दुई पटक प्रधानमन्त्रीका रुपमा उनले काम गरिसकेका छन् । २०५१ मा गृहमन्त्री र २०६३ मा उपप्रधानमन्त्री भएर काम गरिसकेका छन् ।

एमाले विभाजनपश्चात् बनेको नेकपा एकीकृत समाजवादीको नेतृत्व गरिरहेका माधवकुमार नेपाल पनि उमेरको हिसाबले ओलीभन्दा एक वर्ष मात्रै कान्छा छन् । अर्थात् उनी ७० वर्षका भइसके । मदन भण्डारीको निधनपछि १४ वर्ष पार्टीको महासचिव भएर नेतृत्व लिइसकेका उनी अझै सानै पार्टी किन नहोस्, नेतृत्वमै छन् । उनले प्रधानमन्त्री, उपप्रधानमन्त्री र रक्षामन्त्री भएर काम गरिसकेका छन् । उनले पनि अहिलेसम्म आफ्नो राजनीतिक जीवनको अवकाशको उमेर सार्वजनिक गरेका छैनन् । बरु अझै देशको कार्यकारी पदमा फेरि पुगिएला कि भन्ने लालसामै देखिन्छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ६८ वर्ष पुगे । उनी लामो समयदेखि पार्टीको अध्यक्ष हुँदै आएका छन् । महाधिवेशनबाट उनी पनि थप एक कार्यकालका लागि फेरि अध्यक्ष भएका छन् । उनले पहिलो संविधानसभामा रोल्पा र काठमाडौँबाट जितेर संसदीय राजनीतिमा छिरेका थिए । त्यसपछि दोस्रो निर्वाचनमा सिरहाबाट विजयी भएका थिए भने २०७४ को निर्वाचनमा चितवनबाट निर्वाचित भएका थिए । २०६५ र २०७३ मा गरी दुई पटक देशको कार्यकारी पदमा प्रधानमन्त्री भएर उनले काम गरिसकेका छन् । नेकपा मसालदेखि माओवादी केन्द्रसम्म आइपुग्दा ३३ वर्ष पार्टीको नेतृत्वमा रहेका प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नेबारे कुनै घोषणा गरेका छैनन् । उनी फेरि चुनाव जितेर देशको प्रधानमन्त्री बन्ने दाउमा छन् । 

देशको कार्यकारी पदमा पुरानै नेतृत्व बारम्बार दोहोरिरहँदा के राजनीतिमा पनि उमेर हद हुनुपर्ने हो ? भन्ने प्रश्न उठिरहेको छ । उमेरको कारणले नेताहरूको पनि कार्यक्षमता घट्ने भएकाले एउटा निश्चित उमेरपछि अवकाश लिनुपर्छ भन्ने भनाइ धेरैको छ । 

देउवा, ओली, प्रचण्ड र माधव मात्रै होइन । देशको राजनीतिमा लागेका धेरै नेताको उमेर ६५ नाघिसकेको छ । प्रतिनिधिसभाका सदस्यमध्ये ६० भन्दा बढी सदस्य ६५ वर्ष नाघिसकेका छन् । राष्ट्रिय सभामा पनि १६ सदस्य ६५ वर्षमाथिका छन् ।

प्रतिनिधिसभाका सदस्यमध्ये उमेरका हिसाबले सबैभन्दा वृद्ध महन्थ ठाकुर हुन् । उनी ८० वर्ष पुगिसकेका छन् । जनता समाजवादी पार्टीको विभाजनपछि लोकतान्त्रिक समाजवादी पार्टीको नेतृत्व गरिरहेका छन् । उनले समेत अझै आफ्नो राजनीतिक जीवनको विश्रामबारे खुलाएका छैनन् । उनका राजनीतिक गतिविधिले अझै केही समय राजनीतिमै रहन्छन् भन्ने देखिन्छ । एमाले अध्यक्ष ओलीले संसद् विघटन गरेपछि राष्ट्रिय सहमतिको सरकार बनाएर उनलाई प्रधानमन्त्री बनाउने छलफलसमेत भएका थिए । तर त्यसबेला राजनीतिक अंकगणित मिलेन र उनी प्रधानमन्त्री बनेनन् । 

नेपालमा ज्येष्ठ नागरिको उमेर हद ६८ छ भने औसत आयु एक वर्षमाथि ६९ वर्ष छ । तर, सरकार र दलको नेतृत्वमा भने एक वर्षमाथि ७० का कब्जा छ । रमाइलो त के छ भने यिनै दलहरु ‘तिमी ७० मा ज्येष्ठ नागरिक हुन्थ्यौ, अब दुई वर्ष पहिल्यै ६८ मै ज्येष्ठ नागरिक’ भन्छन्, आफूहरुको उमेरको हेक्का भने उनीहरुलाई छैन । एक हिसाबले उनीहरुले आफ्नै कानुन ताडेका छन् । अरुलाई आराम गर्नुस् भनेर आफूहरु लगातार विराम (गल्ती) गरिरहेछन् ।

नेपालको राजनीतिमा थुप्रै व्यवस्था परिवर्तन भएर अहिलेको संघीय गणतन्त्रात्मक व्यवस्थामा हामी छौँ । तर, यी सबै व्यवस्थामा राजनीतिक नेतृत्वको अनुहार भने उही छ । नेताहरूले पटक–पटक पार्टी र देशको नेतृत्व गरिसक्दा पनि पद युवाहरूलाई हस्तान्तरण गर्न सकेका छैनन् । 

राजनीतिक विश्लेषक विष्णु सापकोटाले कान्तिपुर दैनिकमा ‘मंसिरमा बिदाइ गर्नैपर्नेहरू’ शीर्षकमा देउवा, ओली र प्रचण्ड लगायतका नेताहरूलाई अब राजनीतिबाट बिदाइ गर्नुपर्ने मत राखेका छन् । मतदाताले हस्तक्षेप नगरे फेरि पनि यही असफल नेतृत्व दोहोरिने भन्दै विश्लेषक सापकोटाले चिन्ता व्यक्त गरेका छन् ।

‘मतदाताले गैरपरम्परागत शैलीमा सशक्त हस्तक्षेप गरेनन् भने, ‘नयाँ’ संसद्ले देशलाई उपहार दिने ‘नयाँ’ नेतृत्व त्यही नैतिक रूपमा सडे–गलेको र आफ्नो कार्यगत अयोग्यतालाई पटकपटक सार्वजनिक प्रदर्शनीमा राखेको, र निकम्मा साबित भइसकेको पुरानो राजनीतिक पुस्ता नै हो,’ उनले लेखेका छन्, ‘यो सम्झँदा अहिले नै अत्यास नलाग्ने को होला– पाँच वर्ष पर्खेर, अबको ताजा संसदीय निर्वाचनमार्फत नेपाली जनताले पाउने ‘नयाँ’ प्रधानमन्त्री फेरि पनि शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालमध्ये एक हुन् ?’

सापकोटाले  देउवाप्रति टिप्पणी गर्दै लेखेका छन्, ‘दुनियाँलाई थाहा छ, नेपालको समकालीन राजनीतिमा देउवा कुशासनका पर्याय हुन्, ‘अक्षमताका नमुना हुन् । ‘मिडियोक्रिटी’का प्रतिनिधि हुन् । यतिका पटकसम्म (राम्रोका कारण) सम्झनलायक केही पनि गर्न नसकेका यिनले अब उमेरमा असी पुग्ने वृद्ध वयमा नयाँ चेत र सृजनशीलता कहाँबाट ल्याउने होलान् ?’ 

फेरि ओलीले जिते पहिलेभन्दा पनि अहिले झन् बढी ‘साइकोफ्यान्ट’हरूबाट घेरिएर बस्ने उनको अनुमान छ । ‘फेरि ओलीले जिते ओली फेरि प्रधानमन्त्री भए भने यिनले के नै राम्रो गर्ने होलान् जो लगभग दुईतिहाइको बहुमत हाँक्दा गर्न सकेनन् ?,’ उनले लेखेका छन्, ‘पहिलेभन्दा पनि अहिले झन् बढी ‘साइकोफ्यान्ट’ हरूबाट घेरिएर बस्ने भएर होला, यिनको अभिमान घटेको छैन बरु बढेको छ ।’ 

उनले प्रचण्डको अबको ध्याउन्न फेरि पनि प्रधानमन्त्री बन्ने नै भएको बताएका छन् । लेख्छन्, ‘माओवादी ‘जनयुद्ध’ को विरासतमा यिनले सँगालेको सबैभन्दा महान् र गौरवशाली जनउपलब्धि भनेकै यिनको ‘आलोपालो’ गर्न सक्ने हैसियत हो । ‘कमरेड आलोपालो’ ले देउवासँग मिलेर होस् या फेरि ओलीसँगै, अबको यिनको एकल राष्ट्रिय कार्यभार फेरि पनि एक पटक प्रधानमन्त्री हुने नै हो ।’

भर्खरै स्थानीय निर्वाचनमा युवाहरूलाई जिताएर वर्तमान राजनीतिबाट ‘आउट डेटेड’ नेताहरूलाई जनताले एउटा जवाफ दिएका छन् । तर, दलहरूभित्र नयाँ युवाहरूको उदय हुन सकेका छैनन् । पार्टी संरचनाले नयाँ विचार र पात्रलाई माथि आउन नदिने नेताहरूकै भनाइ छ । नेताहरूको पदीय लालसा र प्रवृत्तिले जनतामा निराशा छाएको छ ।  

देशको कार्यकारी पदमा पुरानै नेतृत्व बारम्बार दोहोरिरहँदा के राजनीतिमा पनि उमेर हद हुनुपर्ने हो ? भन्ने प्रश्न उठिरहेको छ । उमेरको कारणले नेताहरूको पनि कार्यक्षमता घट्ने भएकाले एउटा निश्चित उमेरपछि अवकाश लिनुपर्छ भन्ने भनाइ धेरैको छ । 

उमेरले वृद्ध हुँदै जाँदा उसको काम गर्ने शक्तिमा ह्रास हुँदै जाने डाक्टरहरूको भनाइ छ । 
 

प्रोडक्टीभिटी बढी होस् भनेर अवकाश दिइने भएकाले यो नियम राजनीतिमा पनि लागू हुनुपर्ने चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्वडीन डा. जगदीश अग्रवाल बताउँछन् । 

‘अवकाश किन दिइन्छ ? संसारभरको मान्यताअनुसार प्रोडक्टिभिटी बढी होस् भनेर अवकाश दिइन्छ,’ उनी भन्छन्, ‘पुरानालाई निकालेर नयाँलाई दिऊँ भनेर होइन । प्राकृतिक रुपमा जसरी उमेर बढ्दै जान्छ । त्यसरी काम गर्ने क्षमता घट्दैै जान्छ । सोच्ने क्षमता, सृजना गर्ने क्षमतामा केही न केही ह्रास आउँछ ।’ एउटा निश्चित उमेर हुँदै गएपछि मानिसको काम गर्ने शक्ति घट्ने भएकाले यसको असर मानिसले निर्णय लिने क्षमतामा पर्ने डाक्टर अग्रवाल बताउँछन् । 

राजनीतिमा उमेर हद खोजिनु भनेको फरक विचार, फरक आवाजको खोजी गर्नु रहेको समाजशास्त्री बस्याल बताउँछन् । वर्तमान नेताहरू असफल भएकाले उनीहरू ‘आउट डेटेड’ भइसकेको उनको भनाइ छ । 

नेताहरूमा पनि एउटा निश्चित उमेर पुगेपछि उनीहरूमा नयाँ विचार आउन छाड्ने, बरु खराब विचार आउने उनको भनाइ छ । किताब पढ्ने, फरकफरक साथीहरु भेट्ने, यतायता डुल्ने समय र जाँगर कम हुन्छ, त्यसैले पनि सृजनामा कमी आउँछ भन्दै अग्रवालले युवाहरुलाई अघि बढ्न सुझाव दिए । 

‘अहिलेका नेताहरूको पनि निश्चित उमेर पार गरिसकेकाले उनीहरूमा समय सापेक्ष नयाँ विचारहरू आउन नसकेको हो,’ उनी भन्छन्, ‘उनीहरूलाई च्यालेन्ज कसैले गरेन । उनीहरूको सोच्ने दायरा सीमित हुन्छ । उमेर बढी भएपछि आफ्ना व्यवहारहरू उही हुन्छन् । जसले समय सापेक्ष परिवर्तन गर्न सक्दैनन् । त्यो भएन भने देश विकास हुँदैन ।’ 

युवा समाजशास्त्री विष्णु बस्याल राजनीतिमा अवकाश भन्ने नहुने बताउँछन् । राजनीतिमा विचारले नेताहरूलाई अवकाश दिने उनको बुझाइ छ । ‘राजनीतिमा उमेर हद हुनुपर्छ भन्ने विषयमा त म सहमत छैन,’ उनी भन्छन्, ‘उम्मेदवार बन्न चाहिने उमेर हद एउटा ठीकै छ । तर, राजनीतिमा अवकाश भन्ने हुँदैन । राजनीतिमा अवकाश भनेको विचार हो । तपाईंको डेलिभर गर्न सक्ने क्षमता, नेतृत्व गर्न सक्ने योग्यता र जनताले पत्याउन छाडेको दिन नै अवकाशको दिन हो ।’

जनताको विश्वास जित्न नसकेको दिन उमेर ३० वर्ष भए पनि राजनीतिमा अवकाश हुने उनी बताउँछन् ।

‘राजनीतिमा अवकाश भनेको त्यसबेला हुन्छ जतिबेला जनताले तपाईंलाई अस्वीकार गर्छन्,’ उनले भने, ‘तपाईंले जुन दिन जनतालाई कन्भिन्स्ड गर्न सक्नुहुन्न त्यसदिन तपाईं आउट हुने हो । यो ३० वर्षमै हुन सक्छ ।’

राजनीतिमा उमेर हद खोजिनु भनेको फरक विचार, फरक आवाजको खोजी गर्नु रहेको समाजशास्त्री बस्याल बताउँछन् । वर्तमान नेताहरू असफल भएकाले उनीहरू ‘आउट डेटेड’ भइसकेको उनको भनाइ छ । 

‘हाम्रोमा पटक पटक नेतृत्व दोहोरिएर केही डेलिभरी गर्न सक्नु भएको छैन,’ उनले भने, ‘उहाँहरूले देशलाई अब केही दिन सक्नुहुन्न भन्ने हुँदाहुँदै पनि नेतृत्वमा दोहोरिरहनु भएको छ । अहिलेको नेतृत्व उमेर हदले मात्रै नभएर काम गर्ने क्षमता र नेतृत्व गर्ने क्षमताकै कारणले ‘आउट डेटेड’ भइसक्नुभयो ।’ उनीहरूलाई हटाउन उमेर हद राखेरभन्दा पनि कानुनी प्रक्रियाबाटै हटाउनुपर्ने उनले बताए  ।

‘अहिलेका नेतृत्वसँगै उनीहरूको प्रवृत्ति पनि हट्नुपर्छ,’ उनले भने, ‘तर, नेपालमा पटक–पटक पदमा दोहोरिनेका लागि कानुन बनाउनुपर्छ । पार्टीको नेतृत्वमा कति पटक दोहोरिने ? प्रधानमन्त्री कतिपटक बन्न पाइने ? कानुनमै व्यवस्था गरेर समस्याको हल गर्नुपर्छ ।’ 
 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x